गितार सेसन
एसएलसीपछिको फुर्सदमा टेकोचा, भक्तपुरका युभिन शाही खड्गी र सुरज दुवाल नियमित भेट्थे।
उनीहरू बच्चैदेखिका साथी हुन्। युभिन गाउन मन पराउँथे, सुरज गितार बजाउँदा रमाउँथे। अरूका गीत संगीत गाउँदै-गुनगुनाउँदै चालै नपाई उनीहरू आफ्नै धुन बनाउन थाले। त्यही धुनमा शब्द कोरे अनि गीत गाउन थाले।
यो प्रक्रियामा मीनभवन, काठमाडौंका ओम श्रेष्ठ र सल्लाघारी भक्तपुरका सौगात लामा थपिए। उनीहरू दुईबाट चार भए। ओम ड्रमर र सौगात गितारिस्ट हुन्। अनि जन्म्यो, 'द कल्चर किङ्स'।
सेतोपाटी गितार सेसनमा यही ब्यान्डको प्रतिनिधित्व गर्दै युभिन शाही खड्गीले आफू र आफ्नो ब्यान्डको संगीत यात्राबारे जानकारी दिए।
युभिनको खास नाम अभिषेक हो। पाटनमा जन्मेका उनको बसाइ भक्तपुर मामाघरमा भयो। संगीतमा लाग्नुमा युभिनको घरेलु परिवेशले पनि भूमिका खेलेको रहेछ।
युभिनका बुबाको हजुरबुबा नै भजन गाउँदा रहेछन्। उनका बुबा भने भारतीय गायक किशोरकुमारका गीत सुन्छन्। बुबाले सुनेका किशोरकुमारका गीत युभिनलाई सानैदेखि कण्ठ हुन्थ्यो।
चार-पाँच वर्षकै उमेरदेखि उनी गितारतिर आकर्षित भए। विद्यालय र कलेजको वातावरणले उनी आफ्ना अग्रजभन्दा फरक स्वादका गीत संगीत मन पराउने भए। यसमा उनले पढ्ने स्कुल, कलेजको वातावरण र साथीहरूको रूचिको प्रभाव पर्ने नै भयो। पाश्चात्य 'स्लो रक' रूचाउने उनीहरू नेपालका कब-वेब, अल्बाट्रसजस्ता ब्यान्डको गीत-संगीतबाट प्रभावित छन्।
उनले भने, 'उस्तै उस्तै संगीत मन पराउने साथीहरू मिलेपछि ब्यान्ड खोलेका हौं।'
सामान्य अवस्थामा ब्यान्डका सदस्यहरू हप्तामा तीन दिन क्लब र रेस्टुरेन्टमा प्रस्तुति दिन्छन्। उनले भने, 'सुरूमा कसैले पत्याउँथेनन्। जब क्लब र रेस्टुरेन्टहरूमा प्रस्तुति दिने क्रम बढ्यो, अरूले हेर्ने नजर पनि बदलिन थाल्यो।'
आफ्नै गीत बनाउन खर्चिलो भएकाले खर्च धान्न र ब्यान्डलाई चिनाउन 'गिग' को बाटो रोजेको युभिनले बताए। उनीहरूको ब्यान्डले ठमेल र भक्तपुरका चलेका क्लब र रेस्टुरेन्टहरूमा गाउने अवसर पाइसकेको छ। यहीँ गाएरै ब्यान्डका लागि चाहिने वाद्यवादन र अन्य खर्च जुटाउन सहज भएको पनि उनले बताए।
काठमाडौं र भक्तपुरमा छरिएका यस ब्यान्डका सदस्यहरू संगीत प्रस्तुत गर्ने बेलाबाहेक हप्तामा एकपटक नियमित भेट्छन्। दुई घन्टा संगीत अभ्यास गर्ने र भविष्यको खाका कोर्छन्। लामो समय लकडाउनका कारण संगीत प्रस्तुत गर्न र चाहिने जति अभ्यास गर्न नपाएको अवस्था थियो। स्थिति सामान्य बन्दै गर्दा ब्यान्डको व्यस्तता पनि बढिरहेको उनले बताए।
गितार सेसनमा युभिनले ब्यान्डका हालसम्म सार्वजनिक 'समय' र 'तिम्रो मेरो' गाएर सुनाए। चाँडै नयाँ गीतहरू निकाल्ने जानकारी पनि दिए। पछिल्लो गीत गत वर्षको भ्यालेन्टाइन्स-डेका बेला सार्वजनिक भएको हो।
'कभर गाउन रमाइलो हुन्छ। पैसा पनि आउँछ। तर खास पहिचान बनाउन आफ्नै गीत चाहिन्छ,' युभिनले भने, 'हामी पनि आफ्नै गीत संगीतबाट चिनिन चाहन्छौं।'
अचेल एक-एक वटा गीत सार्वजनिक गर्दै एल्बम पूरा गर्ने सुविधा छ। खर्च नहुनेका लागि यो सुविधा बाध्यता पनि हो किनकि एक-एक गीत सार्वजनिक गर्दै एल्बम पूरा गर्न लामो समय लाग्छ।
'द कल्चर किङ्स' ले पनि यसरी नै गीत सार्वजनिक गर्दै एल्बम निकाल्ने लक्ष्य राखेको छ। उनीहरूले एल्बमको नाम पनि दिइसकेका छन्, 'सोच'।
आफूहरू संघर्ष चरणमा भएकाले धैर्यसाथ अघि बढिरहेको युभिनले बताए। उमेर हिसाबले पनि यस ब्यान्डका सदस्यहरूले हतार गरिहाल्नु पर्ने देखिन्न। युभिन २१ वर्षका भए। ब्यान्डका अरू सदस्य पनि उनकै उमेर समूहका छन्।
आर्थिक समस्या, पहिचानको संकट र सदस्यहरु टिकाइराख्ने चुनौती संसारभरका ब्यान्डले कुनै न कुनै चरणमा भोगेका हुन्छन्। स्थापना भएको ५ वर्षमा 'द कल्चर किङ्स' ले पनि यी र यस्ता खालका समस्या भोगेका छन्।
सानै उमेरमा उनीहरूले घरका सदस्यको विश्वास जित्नेदेखि स्रोताको मन जित्नेसम्मको चुनौती बोकेर हिँडे।
'एउटा समय यस्तो पनि थियो जहाँ गाउन त गाउँथ्यौं, तर सुनिदिने स्रोता हुन्थेनन्,' उनले भने। अचेल टोलमा प्रत्यक्ष उनीहरूको संगीत मनपराउने र उनीहरूलाई पछ्याउने प्रशंसकहरू भेटिन थालेका छन्। यसबाहेक सामाजिक सञ्जालमार्फत पछ्याउनेहरू पनि बढिरहेका छन्।
'आफूलाई मन लागेको क्षेत्रमा लागेर धेरैथोरै जेजस्तो भए पनि पैसा र परिचय पाएका छौं,' युभिनले भने, 'स्रोताहरूको माया पनि पाइरहेका छौं। यही नै हाम्रो सन्तुष्टि र ऊर्जाको आधार हो।'
यी पनि हेर्नुस्ः
'गायक बन्न चिया बेचेँ, भाँडा माझेँ' (भिडिओ)
प्रेम, समर्पण, स्वतन्त्रता गाउने सिम्मा