अभिनेता दीपकराज गिरीले आफूलाई 'महानायक' भनेर सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्ने चेतावनी दिएका छन्।
आफूले कहिल्यै महानायकको पद दाबी नगरेको र नगर्ने उनको भनाइ छ।
दीपकराजले शुक्रबार फेसबुकमा लेखेका छन्, 'आजबाट जसजसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु। यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु। तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन। फरक विचार स्वागत, असभ्यता अस्वीकार, शुभदिन!'
खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ता दीपकराजलाई 'महानायक' भनेर टिप्पणी गर्ने तथा ट्रोल बनाउने गरिरहेका हुन्छन्। कोरोना महामारीको समयदेखि यस्तो टिप्पणी आउन थालेको थियो।
पछिल्लो समय पनि दीपकराजले सामाजिक सञ्जालमा केही धारणा वा तस्बिर राख्दा महानायक भनेर टिप्पणी आउने गरेको छ।
यस विषयमा बारम्बार भन्दा पनि महानायक सम्बोधन आउने क्रम नरोकिएपछि अब त्यसरी सम्बोधन गर्नेलाई ब्लक गर्ने उनले बताएका हुन्।
दीपकराजले फेसबुकलाई आफ्नो विचार राख्ने थलो रहेको बताउँदै यसमा आफूलाई के मनपर्छ त्यो कुरा लेख्ने उल्लेख गरेका छन्।