सन् २०२० को उत्कृष्ट फिल्म मानिएको 'नोम्याडल्यान्ड' यसपालि अस्कर पाउनुअघि नै चर्चामा थियो। गत महिना बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड) मा ‘उत्कृष्ट फिल्म’ सहित फिल्मले निर्देशक, मुख्य अभिनेत्री र सिनेमाटोग्राफीको अवार्ड हात पारेको थियो।
छ विधामा मनोनित भई यसले अस्करमा पनि कडा दाबेदारी दिएको थियो। धेरै समीक्षकले रूचाएको यो फिल्मले अस्करमा महत्वपूर्ण अवार्ड जित्ने अनुमान पनि गरेका थिए। तर प्रतिस्पर्धा कडा थियो। अन्तत: फिल्म प्रतिस्पर्धामा खरो उत्रेको छ।
फिल्मले नेपाली समय अनुसार आज बिहान सम्पन्न ९३ औं अस्कर अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जितेको छ।
यो अवार्डसँगै 'नोम्याडल्यान्ड' ले नयाँ इतिहास पनि रचेको छ। निर्देशक जाओ अस्करको ९३ वर्ष लामो इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला बनेकी छन्। अस्कर जित्ने उनी पहिलो गैरश्वेत महिला पनि हुन्।
नोम्याडल्यान्ड फिल्मको संवेदनशील विषयमा बनेको काव्यात्मक फिल्म हो। फिल्म एक जना ६० वर्षीय महिलाको सेरोफेरो घुम्छ जो श्रीमानको मृत्युपछि यात्रामा निस्कन्छिन्।
अमेरिकाको सानो सहर नेभाडामा ८८ वर्ष पुरानो जिप्सम कम्पनी बन्द हुन्छ। यही कम्पनीमा काम गर्ने ६० वर्षीया फर्नको श्रीमानको मृत्यु पनि यहीबेला हुन्छ। फर्न आफ्ना सारा सामान बेचेर एउटा भ्यान किन्छिन्। छिमेकीसँग बिदा माग्छिन् त्यही नयाँ भ्यानमा हुइँकिन्छिन्। अनि सुरू हुन्छ फर्नको फिरन्ते यात्रा।
भ्यान फर्नका लागि सवारी साधनमा मात्र होइन। यो उनको घर हो। उनको दैनिकीको साथी र बाँकी जीवन यात्राको आधार पनि। उनी भ्यानमै पकाउँछिन्, खान्छिन् र सुत्छिन्। पश्चिम अमेरिकाका सडकमा गुडिरहने फर्न रोड मुभी 'नोम्याडल्यान्ड' की मुख्य पात्र हुन्।
उनी अल्पकालीन कामहरू गर्दै, फरक ठाउँबाट आएका पात्रहरूसँग ठोकिन्छिन्। फिल्ममा उनीसम्म आइपुग्ने पात्रहरू उनीजस्तै फिरन्ते हुन्छन्। यी पात्र एकअर्कासँग सजिलै घुलमिल हुन्छन्। चउरमा पकाएर खाएर रमाइदिने यी पात्र घरविहीनजस्ता देखिए पनि भन्छन्, 'हाम्रो मन जहाँ छ, त्यहीँ हाम्रो घर!'
हो पनि, फिरन्तेहरूका लागि संसार नै आफ्नो घर। फिल्मकी मूल पात्र फर्न पनि यस्तै छिन्।
उमेरले वृद्धावस्थामा पुगिसकेकी फर्न आफ्नो उमेरप्रति निस्फिक्री छन्। उनी निर्धक्क भएर बाँच्न एकल यात्रामा निस्किएकी हुन्। फिल्ममा उनी जस्तोसुकै परिस्थितमा पनि विचलित नहुने पात्रका रूपमा देखिएकी छन्। न त कुनै सुविधा वा लोभले उनको फिरन्ते चाहनालाई बाँधेर राख्न सक्छ। फिल्ममा उनको यही स्वच्छन्द बाँच्ने चाहनाको कलात्मक प्रस्तुति भेटिन्छ। फिल्म सुरू भएदेखि अन्तसम्म फर्नभित्रको मानवता र स्वतन्त्रताप्रतिको बलियो इच्छाले कथालाई गति दिइरहन्छ।
यात्रा गर्दै जाँदा बाटोमा टायर पन्चर हुँदा पनि उनी रोकिन्नन्। फर्न अनेक रूपमा फिल्ममा देखिन्छिन्। उनी आत्मनिर्भर र स्वाभिमानी छन्। जुनसुकै काम गर्न तयार उनी अप्ठ्यारो परिस्थितसँग जुध्न हरदम तयार हुन्छिन्।
गम्भीर आवरणकी उनी कहिले फिरन्ते युवा पात्रलाई लाइटर दिँदै कविता सुनाउँछिन्। कहिले आफ्नी साथीलाई फेस मास्क लगाउँदै 'ब्युटिसियन' भएको नक्कल गर्छिन्। यस्ता दृश्यहरुमा पोखिएको चञ्चलताले फिल्मलाई निरश हुन दिँदैन। फिल्ममा अस्वभाविक लाग्ने वृद्ध पात्रहरूका प्रेम सम्बन्धलाई पनि रोचक तरिकाले देखाइएको छ। डेविड र फर्नबीचको सम्बन्ध होस् वा फर्न र उनकी साथीको आत्मियता, दर्शकलाई हुरुक्कै बनाउँछ।
फिरन्ते पात्रहरूको दैनिक जीवन आमजिन्दगीभन्दा अलग हुन्छ। टाढाबाट हेर्दा उनीहरू कुनै कुराको चिन्ता नभएजस्तो बिन्दास देखिन्छन्। तर उनीहरूका पनि आफ्नै सीमा छन्। तर फिल्मले फिरन्तेपनलाई बाध्यात्मक देखाएर जबर्जस्ती दुखलाग्दो बनाउने दिशा समातेको छैन। फिल्मले हामीलाई फिरन्तेपन र उनीहरूले बनाएको संसारमा पुर्याउँछ।
चिनियाँ निर्देशिक क्लोइ जाओले निर्देशन गरेको 'नोम्याडल्यान्ड' ले फिरन्ते जीवनका यस्ता धेरै आयामलाई नजिकबाट नियालेको छ। फिल्म जेसिका ब्रुडरको पुस्तक 'नोम्याडल्यान्डस्: सर्भाइभिङ द अमेरिका इन ट्वेन्टी फर्स्ट सेन्चुरी' मा आधारित छ। पश्चिमा समाजको अर्थ राजनीतिक संरचनाले एक्लिएका वृद्ध पात्र र उनीहरूको वरपर घुम्ने 'गिग' अर्थतन्त्रलाई फिल्मले देखाएको छ।
फिल्ममा फर्न काल्पनिक फिरन्ते पात्र हुन्। तर फिल्ममा वास्तविक फिरन्ते पात्रहरू पनि छन्। वास्तविक पात्रमार्फत नोम्याडल्यान्डले दर्शकलाई जीवनमा फिरन्ते बनेर बाँचिरहेका मानिसहरूको नजिक पुर्याएको छ। काल्पनिक पात्र र यथार्थ पात्रको प्रयोगले फिल्मको लयलाई भने कतै पनि भट्किन दिएको छैन।
फिल्ममा भेटिने धेरै पात्र अमेरिकाको पश्चिमी भागका कारखानाहरू बन्द भएपछि काम खोज्दै विभिन्न ठाउँ घुम्दै अस्थायी काम गर्छन्। आराम गर्नुपर्ने उमेरमा उनीहरू कठोर परिश्रम गर्न बाध्य छन्। उनीहरूको बाध्यताले अमेरिकाका निम्नवर्गीय आर्थिक स्थितिसँग जुध्न संघर्ष गरिरहेका मानिसको कथा भन्छ। फर्न र उनले यात्राका क्रममा भेट्ने सबैजसो पात्रहरूले काम पाउन गरेको संघर्ष कारुणिक छ।
पश्चिमा समाजमा पुँजीवादले गर्दा समाज व्यक्तिकेन्द्रित बनिसकेको छ। फिल्ममा वृद्ध पात्रहरूलाई केन्द्रमा राखेर उनीहरूको भावना, संवेदना र सामाजिक सुरक्षाजस्ता पक्षलाई महत्व दिइएको छ। महिला पात्रका मनोविज्ञानका सूक्ष्म पक्ष नभनीकनै प्राथमिकताका साथ आउँछ।
तर फिल्मको केन्द्रमा फर्न पात्रको एकल यात्रा छ। उनको एक्लोपन देखाउन फिल्ममा फर्न धेरै पटक पर्दामा एक्लै देखिन्छिन्। फिल्मको सिनेमाटोग्राफीले प्रकृति र एकांकीपनसँग एकाकार हुने फर्नको चाहनालाई आकर्षक शैलीमा देखाएको छ। पात्रको एक्लोपन देखाउन फिल्ममा अत्यधिक वाइड सटहरू प्रयोग भएका छन्।
भनिन्छ, यात्रामा हिँडेका मानिसले आफ्ना प्रश्नहरूको जवाफ प्रकृतिमा भेट्छ। फर्न पनि त्यस्तै पात्र हुन् जसलाई उनको फिरन्ते यात्राले जीवनको नयाँ पाठ सिकाउँछ।
नोम्याडल्यान्डलाई बहुचर्चित फिल्म बनाउन यसको कथा र विषय उठानका साथै अन्य पक्षले भूमिका खेलेको छ।
अस्करमा उत्कृष्ट अभिनेत्री जित्ने फ्रान्सिस म्याकडोर्म्यान्डले निर्वाह गरेको फर्नको भूमिका नै दर्शकलाई फिल्मको अन्तसम्म जोडेर राख्ने मियो हो।
सर्भाइभल जनराका फिल्म मन पराउने दर्शकले भनेको सुनिन्छ- मानिसले जीवनमा बाँच्न जति संघर्ष गर्छ, त्योभन्दा बढी संघर्ष फिल्मका पात्रहरूले गर्छन्।
फर्नको जीवन पनि यस्ता पात्रभन्दा फरक छैन। तर पनि नोम्याडल्यान्डले जीवनप्रति आशा जगाउँछ। यसले हिँडाउने यात्राले हामीलाई फिरन्तेका संघर्ष र जीवनशैलीबाट जीवन र प्रकृतिलाई चिन्ने मौका दिन्छ। फिल्मको सौन्दर्य यही हो।
यो फिल्म सकिएपछि स्क्रिनमा लेखिन्छ- छुट्नु परेकाहरूमा समर्पित, यात्राको कुनै मोडमा फेरि भेटौंला!
नोम्याडल्यान्ड हेरिसकेपछि पनि लागिरहन्छ, हामी फर्न र उनले भेटेका फिरन्ते जीवन बाँच्ने पात्रहरूसँग निरन्तर यात्रामा छौं।
हेर्नुस् नोम्याडल्यान्डको ट्रेलरः