रुबेन एक दिन सबेरै उठ्छन्। मिक्स्चरमा जुस बनाउँछन्। मधुर संगीत सुन्दै आरभी (गाडी) भित्र प्रेमिका लूसँग नाच्छन्। आनन्दित हुन्छन्।
अर्को दिन बिहान उठेर उसैगरी जुस बनाउने बेला रुबेनले मिक्स्चरको आवाज सुन्दैनन्। नुहाउने बेला सावरको पानीबाट आउने आवाज पनि नसुनेपछि उनी नराम्ररी झस्किन्छन्।
'मेटल शो' मा ड्रम बजाउने रुबेनलाई ड्रमबाट निस्कने चर्को आवाज र स्रोताको हुटिङले सन्तुष्टि दिन्छ। तर उनको जीवनबाट हराएको सुन्ने क्षमतासँगै त्यो सन्तुष्टि हराउँछ। हाल चर्चामा रहेको फिल्म 'साउन्ड अफ मेटल' आवाज हराउने पात्रको कथा हो।
रुबेन र उनकी प्रेमिका लूले आरभीमा अमेरिकाका विभिन्न ठाउँ घुमेर संगीत कन्सर्ट गर्ने जिप्सी सपना देखेका हुन्छन्। साउन्ड अफ मेटल सपना तुहिएको हेर्न बाध्य पात्रहरूको कथा पनि हो।
मान्छेको दैनिकीमा टिँटीँ, पिँपीँ, घ्यार्रघुर्र, टाकटाक, टुकटुक ध्वनिले मधुर संगीत सुनेजस्तो आनन्द नदेला। तर यी आवाज बिना हाम्रो दैनिकी शून्य बन्छ। रुबेन यस्तै शून्यतामा पुगेका छन्। संगीतमा समर्पित ड्रमरलाई यो शून्यताले झस्काउने नै भयो। नयाँ परिस्थितिलाई न उनी स्वीकार्न सक्छन्, न उनमा त्यससँग जुध्ने हिम्मत छ।
साउन्ड अफ मेटल यस्तै अप्ठ्यारो परिस्थितिमा भास्सिएको पात्रको सामान्य कथा हो जसलाई संवेदनशील रूपमा देखाइएको छ।
सिनेमामा चरित्रको दृष्टिकोण (प्वाइन्ट अफ भ्यू) बाट पात्रसँग भावनात्मक सामीप्य स्थापित हुन्छ। यो काम प्रायः संवाद र पात्रको क्रियाबाट गराइएको हुन्छ। साउन्ड अफ मेटलमा भने ध्वनि र आवाजको भूमिका निर्णायक छ।
यसमा चरित्रको प्वाइन्ट अफ भ्यूभन्दा प्वाइन्ट अफ हियरिङको कोणबाट विशेष काम गरिएको छ। साउन्ड डिजाइनको काम यसरी भएको छ, रुबेनले पर्दाभित्र सुन्ने फरक–फरक ध्वनि दर्शकले पनि सुन्छन् र महशुस गर्छन्।
रुबेनको श्रवण शक्ति एकैपटक नभई क्रमशः घटेको हुन्छ। उनको एउटा कानले बढी र अर्कोले कम सुनिरहेको हुन्छ। रुबेनले पहिलो पटक कान सुन्न अप्ठ्यारो महशुस गरेको क्षणदेखि उनले जस्तो सुन्छन्, हामी पनि ठ्याक्कै त्यसरी नै सुनिरहेका हुन्छौं।
पर्दामा रुबेनले राम्ररी सुन्दा हामी पनि स्पष्ट सुन्छौं। उनले किरिङमिरिङ सुन्दा हाम्रो कानलाई पनि रुबेनलाई जस्तै अप्ठ्यारो लागिरहेको हुन्छ। पात्रले ध्वनि सुन्न गरेको संघर्ष महशुस गराउन फिल्ममा फरक सन्दर्भमा अलग-अलग ध्वनि प्रयोग भएका छन्।
रुबेन धेरै पटक ध्वनिविहीन सन्नाटाको क्षणमा पनि पुग्छन्। उनको संसारको यो सन्नाटामा साउन्ड डिजाइनकै कारण हामी पनि उनीसँगै शून्यलोकको यात्रा गर्छौं। ध्वनि र आवाजका माध्यमबाट पात्रले जे अनुभव गर्छ, दर्शकलाई त्यस्तै अनुभूति दिलाउन सक्नु यो फिल्मको खास विशेषता हो।
फिल्ममा एउटा दृश्यमा ध्वनि र आवाज छ, अर्को दृश्यमा चकमन्न सन्नाटा। एक दिन सुनेको आवाज अर्को दिन हराउँदा हामी पनि रुबेनकै परिवेशमा पुग्छौं।
ध्वनिसँग जोडिएको मान्छेको सम्बन्ध र त्यसले निर्माण गर्ने मनोविज्ञान मिहिन ढंगले चित्रण गरेको छ फिल्मले। ठिकठाक चलिरहेको रुबेनको जीवनमा श्रवण शक्तिमा आउने ह्राससँगै अस्तित्वको संकट आउँछ। यस्तो संकट जसका लागि कुनै पनि मानिस सहजै तयार हुँदैन। निर्देशक डारियस मार्डरले यो कुरालाई रुबेनको छटपटी र निरीहता माध्यमबाट देखाएका छन्।
कथा र स्क्रिनप्लेमा पनि संलग्न निर्देशक मार्डरले रुबेन पात्रको भोगाइलाई निजी कथामा मात्र सीमित हुन दिएका छैनन्। कान सुन्न छाडेपछि प्रेमिका लूको करकापमा रुबेन डिफ सेन्टर जान बाध्य हुन्छन्।
डिफ सेन्टरभित्रको जिन्दगी रुबेनले सोचे र देखेभन्दा बेग्लै छ। रुबेनसँगै हामी दर्शक पनि त्यो नयाँ संसारका गतिविधि, मूल्य-मान्यतासँग साक्षात्कार हुन्छौं। फिल्मले डिफ समुदायलाई नै कथाको केन्द्रमा ल्याइदिन्छ। निर्देशक र लेखकले वर्षौं अनुसन्धान गरेर तयार पारेको यो कथा पर्दामा प्रभावकारी रूपमा उतार्न कलाकारले पनि उत्तिकै मेहनत गरेका छन्।
चरित्रप्रधान फिल्मको सुरूदेखि अन्तसम्म रुबेन केन्द्रमा छन्। रुबेनको भूमिका निर्वाह गरेका रिज अहमद पहिलो मुस्लिम र पहिलो पाकिस्तानी मूलका अभिनेता हुन् जो यही फिल्मबाट अस्करमा मनोनित भएर इतिहास रचिसकेका छन्। हाल उनको अभिनयको सर्वत्र प्रशंसा भइरहेको छ।
अस्करको उत्कृष्ट अभिनेताको सूचीमा परेका उनले यो फिल्ममा ड्रम सिक्न र अमेरिकन सांकेतिक भाषा सिक्न झन्डै एक वर्ष लागेको बताएका छन्।
साउन्ड अफ मेटल यही अप्रिल २५ मा हुने अस्कर अवार्डमा बेस्ट पिक्चर, बेस्ट एक्टर, बेस्ट साउन्डलगायत ६ विधामा मनोनित फिल्म हो। यसले विभिन्न विधामा यसअघि नै दर्जनौं प्रतिष्ठित महोत्सवमा पुरस्कार जितिसकेको छ।
फिल्ममा अभिनेता रिज अहमदको मेहनत हरेक दृश्यमा झल्किन्छ। उनले एकै पटक ड्रमर, कान नसुन्ने व्यक्ति र पूर्व लागूपर्दाथ दुर्व्यसनीको चरित्र निर्वाह गरेका छन्। हिँडाइ, आँखाको हाउभाउ र शरीरभरि खोपिएका ट्याटु र मेटल हुलियाले पहिलो दृश्यबाटै उनी दर्शकको ध्यान खिच्न सफल छन्।
रुबेनको अनिश्चित भविष्य र दुविधा देखाउन उनलाई पर्दामा धेरै पटक पछाडिबाट देखाइएको छ। रुबिनको अनुहारको आधा भाग देखाइएका दृश्यले पनि यस्तै भाव बोकेको छ।
उनी आफूले कान सुन्न नसक्ने भएपछि पहिलाजस्तै जीवन बाँच्न नपाउने कुरा स्वीकार्न सक्दैन/चाहँदैनन्। यही नै उनको जीवनमा अन्तरविरोध ल्याउने मुख्य कारण हो। रुबेनको आन्तरिक शरीर र बाह्य संसारसँगको संघर्ष सँगसँगै देखाएर त्यो अन्तर्विरोध महशुस गराइएको छ।
फिल्मको पहिलो दृश्यमा देखिएका रुबेन र अन्तिम दृश्यमा भेटिने रुबेनमा दर्शकले ठूलो रुपान्तरण पाउँछन्। यो रुपान्तरणले दर्शकलाई रुबेनसँगै लिएर हिँड्छ। यो यात्रामा हिँडेपछि साउन्ड अफ मेटल नामको अर्थ खुल्छ।
रुबेनबाहेक डिफ सेन्टर सञ्चालक जो पात्रको भूमिका निर्वाह गरेका पउल राची र रुबेनकी प्रेमिका लू बनेकी ओलिभिया कुकको अभिनय पनि दमदार छ। रुबेन र लूको प्रेमसँगै जो र रुबेनबीचको द्वन्द्वपूर्ण संवादले पनि फिल्मलाई रोचक बनाएको छ।
रुबेनको जीवनमा छाएको सन्नाटाभित्र गुञ्जिने अन्तर्मनको ध्वनि सुन्न मन लागे साउन्ड अफ मेटल हेरे हुन्छ। फिल्मले तपाईंलाई जीवनको आकस्मिकता, अनिश्चितता र यसका लागि तयार रहनुपर्ने अपरिहार्यता बोध गराउने छ।
हेर्नुस् साउन्ड अफ मेटलको ट्रेलरः