अभिनेता विराज भट्टका छोरा समीर भट्ट फिल्म 'बलिदान' को छायांकनमा छन्।
डेब्यु फिल्म '१२ गाउँ' हिट भएपछि समीरले 'बलिदान' मा काम गरेका हुन्।
सन्तोष सेन निर्देशित फिल्मको पूर्वको इटहरीमा छायांकन भइरहेको छ।
यो फिल्मको सेटमा अभिनेता विराज भट्ट पनि पुगेका छन्। छायांकन सेटका प्राप्त तस्बिरमा विराज फिल्मको टीमसँग देखिएका छन्।
विराजले फिल्ममा अभिनय समेत गरेका हुन वा छोराको काम हेर्न र हौसला बढाउन सेटमा पुगेका हुन् भन्नेबारे निर्माणपक्षले खुलाएको छैन।
समीरको पहिलो फिल्म '१२ गाउँ' बक्स अफिसमा हिट भएसँगै आगामी फिल्म कस्तो हुने हो भन्ने चासो बढेको छ।
फिल्म 'बलिदान' को प्रदर्शन मिति तय गरिएको छैन। छायांकन सकिएको भोलिपल्ट टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सेनले बताएका छन्।
फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतको अभिनय छ।
'बलिदान' को अझै २० दिन छायांकन हुने जनाइएको छ।