अभिनेता एवं निर्माता दीपकराज गिरीले सिनेमाको वातावरणलाई निर्वाचनको जस्तो वातावरण नबनाउन आग्रह गरेका छन्।
उनले अहिलेको वातावरण सिनेमाको भन्दा चुनावको जस्तो भैरहेकोले आफूहरूलाई दुखित् तुल्याएको बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दीपकले भने, 'अहिले पछिल्लो मत परिणाम के छ भनेजस्तो भएको छ। को अग्रपंक्तिमा छ? कसको कोर एरिया आयो? कसले लिड गरिरहेको छ? कसले बढी शोज पायो? लाग्छ, यो निर्वाचन भइरहेको छ। त्यो चिज हामीलाई सुन्दर लागेको छैन।'
'छक्का पञ्जा ५' सँगै रिलिज फिल्मले पनि राम्रो गरिरहेकोमा एकदमै खुसी लागेको तर भइरहेको तुलना दुःखद् रहेको बताए।
'तुलना जुन किसिमले गरिँदैछ। जुन किसिमले प्रोपगान्डा गरिँदैछ त्यो एकदमै दुःखद् छ,' दीपकले भने, 'दुइटा सिनेमाले जित्यो तर नेपाली चलचित्र उद्योगले हार्यो भन्यो भने भोलि राम्रो सन्देश जाँदैन। हामी त्यसमा सचेत छौं।'
सिनेमालाई निर्वाचनको जस्तो वातावरण बनाउँदा यसले चलचित्र क्षेत्रलाई असर गर्ने उनको भनाइ छ।
'छक्का पञ्जा ५' लाई लक्षित गर्दै भइरहेको गालीगलौजले आफूहरूले सिनेमा घोषणा गरेदेखि कहिल्यै पनि खुलेर प्रचारप्रसार गर्न नपाएको उनले गुनासो गरे।
फिल्म सफल भए पनि अहिलेको नकारात्मक संस्कारले मनदेखि आनन्द नआएको उनले बताए। यस्तो नकारात्मक प्रवृत्तिको विकास स्वयं चलचित्रकर्मीहरूले नै गरेको दीपकको भनाइ छ। 'यसको दोष म अरूलाई दिन्न। हामी, हाम्रो उद्योग, म पनि यसको दोषी छु होला,' उनले भने। यो प्रवृत्ति हटाउनुपर्ने उनले बताए।
आफ्नो फिल्मको विदेश वितरकलाई समेत दुःख दिइएको दीपकको गुनासो छ।
'समूह बनाएर त्यो घमण्डीहरूको फिल्म नहेर भनिएको छ। यस्तो नेगेटिभ पब्लिसिटीले के गर्छ?' उनी भन्छन् 'आज हाम्रो फिल्ममा भड्किन्छ। भेलि अर्कोले त्यही गर्छ। त्यसले राम्रो सन्देश जाँदैन। स्वतन्त्र रूपमा फिल्म हेर्नुस्। एउटा हेर्दा अर्को नहेर्ने भन्ने हुँदैन।'
'छक्का पञ्जा ५' राम्रो लाग्यो भनेर भन्नेलाई गाली गर्ने, फेसबुकको पोस्ट डिलिट गराउन फोन आउने गरेको गुनासो गरे।
'हाम्रो फिल्मलाई राम्रो भनेर कसैले दुई लाइन लेख्दा उसको आमाबुवालाई नाम लिएर गाली आउँछ। हामीले के संस्कार सुरू गर्यौं?', उनले चिन्ता व्यक्त गरे।
उनले अगाडि भने, 'कोहीले टेलिफिल्म हेर्न नजाऊँ भन्छन्। हामी टेलिफिल्मबाटै आएको हो। हामीले पस्किने स्वाद त्यही किसिमको हुन्छ होला। टेलिफिल्म मन नपर्नेले अर्को फिल्म हेर्दा हुन्छ। च्वाइस छ। तर संयमित बनौं। मर्यादिन बनौं। दर्शकले हाम्रो फिल्मको तारिफ गर्दा गाली किन खाने? अनि एकोहोरो फलानो फिल्म हेरौं, फलानो नहेरौं। यसले राम्रो सन्देश जाँदैन।'
'छक्का पञ्जा ५' ले अघिल्ला शृंखलाले भन्दा राम्रो गरिरहेको दीपकले बताए। तर, धेरै नकारात्मकता फैलिँदा आफूहरुले खुसी मनाउन समेत नपाएको गुनासो गरे।
'एकदमै धेरै नेगेटिभिटी फैलियो। पैसा त आयो तर आनन्द आएनँ। यति धेरै सफलता पाउँदा पनि कहिँपनि खुसी मनाउन गएका छैनौं यसपटक', उनले भने, 'किन यस्तो नेगेटिभिटी फैलियो? किन हामीले यस्तो संस्कार स्थापित गरिराख्या छौं भन्ने कुराले पोलिराख्या छ। हामीलाई सफलताले खुसी भन्दा बढी नकारात्मकताले दुखेको छ। संस्कार गलत बस्यो कि भन्ने चिन्ताले दुखेको छ।'
उनले आफूहरूबाट केही गल्ती भएको भए माफी दिन समेत आग्रह गरे। सबै मिलेर नकारात्मकता हटाउनुपर्ने उनको धारणा छ। सबै फिल्म हेर्ने दर्शकलाई सम्मान गर्न उनले आग्रह गरे।
उनले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै एक–अर्को फिल्म र आफूहरूलाई दुश्मनजस्तो नबनाइदिन आग्रह गरे।
सबै किसिमका फिल्महरू आउनुपर्ने बताउँदै एक्सन सिनेमा चल्न थालेकोमा उनले खुसी व्यक्त गरे।
फिल्म छायांकन भएको गाउँ बाढीले बगाएको भन्दै दीपकले आफूहरू तिहारपछि आफैँ गएर आर्थिकसँगै भौतिक सहयोग गर्ने तयारीमा रहेको बताए।
'हामी सुटिङ गरेको वरपर बाढीले तहसनहस बनाएको छ। हामी त्यहाँ गएर पुर्ननिर्माणमा खटिने छौं। हाम्रो तर्फबाट आर्थिकमात्र नभइ केही समय त्यही बसेर उहाँहरूको दुःखमा हातेमालो गर्नेछौं,' दीपकले बताए।
दीपाश्री निरौलाको निर्देशनमा बनेको 'छक्का पञ्जा ५' मा दीपकसहित केदार घिमिरे (माग्नेबुढा) र वर्षा शिवाकोटी शीर्ष भूमिकामा छन्।
पत्रकार सम्मेलनमा निर्देशक दीपाश्रीसहित कलाकारहरू केदार र वर्षाले पनि नकारात्मकता हटाउन अनुरोध गरे।