गुड फ्राइडे सिनेमा
सहरी जीवनका भोगाइ केन्द्रमा राखेर संसारभर फिल्म बनेका छन्। बलिउडमा पनि दिल्ली, मुम्बई वा कलकत्ता सहरलाई पात्रकै रूपमा देखाइएका सिनेमा थुप्रै छन्।
'देल्ही बेली' त्यस्तै फिल्म हो, जहाँ दिल्ली सहर पात्र बनेर आउँछ।
कुनै आपराधिक समूहबाट हिराको अवैध ओसारपोसार र त्यही घटनाक्रममा फिल्मका मूल पात्रहरू तानिँदै जाने कथा बलिउडमा नयाँ होइन। देल्ही बेलीको कथा पनि यसरी नै सुरू हुन्छ।
ताशीकी प्रेमिका आफ्नो साथीलाई सहयोग गर्न एयरपोर्ट जान्छिन् र अपरिचित मान्छेले दिएको प्याकेज लिएर आउँछिन्। उनी आफ्ना प्रेमी ताशीलाई त्यो प्याकेज सम्बन्धित ठेगानामा पुर्याइदिन अनुरोध गर्छिन्।
ताशीले यो काम आफ्नो अर्को साथीलाई अह्राउँछ। र, त्यो साथीले अर्को साथीलाई।
यही चक्करमा त्यो प्याकेजमा भएको हिरा जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्दैन। हिरा कहाँ जान्छ? यही प्रश्नको खोजीमा आपराधिक समूहका नाइके सोमायाजुलु ताशी र उसका साथीहरूलाई पछ्याउन थाल्छ।
फिल्मको कथा यिनै पात्रहरूबीचको भागदौड र नोकझोकमा अगाडि बढ्छ।
यो फिल्म भारतका फरक-फरक ठाउँबाट दिल्ली सहरमा आएर बस्ने तीन युवा ताशी, नीतिन र अरूपको कथा पनि हो। ताशी पत्रकार हुन् भने नीतिन फोटोग्राफर र अरूप कार्टुनिस्ट।
फिल्ममा ताशीको भूमिका इमरान खानले खेलेका छन्। नीतिन बनेका छन् कुनाल राय कपुर र अरूपको भूमिकामा देखिन्छन् वीर दास।
यी तीन जनाको स्वभाव र शैली एकअर्कासँग मिल्दैन। ताशीको स्वभाव स्पष्ट र ठाडो छ। नीतिन खुफिया स्वभावका छन् भने अरूप निर्दोष खालका छन्। फिल्ममा नीतिनको खुफिया दिमागले कथालाई नयाँ-नयाँ ट्विस्ट दिएको छ।
कथाको हिसाबले देल्ही बेली पुरानो छ। तर, यसको प्रस्तुति प्रियदर्शन वा डेभिड धवन शैलीको कमेडीसँग मिल्दैन। उस्तै सुनिने कथा पनि प्रस्तुतिले कसरी फरक बन्छ भन्ने उदाहरण हो, देल्ही बेली।
यो फरकपन फिल्मका पात्रहरूको अभिनय र बोलीमा भेटिन्छ। सेन्सरबोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको संवाद आक्रामक छ। दिल्ली सहरको भागदौडमा बाँचेका यसका पात्रहरू आक्रामक छन्। फिल्मको भाषा, संगीत, सम्पादनमा पनि यो आक्रामकता भेटिन्छ। राम सम्पथको संगीत भएको फिल्मका गीत अनौठा छन्। यही फिल्मको 'भाग भाग डिके बोस' निकै चर्चित गीत हो।
फिल्ममा सहरको परिवेशमा संघर्ष गरिरहेका युवाको परिस्थिति र मनोदशा उतार्ने धेरै दृश्य छन्। फिल्मका मुख्य पात्र बस्ने कोठा यसको उदाहरण हो, जुन भौतिक रूपले थोत्रो त छँदैछ, त्यहाँ पानी र अन्य आधारभूत सुविधाहरू पनि छैनन्। माथिल्लो तल्लामा सधैं नाचगान चलिरहन्छ।
फिल्मका पात्र प्रायः एक्लै कमै देखिन्छन्। उनीहरू पर्दामा आउँदा दिल्ली सहरको परिवेश, भीड र संस्कृति पनि सँगसँगै आइरहन्छ।
फिल्मको सबभन्दा रमाइलो पक्ष, यसका पात्रहरूलाई उनीहरू के गर्दैछन् र के गर्नेवाला छन् भन्ने नै थाहा छैन। यसले दर्शकलाई पनि फिल्ममा अब के होला भन्ने कौतूहल जगाइरहन्छ। पर्दामा हुने संवाद र घटनाले मज्जाले हसाउँछ पनि।
नयाँ पुस्ताको बाँच्ने शैली नयाँ भएजस्तै यो फिल्ममा कथा भन्ने शैली पनि नयाँ छ। प्रस्तुतिकै कारण यो फिल्म चर्चामा आएको थियो। निर्देशक अभिनय देवले यही फिल्मबाट डेब्यू निर्देशकको फिल्मफेयर अवार्ड जितेका थिए। यो फिल्मको सम्पादन, प्रोडक्सन डिजाइन, साउन्डस्कोर र स्क्रिनप्लेले पनि केही अवार्ड जितेको छ।
यो फिल्म आमिर खान प्रोडक्सन्सले निर्माण गरेको हो। यसका अघिल्ला फिल्म 'धोबीघाट', 'तारे जमिन पर' वा 'पिप्ली लाइभ' ले गम्भीर दर्शक तानेका थिए। देल्ही बेली पनि कम गम्भीर छैन। आफ्नो बिन्दास शैलीबाट सहरीया जीवनको गम्भीर कथा यो फिल्मले देखाउँछ।
समीक्षकहरूले फिल्मको सराहना गरे पनि अश्लील भएको आरोपसमेत लगाएका थिए। यो फिल्म भारत र नेपालमा समेत एडल्ट कन्टेन्टकै कारण विवादमा आएको थियो।
नेपालमा केही दिन प्रसारणमा रोक लगाई केही संवाद र दृश्य काटेर १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउने गरी प्रदर्शन अनुमति दिइएको थियो।