विज्ञानमा आफूभन्दा बलियो जीवको शरीरभित्र बसेर तिनको पौष्टिक तत्वबाट आफ्नो जीवन चलाउने जीवलाई परजीवि भनिन्छ। आँखाले देख्न नसक्ने सानो कुरा मानिए पनि पछि खतरनाक जीवका रूपमा देखा पर्छ, परजीवि। आफ्नो अस्तित्वका लागि अर्कोमा निर्भर हुने परजीविले ढिलोचाँडो आश्रय लिएकै जीवलाई हानी पुर्याउँछ।
दक्षिण कोरियाली निर्देशक बोङ जो हु निर्देशित 'प्यारासाइट' मा परजीविको यस्तै विशेषता मानव सम्बन्धसँग जोडेर चित्रण गरिएको छ।
डार्क कमेडी थ्रिलर फिल्म प्यारासाइटमा किम परिवार आफ्नो जीविकाको लागि पार्क परिवारभित्र फैलिन्छन्। पार्क परिवारमा आएको कठिनाइबाट उनीहरू आफैं पनि प्रभावित हुन्छन्।
'प्यारासाइट'मा पात्रहरूको अस्तित्व परजीविजस्तै छ।
दक्षिण कोरियाको राजधानी सिओलको एउटा सानो र अव्यवस्थित भुइँतले अपार्टमेन्टबाट कथा सुरू हुन्छ।
किम, उनकी श्रीमती चोङ सुक र छोराछोरी किओ र किजङसहित चारजनाको परिवार बस्ने त्यो ठाउँ सुकुम्बासी झुपडीभन्दा फरक छैन। अवकाशप्राप्त खेलाडी किम बेरोजगार छन्। श्रीमती चोङ सुक र उनी मिलेर घरमा पिज्जाको बट्टा बनाउने काम गर्छन्।
यो काम उनीहरूको जीविकाको संकट टार्न पर्याप्त हुँदैन। ठूला भइसकेका छोराछोरीको आर्थिक अभावकै कारण पढाइ पनि रोकिएको हुन्छ।
यसैबीच छोरा किओले साथीमार्फत् झुट बोलेर र फर्जी कागजात बनाएरै भए पनि धनी व्यक्ति पार्कको घरमा निजी शिक्षकको काम पाउँछन्। पार्क परिवारको सम्पन्न वातावरण र त्यहाँको हरेक अवसर किओले आफ्नो परिवारको गरिबी हटाउने माध्यम बनाउँछन्। अनेक जुक्ति लगाएर किम परिवारका सबै सदस्य अज्ञात रूपमा पार्क परिवारका लागि काम गराउन सफल हुन्छन्।
फिल्म आधासम्म आइपुग्दा दर्शकलाई हरेक पात्रको चरित्र, व्यवहार र तिनको सरल अभिनयले कुनै पारिवारिक हाँस्यप्रधान फिल्म हेरे जस्तो लाग्न सक्छ। जब यी विपन्न र सम्पन्न परिवारका पात्र एकआपसमा ठोक्किन्छन्, कथाले नयाँ मोड लिन्छ।
यी दुई परिवारका सदस्यको परिस्थिति एकै ठाउँमा जोडेर निर्देशक बोङले समग्र दक्षिण कोरियाकै धनी र गरिबबीचको खाडल र त्यसबाट उब्जेका समस्या इंगित गरेका छन्।
पारिवारिक मुद्दाबाट यसले सामाजिक, वर्गीयदेखि पारमाणिक र जलवायु परिवर्तनका असरसम्म जोड्छ। निर्देशकले यो काम यति चलाखीपूर्वक गर्छन्, मानौं फिल्म सकिएपछि मात्रै दर्शकले आफूले एउटा रमाइलो होइन, गम्भीर फिल्म हेरेको चाल पाऊन्।
अभिनय, संवाददेखि प्रस्तुति अत्यन्त सरल र जीवन्त हुनु प्यारासाइटको विशेषता हो। कथाको महत्वपूर्ण मोड कलाकारको सरल अभिनयभित्र लुकिरहेको हुन्छ। बेस्ट पिक्चर, ओरिजिनल स्क्रिन प्ले, निर्देशन, फिल्म सम्पादन, उत्पादन डिजाइन र अन्तर्राष्ट्रिय फिचर फिल्म गरेर छ विधामा ओस्कार अवार्डमा मनोनित हुनुले पनि कथाबाहेक फिल्मको अन्य पक्ष पनि उत्तिकै सबल छ भन्ने प्रस्ट हुन्छ।
सिनेमाटोग्राफी सुन्दर मात्रै छैन, फिल्मको मुख्य विषय चित्रण गर्न सघाउने खालको छ। कथाभित्र गरिब पात्रको आफ्नो 'लाइन क्रस' नहोस् भन्नेमा धनी पात्र पार्क जसरी सचेत छन्, त्यो सचेतता क्यामराको एंगलिङमा पनि अपनाइएको छ।
फिल्ममा पटकपटक प्रयोग हुने 'द लाइन' धनी र गरिबबीचको सीमा हो। यसले दुई परिस्थितिमा बाँचेका परिवारको विशाल भिन्नता चित्रण गर्छ। एकातिर बाध्यता छ, अर्कोतर्फ सौख। एकै कारणले दुई परिवारलाई पार्ने फरक असर फिल्ममा व्यंग्यात्मक बनिदिन्छ।
हाइ एंगल र लो एंगल खिचाइबाट पात्रको मनोदशा र स्थिति देखाइएको छ। दृश्यमा आउने उकालो र ओरालो, उज्यालो र अँध्यारोलाई उपलब्धि र निराशासँग, सफलता र असफलतासँग जोडेर हेर्न सकिन्छ। बेरोजगार किओले एकाएक धनीका घरमा काम पाएको कुरा देखाउँदा दृश्य छायाबाट चर्को घामतिर प्रवेश गराउनु यसैको एउटा उदाहरण हो।
फिल्मको पहिलो दृश्यमा घामको किरण विरलै छिर्न सक्ने भुइँतले घरको झ्याल छेउ मोजा सुकाइएको छ र त्यसैको मुनि छन् किओ। यसले उनी गरिबी रेखाभन्दा धेरै तलको व्यक्ति हुन् भन्ने संकेत गर्छ। हलुका घामको किरण उनको परिवारको कमजोर स्थितिको प्रतीक हो। यही घाम धनीको घरबाट हेर्दा आँखै लोभ्याउने गरी, आकाश टल्काउने गरी लाग्छ।
निर्देशक बोङका यसअघिका फिल्ममा पनि क्यामराको यस्तै प्रयोगले पात्रको स्थिति अनुमान लगाउन सकिन्छ। पात्र दायाँबाट बायाँको दिशामा जाँदा होस् वा क्यामरा कोणले पात्रलाई देखाउने दिशाले तिनको जीवनमा भइरहेको र हुन लागेको परिस्थिति झल्काउँछ।
कान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको प्यारासाइट कानमा पाम डि'अर (सर्वोत्कृष्ट फिल्म) जित्ने पहिलो कोरियाली फिल्म हो। गत महिना सम्पन्न गोल्डेन ग्लोब अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म बन्न सफल प्यारासाइट यति बेला आगामी फेब्रुअरीमा हुने ओस्कार अवार्डको छ विधामा मनोनित भएयता थप चर्चामा आएको छ।
धेरै समीक्षकले 'बोङ एट हिज बेस्ट' भनेको कोरियाली फिल्म प्यारासाइटले आगामी फेब्रुअरीमा हुने ओस्कारमा कुनै अवार्ड जित्ने आशा गरिएको छ।