केही साताअघि मिस नेपाल अर्थ- २०१८, प्रिया सिग्देललाई क्याट–वक सिकाएको भिडिओ टिकटक र इन्स्टाग्राममा भाइरल भयो।
त्यस्तै मिस पिंक- २०१८, एन्जल लामा र मिस ग्र्यान्ड नेपाल- २०१९, निशा पाठकको क्याट–वक भिडिओमा पनि दर्शकले चासो देखाए। प्रिया र एन्जल मिस नेपाल युनिभर्स-२०२० को टप-२४ प्रतिस्पर्धी हुन्। निशा मिस इन्टरकन्टिनेन्टल- २०२० को प्रतिस्पर्धामा छिन्।
उनीहरू सबैलाई क्याट-वक सिकाउने प्रशिक्षक हुन्, सुजित बस्याल।
यी भिडिओ सुजितकै कारण भाइरल भएका हुन् भन्दा फरक पर्दैन।
'यो मेरो पेसा हो। तर भिडिओ बनाएर टिकटकमा हाल्दा भाइरल भयो,' सुजितले सेतोपाटीसँग भने, 'प्रतिक्रियामा धेरैजसो अचम्मित हुनुहुन्थ्यो। नेपालमा मोडलहरूलाई सिकाउने केटा कोरिओग्राफर पनि छन् र भन्ने खालको उहाँहरूको भाव थियो।'
बुटवलका २६ वर्षीय सुजित मोडल कोरिओग्राफर हुन्। उनी महिला तथा पुरूष मोडललाई ब्युटी पेजेन्ट, मोडलिङ र र्याम्पमा हिँड्ने प्रशिक्षण दिन्छन्।
कार्यक्रमहरूमा मोडलले आफूलाई कसरी प्रस्तुत गर्ने, शारीरिक हाउभाउ, क्याट-वक कसरी गर्ने लगायत कुरा सिकाउनु सुजितको काम हो। उनले विदेशी मोडललाई पनि प्रशिक्षण दिएका छन्। उक्त प्रशिक्षण कोरोना महामारीका कारण भर्चुअल भएको उनी बताउँछन्।
'मोडललाई प्रशिक्षण दिँदा चालढाल, मनोवृत्ति, शारीरिक कोण, हिँडाइ लगायत ख्याल गर्छौं। मोडलिङका लागि यो सब अति आवश्यक हुन्छ,' सुजितले यो कामको प्रकृति बुझाए।
सुजित कोरिओग्राफर मात्र होइनन्, विभिन्न कार्यक्रममा निर्णायक समेत बन्छन्। विगत दुई वर्षमा नेपालगञ्ज, तनहुँ, पोखरा, काठमाडौं, कपिलवस्तु, भैरहवा, पाल्पा, सुर्खेत लगायत थुप्रै जिल्लामा भएका दर्जनौं मोडलिङ कार्यक्रममा कोरिओग्राफर तथा जज भएर पुगेका छन् उनी।
त्यस्तै तीन वर्षअघि सुरू भएको मिस्टर एन्ड मिस पश्चिमाञ्चल र दुई वर्षअघि सुरू द रनवे फेसन शो कम्पिटिसनका आयोजक हुन् उनी। दुवै कार्यक्रम वार्षिक भए पनि कोरोनाका कारण नयाँ श्रृंखला रोकिएको छ। त्यसैले पनि सुजित लकडाउनयता अलि फुर्सदमा छन्।
सुजितले यो क्षेत्रमा विगत ७ वर्षदेखि संघर्ष गरिरहेका छन्। उनको जीवनशैली अहिले धेरैलाई सुखद लाग्छ, उनलाई पनि।
तर कुनै समय थियो जब उनले निकै नकारात्मक प्रतिक्रिया र वातावरण सामना गर्नुपर्यो।
सानो छँदा ठूलो भएर के बन्ने भन्दा सुजितको जवाफ हुन्थ्यो रे – मोडल। साथीभाइ कार्टुन हेरेर रमाउँदा उनी फेसनका कार्यक्रममा आकर्षित हुन्थे। नृत्यमा पनि रूचि थियो।
२०७० सालतिर कक्षा १२ को परीक्षा सकेर उनी बुटवलको देवदह कलेजको प्रशासनमा काम गर्थे। त्यसैबेला न्यू सत्यशाही कला केन्द्र भर्ना भएर नृत्य सिके। अरूलाई सिकाउन थाले। उक्त कला केन्द्रले ब्युटी पेजेन्टहरू पनि आयोजना गर्थ्यो।
सुजितको सपनै यही थियो, ती कार्यक्रममा उनी सहभागी हुन थाले। यसबाट आफ्ना सम्पर्क बढाउँदै गए। पेजेन्ट र अन्य कार्यक्रममा समय दिन थालेपछि कलेजको काम भ्याएनन्। अनि पूर्ण रूपमा मोडलिङमै होमिए।
केही वर्षपछि उनी कोरिओग्राफरका सहयोगी भएर विभिन्न कार्यक्रममा प्रशिक्षक भएर जान थाले। यसरी हिँड्दा–हिँड्दै सहायक कोरिओग्राफर हुने अवसर मिल्यो।
सुजितका लागि २०७३/७४ साल भाग्यशाली ठहरिएको बताउँछन्।
२०७३ फागुनतिर बुटवलमा मिस्टर एन्ड मिस कलेज, लुम्बिनी हुँदै थियो। प्रतियोगितामा सुजित पनि सहभागी भए। यसका लागि कार्यक्रमका कोरिओग्राफरले नै जोड गरेको उनी बताउँछन्।
'कामको अनुभव छ, यसपालि तिमी सहभागी हुनुपर्छ है भन्दै कोरिओग्राफरले नै भन्नुभयो। अनि मैले पनि सहभागिता जनाएँ,' उनले भने। सुजित विजेता हुन सकेनन्। तर यो कामलाई निरन्तरता दिइरहे।
'सहयोगी र सहायक भएर काम गर्दा धेरै अनुभव भयो। आफ्ना विद्यार्थीलाई कसरी सत्कार गर्नेदेखि आफ्नै सिकाइमा पनि पूर्णता ल्याउन थालेँ। तिनै कुराले मलाई कोरिओग्राफर बन्ने मौका दिलायो,' सुजित भन्छन्, '२०७४ साल अन्त्यतिरबाट कोरिओग्राफर नै भएर काम थालेँ।'
त्यसपछि नै उनलाई मिस्टर एन्ड मिस पश्चिमाञ्चल आयोजना गर्ने आँट मिलेको हो। पहिलो प्रतियोगितामा कोरिओग्राफ गरेलगत्तै उनले वर्ष दिनमा ११ कार्यक्रमका मोडललाई प्रशिक्षण दिए।
ती दिनको मिहिनेत र खटाइको परिणाम अहिले सुजितले पाएको महशुस गर्छन्।
भन्छन्, 'कुनै समय मेरो पछाडि कुरा काट्नेहरू अहिले म स्टेजमा उभिँदा मेरै अगाडि ताली पिट्छन्। यो देख्दा आफैंले केही कमाएँ है भन्ने लाग्छ। यही मेरो सफलता जस्तो लाग्छ।'
हुन पनि मोडलिङका सुरूआती दिनमा उनको समर्थनमा परिवार मात्रै भए। आफन्त र साथीभाइ कुरा काट्नमै लागे।
'केटा भएर पनि यो क्षेत्रमा किन लागेको? त्यसमाथि पैसा मात्र खर्च हुन्छ भन्नेहरू थिए,' पुराना दिन सुनाउँदै भन्छन्, 'खुट्टा तान्ने भन्दा खुट्टा उचाल्नै नदिनेहरू भए। स्कुल–कलेजमा झन् धेरै दुर्व्यवहारमा परेँ।'
चिनेजानेकाहरू सुजितका आमाबुवालाई सुनाउँथे- मोडलिङ गरेर के हुन्छ? घरको जेठो छोरा, राम्रो काममा हात हाल्न भन्नु नि! किन गर्नुपर्यो यस्तो काम?
सुजितले आफ्नो परिवारलाई सम्झाउँदै गए। काम, पेसा, रूचिका विषयमा बुझाए, 'परिवारको समर्थन हुँदा निकै आँट र आड मिल्ने रहेछ।'
उनलाई सधैं लाग्थ्यो- कुनै पनि पेसा महिला वा पुरुषका लागि मात्र भनेर बनाइएको हुँदैन। यी सब मान्छेको सोचाइमा भर पर्ने कुरा हो। त्यसैले उनी नेपालमा पुरुषलाई पनि मोडलिङ तथा फेसन क्षेत्रमा सक्रिय हुन प्रेरित गर्न चाहन्थे।
अरूका कुरा पन्छाउँदै, आफूलाई मानसिक हिसाबले बलियो बनाउँदै सुजित आफ्नो सपना पूरा गर्ने ध्याउन्नमा लागे।
अहिले उनको सपना पूरा भएको छ। मान्छेको सोचाइमा पनि परिवर्तन पाएका छन् उनले।
'कुनै समय फेसन, मोडलिङ भन्ने बित्तिकै केटी र महिलाका लागि मात्र भन्ने सोचिन्थ्यो। अहिले फरक छ। पुरुष पनि सराबर यसमा सक्रिय छन्,' उनले भने, 'पेसागत रूपमै यो क्षेत्रमा पुरुष संख्या बढ्दो छ।'
सुजितका अनुसार जसरी संसारका अन्य देशमा फेसन र मोडलिङको परिभाषा बदलिँदो छ, त्यसरी नै नेपालमा पनि मानिसको सोचाइमा परिवर्तन हुन जरुरी छ।
भन्छन्, 'यहाँ मान्छेहरू एकअर्कालाई समर्थन गर्नुभन्दा धेरै आलोचना गर्छन्। नकारात्मक प्रतिक्रिया दिइरहन्छन्। एउटै गल्ती औंल्याइरहने र कुरा काटिरहने जमात बढी छ।'
यी कुरा सुजितले टिकटक चलाउन थालेपछि बढी बुझेछन्।
प्रशिक्षणका पुराना भिडिओ पोस्ट गर्दा उनका विदेशी प्रशंसकले सकारात्मक प्रतिक्रिया दिन्थे। केही नेपाली प्रयोगकर्ताले भने नकारात्मक र अपमानजनक प्रतिक्रिया जनाउँथे।
यसमा दुःख मान्दै भन्छन्, 'टिकटक चिनाजानी बढाउने राम्रो माध्यम हो। तर मान्छेलाई नबुझी उनीहरूमाथि नराम्रो प्रतिक्रिया दिन्छन्। अब त नयाँ भिडिओ पोस्ट गर्नुअघि दोहोर्याएर सोच्नुपर्ने हुन्छ। आफूलाई भन्दा घर-परिवारले त्यस्ता प्रतिक्रिया देख्दा नराम्रो मान्लान् भन्ने चिन्ता लाग्छ।'
कोरोनाका कारण अहिले प्रायः ब्युटी पेजेन्ट, फेसन र मोडलिङ कार्यक्रम रोकिएका छन्। तर केही महिनामै पुनः सुरू हुनेमा सुजित आशावादी छन्। उनलाई दर्जनौं कार्यक्रमको प्रस्ताव आइसकेको उनले बताए।
सुजितका अनुसार कुनै पनि मोडलिङ कार्यक्रमका लागि एक महिनाको प्रशिक्षण अनिवार्य हुन्छ। यसका लागि उनी कार्यक्रमको स्तर, स्थान र सहभागिता हेरेर ३० हजारदेखि ६० हजार बढी शुल्क लिन्छन्।
नेपाली कार्यक्रमहरूमा परिचित कोरिओग्राफर सुजितको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि मोडललाई प्रत्यक्ष प्रशिक्षण दिने सपना छ। यसकै लागि आफूलाई पोख्त बनाउन लागिपरेका छन्।
'त्यसपछि मोडलिङमा महिला मात्र लाग्छन् भन्ने नेपालीहरूको धारणा परिवर्तन गराउन सफल हुन्छु कि?' उनी आशावादी छन्।