काठमाडौंमा डिसेम्बर २० र २१ मा 'के–पप टुर इन नेपाल' आयोजना हुने भएको छ। हायात होटलमा दिउँसो १ बजेबाट राति १० बजेसम्म यो कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ।
कार्यक्रममा के–पप, जे–पप र ने–पपका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
नेपालसँग दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमको आयोजना हुन लागेको हो। यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन्। अब, भने डिसेम्बर महिनामा 'के–पप टुर इन नेपाल' आयोजना हुन लागेको हो।
नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारहरूले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति कार्यक्रममा दिनेछन्। यसका लागि नेपाली, जापनीज र दक्षिण कोरियाका कलाकारहरू उत्साहित देखिएका छन्।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ।
कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरूले आफ्नो प्रस्तुती दिनेछन्। यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन्।
यो कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना गर्न लागेको हो। कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको आयोजकले बताएको छ। कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरूको प्रस्तुतिबाट नयाँ अनुभव लिन सक्ने आयोजकको दाबी छ।
आयोजकले कार्यक्रमको टिकट बिक्री समेत खुला भएको बताएको छ।