गुड फ्राइडे सिनेमा
बम्बई भारतका सेलिब्रेटी बस्ने रंगीन सहर मात्रै होइन, यहाँ गाँसबासको ठेगान नहुनेको संख्या भारतका अन्य सहरभन्दा धेरै छ।
गरिबीकै कारण सडकदेखि वेश्यालयमा जीवन बिताउन बाध्य बालबालिकाको संख्यो यो सहरमा धेरै छ। उनी कयौं अपराध र लागुपदार्थ सेवनको लतमा फसेका छन्। 'सलाम बम्बे' मा यी सबै विषय कहीँ न कहीँ जोडिएर आउँछ।
फिल्मको केन्द्रीय पात्र करिब १० वर्षीय कृष्णालाई उनकी आमाले पाँच सय रूपैयाँ कमाएर मात्रै गाउँ फर्किन पाउने सर्त राखेकी छिन्।
बम्बई आइपुगेको पहिलो दिन नै लुटिने कृष्णाले यहाँ आफूजस्तै साथीहरू पाउँछ। रेलवे स्टेसन नजिकै चिया बेच्ने काम गर्न थालेपछि कृष्णाबाट उसको नाम चायपाउ हुन्छ।
चिलम, मन्जुजस्ता साथी पाएको ऊ ‘सोला साल’ सँग प्रेममा पर्छ। राति सुत्ने बेला आमाको यादले पिरोलिने कृष्णाको गाउँ फर्किने सपना, उसको मित्रता र प्रेमको कथा यसपछिका घटनाले देखाउँछ।
कृष्णा पाँच सय रूपैयाँ जम्मा गरेर घर फर्केला या बम्बई नगरीको हुलमा हराउने बालबालिका जस्तै कतै अल्झेला?
बम्बईका सडकमा गुरिल्ला शैलीमा छायांकन गरिएको फिल्म 'सलाम बम्बे' लागि निर्देशक मीरा नायरले वास्तविक सडक बालबालिकासँग लामो समय बिताएकी थिइन्। यही प्रयासले फिल्म यथार्थको नजिक देखियो र प्रशंसित भयो।
सडकमै हुर्के बढेका बालकलाकारलाई नै अभिनय गराइएकोले हुलिया, हाउभाउ र लवज आदि फिल्मको सशक्त पक्ष बन्यो।
यस्तै धेरै विशेषताले सलाम बम्बेलाई अस्कर र कानजस्ता प्रतिष्ठित महोत्सवमा पुर्यायो। कान महोत्सवमा दर्शकको नजरमा सर्वश्रेष्ठ बन्न सफल यो फिल्म 'मदर इन्डिया' पछि अस्करमा विदेशी भाषातर्फ मनोनीत हुने दोस्रो हिन्दी फिल्म हो।
फिल्ममा नाना पाटेकर, शबाना आजमीकी आमा र इरफान खानको अभिनय छ। मुख्य पात्र शाफिकले यो फिल्मका लागि उत्कृष्ट बाल कलाकारतर्फ राष्ट्रिय पुरस्कार पाएका थिए।
सन् १९८८ यो फिल्म रिलिज गरेपछि निर्देशक मीरा नायरले अर्को वर्ष 'सलाम बालक कोष' स्थापना गरिन्। यो कोषमार्फत उनले यो फिल्ममा अभिनय गरेका सडक बालबालिकालाई पुनर्स्थापित गरिन्।
त्यस्तै अमेरिकी अखबार द न्यूयोर्क टाइम्सको 'सदावहार १००० राम्रा फिल्म' को सूचीमा यो फिल्म परेको छ।
आजगुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।