पठन संस्कृति विस्तार गर्ने उद्देश्यसहित काठमाडौंमा एक दिने साहित्य महोत्सव ‘किताब जात्रा २०२०’ हुने भएको छ।
माघ १८ गते काठमाडौं, नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने जात्रा किताब यात्रा फाउन्डेसनको आयोजना र अनलाइनमार्फत घरमै किताब पुर्याइरहेको किताब यात्रा प्रालिको सह–आयोजनामा हुन लागेको हो।
जात्रामा पठन संस्कृतिका विविध आयामबारे तीन फरक सत्रहरुमा बहस हुनेछन्। बहसमा नयनराज पाण्डे, नारायण वाग्ले, सुधीर शर्मा, विश्वभक्त दुलाल ‘आहुति’, सरस्वती प्रतिक्षा, अनिल केशरी शाह, अशोक शेरचन, टिकाराम यात्रीलगायत लेखक, पत्रकार, कलाकारहरु वक्ताका रूपमा सहभागी हुने अध्यक्ष ऋषिराम अधिकारीले बताए।
जात्राका संयोजकसमेत रहेका अधिकारीले भने, ‘समाजमा अझै शैक्षिक योग्यता मापनका लागि वा साहित्यिक लेखनको उर्जाका लागि मात्रै पठन आवश्यक छ भन्ने मान्यता पाइन्छ। तर साहित्य, कला, उद्यम, राजनीतिलगायत हरेक क्षेत्रमा क्षेत्रमा पठनले गहिरो प्रभाव पार्छ। त्यो प्रभाव कस्तो हुन्छ भन्ने अनुभूति बहसमा सहभागी हुने विविध क्षेत्रका व्यक्तित्वबाट सुन्नेछौं।’
किताब जात्रामा समाज तथा शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘प्रेम साहित्य सम्मान’ पहिलो पटक प्रदान गरिँदैछ। नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याइरहेका व्यक्तित्वलाई हरेक बर्ष सम्मान प्रदान गरिने संरक्षक बालकुमारी अधिकारीले बताइन्। जात्रामा यस बर्ष किताब यात्रा डटकमबाट सबैभन्दा बढी बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’समेत प्रदान गरिनेछ।
जात्राको काव्य शिविर सत्रमा गजलकार बाबु त्रिपाठी, कवि नवराज पराजुलीलगायतको प्रस्तुति रहने फाउन्डेसनले जानकारी दिएको छ। साहित्यकार, लेखक, कलाकार, प्रकाशनगृहका प्रतिनिधि, कर्पोरेट क्षेत्रका व्यक्तित्व, उद्यमी, राजनीतिकर्मी, विद्यार्थीलगायतको उपस्थितिको अपेक्षा गरिएको जात्रामा पाँच हजारभन्दा बढीको सहभागिता हुने आयोजकको अनुमान छ।
निःशुल्क सहभागी हुन सकिने जात्रामा किताबजात्रा डटकममार्फत अग्रिम दर्ता गरेर प्रवेश कार्ड प्राप्त गर्न सकिनेछ। सोही दिन उपस्थित भएर कार्यक्रमस्थलमै पनि प्रवेश कार्ड प्राप्त गर्न सकिने संयोजक अधिकारीले बताए।
आयोजकका अनुसार, पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने अभियान चलाउन फाउन्डेसनको स्थापना भएको हो। जात्रामा नेपाली र विदेशी गरी सयभन्दा बढी प्रकाशनका किताब विशेष छुटसहित उपलब्ध हुने जनाइएको छ।
किताब यात्रा प्रा.लि.का निर्देशक कृपेश किशोर घिमिरेले भने, ‘जात्रामा किताब त उपलब्ध हुने नै भए, त्यससँग सम्बन्धित विविध रोचक क्रियाकलाप हेर्न र त्यसमा सहभागी हुन पाइनेछ। यसका लागि कला प्रदर्शनी, किताब क्विज, फेस पेन्टिङ, लाइभ प्रिन्टिङ, साहित्यिक उपहार लगायतका क्रियाकलाप समेट्ने छौं।’