सम्पादकीय नोटः साहित्यकार मदनमणि दीक्षितको बिहीबार बिहान ९६ वर्षको उमेरमा देहान्त भएको छ। जीवनको अन्तिम समयसम्म पनि उनी लेखनमा सक्रिय थिए। सेतोपाटीले तीन वर्ष अगाडि दीक्षितको 'माधवी' उपन्यासबारे स्टोरी गरेको थियो। दीक्षितप्रति श्रद्धासुमन स्वरूप सो स्टोरी पुनः प्रकाशित गरेका छौं।
मदनमणि दीक्षितको विचार रातारात नबदलिएको भए 'माधवी' उपन्यास नलेखिन सक्थ्यो। बरू एउटा पत्रकारको आत्मदाहको सनसनीपूर्ण समाचार विदेशी मिडियामा छाउन सक्थ्यो।
दीक्षित ९३ वर्षका भए। माधवी ३३ वर्षकी। दीक्षितलाई यो उपन्यासका एकएक घटना, एकएक प्रसंग, पात्रले बोलेका एकएक संवाद अद्योपान्त सम्झना छ। बरु जिन्दगीमा भेटेका मानिस उनले बिर्सिन थालिसके, आँखा कम देख्न थालिसके, कान पनि कम सुन्छन्, तर माधवीका कुनै प्रसंग बिर्सिएका छैनन् ।
पञ्चायतले बन्द गराइदिएको पत्रिका 'समीक्षा' चलाउन उनले अनेका प्रयास गरिरहेका थिए। पटक–पटक बन्द हुँदै चल्दै गरेको यो पत्रिका छोड्ने मन थिएन। जति प्रयास गर्दा पनि तत्कालीन सञ्चारमन्त्री नगेन्द्रप्रसाद रिजाल उनलाई पत्रिका सञ्चालन गर्न दिन तयार भएनन्। पत्रिका बन्द हुने निश्चित भयो। पत्रिका चलाउन नसकेपछि उनलाई एक किसिमको असन्तुष्टि र हिनताबोधले सताइरह्यो। मनमा छटपटी थियो तर कस्तो छटपटी हो भन्ने उनले ठम्याउन सकेका थिएनन्।
यही छटपटीमाझ २०३४ मंसिर मसान्तका दिन उनको मनमा अनौठो विचार आयो। उनले आत्मदाह गर्ने निधो गरे, त्यो पनि नारायणहिटी दरबारको दक्षिण ढोकाअगाडि।
राति नै उनले नेपालमा भएका केही विदेशी पत्रकारलाई फोन गरेर निम्ता गरिसकेका थिए– 'भोलि साढे चार बजे नारायणहिटी दरबारको दक्षिण ढोकाअगाडि आउनू। त्यहाँ विशेष केही हुनेछ।'
भोलिपल्ट पुस १ गते थियो, अर्थात पञ्चायत स्थापना दिवस।
त्यो दिन बिहान उनी आफ्नो नियमित समय साढे चार बजे नै उठे। उठ्दा उनको मन निकै हलुंगो भएको थियो। एउटा निकास पाएजस्तो। उनलाई लाग्यो, 'समीक्षा बन्द गराउने अपराध मैले गरेको होइन भने यसको सजाय मैले आफूलाई किन दिने?'
उनले आफ्नो निर्णय बदले।
'तिमी मेरो अखबार खोस्न सक्छौ तर मेरो कलम र चिन्तन खोस्न सक्दैनौ। म नेपालमा हुँदै नभएको, बिल्कुल नयाँ कुरा लेखेर देखाउँछु भन्ने सोचेर माधवी लेख्न थालेँ,' उनले सुनाए। उनले आत्मदाहको सट्टा माधवी रोजे।
त्यसैले, उनी भन्छन्, 'माधवी पञ्चायतले जन्माइदिएको इखको परिणाम हो।'
यसरी २०३४ पुस १ गते दिउँसो माधवी लेखन सुरु भयो। पहिलो दिन नै २० पृष्ठ लेखे। पूरै लेख्न पाँच वर्ष लाग्यो। २०३९ पुसमा पूरै किताब लेखिसक्दासम्म उनले ११ सय पृष्ठको पाण्डुलिपि छपटक पुनर्लेखन गरेका थिए। चौथो, पाँचौं र छैटौंपटक लेखिएका पाण्डुलिपिबाट केही अंश लिएर अन्तिम पाण्डुलिपि तयार पारे।
यो पुस्तकको सुरुका केही अध्याय उनले आफैंले लेखे। पछि तलब दिएरै लेख्ने मान्छे खटाए। उनी वेदव्यास जस्तो कथा भनिरहन्थे, उनको छेउमा बसेर अर्को मान्छे गणेशले झैं लेखिरहन्थ्यो। उनी प्रत्येक दिन तीन घन्टा यसरी नै लेखाउँथे। कहिलेकहिले एकैदिन ९० पृष्ठसम्म लेखाउँथे। पाँच वर्षको यस्तै मेहेनतपछि एउटा शक्तिशाली नेपाली उपन्यास जन्मियो।
माधवीलाई सबैभन्दा राम्रो, सबैभन्दा स्तरीय र उत्कृष्ट नेपाली उपन्यास मान्ने पाठक र समालोचक धेरै छन्। साझा प्रकाशनले २०३९ चैत मसान्तका दिन प्रकाशित गरेको यो किताबले मदन पुरस्कारसमेत प्राप्त गर्यो।
एकदिन केदारमान व्यथितले मदनमणिकै सामुन्ने कमलमणि दीक्षितलाई भने, 'कमलबाबु! माधवीलाई मदन पुरस्कार दिएँ भनेर मदन पुरस्कारको इज्जत बढ्यो भन्ने नठान्नु। तिम्रो मदन पुरस्कारभन्दा निकै माथिल्लो स्तरको छ माधवी।'
माधवीको प्रसिद्धी र चर्चाका विभिन्न कारण छन्। यो उपन्यासलाई यति शक्तिशाली बनाउने एउटा पक्ष यसको विराट 'सेटिङ' हो। यत्तिको विराट सेटिङमा यसपछि त अर्को नेपाली उपन्यास लेखिएको छैन भने ०३९ सालमा त यो बिल्कुलै नयाँ थियो। उपन्यासमा उनले तीन हजार वर्ष पहिलाको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गण समावेश गरेका छन्। प्रत्येक राज्य र गणको आर्थिक, सामाजिक र राजनीतिक अवस्था उनले सफलतापूर्वक चित्रण गरेका छन्।
उपन्यासको मुख्य ध्येय पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मुलन भयो भन्ने देखाउनु हो। तीन हजार वर्ष पहिलेको भारतीय समाजमा दासप्रथा उन्मुलन हुनसक्छ भन्ने धेरैले कल्पना पनि गर्न सक्दैन थिए। उपन्यासका कतिपय पात्र प्रश्न गर्छन्, 'दास भएनन् भने हामीले खाने अन्न कसले उब्जाउँछ? कपडा कसले बनाउँछ? हामी भोकै बस्ने?'
एकातिर महर्षि विश्वमित्र महायज्ञबाट दासप्रथा विमोचन गराउने तयारीमा छन्। तर, विभिन्न राज्यमा दास विमोचनको काम भइरहेको छ। विश्वमित्रले तयारी गरिरहँदा कतिपय राज्य दासविहिन भइसकेका छन्।
दासप्रथा विमोचनको कुरा भएकाले कतिपय आलोचकले हाबर्ड फ्रस्टको स्पार्टाकसबाट प्रभावित भयो पनि भन्दा रहेछन् दीक्षितलाई । तर उनी यो कुरा स्वीकार्न तयार छैनन्। 'मैले स्पार्टाकस माधवी लेख्न थालेपछि पढेको हुँ। त्यहाँ पनि दास विद्रोहको कुरा त छ तर माधवी स्पार्टाकसभन्दा दुई हजार वर्ष पुरानो कुरा हो। फेरि पश्चिमको र पूर्वको दासप्रथा र उन्मुलनको चरित्र भिन्न छ।'
बरु रुसी लेखक लियो टोल्सटोयको एन्ना करेनिना र अमेरिकी लेखक मिचेल मार्गरेटको 'गन विद द विन्ड' बाट प्रभावित भएको उनी ठान्छन्। 'लेखन शैलीमा म एन्ना करेनिना र गन विथ द विन्डबाट प्रभावित छु,' उनी भन्छन्, 'उनीहरूले आफ्नो समयको समाज लेखेका छन्। मैले त तीन हजार वर्ष पूर्वको समाज उपन्यासमा निर्माण गरेको छु।'
तीन हजार वर्षअघिको उत्तरभारतीय समाजको राजनीतिक, सामाजिक, आर्थिक अवस्था देखाउन उनले गालब र माधवीको प्रेमकथालाई माध्यम बनाएका छन्। दीक्षित भन्छन्, 'यो प्रेमोख्यान होइन, सामाजिक वा राजनीतिक उपन्यास पनि होइन। यो तीनै पक्षको समान सम्मिश्रण हो। तीनमध्ये एक पक्षलाई हटाउने हो भने उपन्यास अपूर्ण हुन्छ।'
दीक्षितलाई लाग्छ, कथाको अन्त्यबाट उपन्यास सुरु भएकाले उपन्यासमा प्रवेश गर्न पाठकलाई गाह्रो लाग्न सक्छ।
उपन्यास माधवीका चार सम्राट पुत्रले संयुक्त रूपमा आयोजना गरेको यज्ञबाट सुरु हुन्छ। ७५ वर्षीया माधवी र ८० वर्षीय गालव यज्ञस्थलमा आइपुग्छन्। उनीहरूले ती सम्राटलाई सुनाएको गाथा नै माधवी उपन्यासको कथा हो। यसलाई अन्त्यमा राखेको भए सबै पाठकलाई बुझ्न सजिलो हुन्थ्यो जस्तो लाग्छ उनलाई।
महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथालाई नै उनले उपन्यासको रूप दिएका हुन् । गालबले आफ्ना गुरु विश्वमित्रसँग गुरुदक्षिणाका लागि हठ गर्छन्। गालबको हठबाट आजित भएर विश्वमित्रले उनलाई 'काला कान भएका चारवटा सेता घोडा ल्याउनू' भन्छन्। यो नै गालवसँग विश्वमित्रले मागेको गुरुदक्षिणा हो। विश्वमित्रले दासविमोचन (दासमुक्ति) महायज्ञ गराउन श्याकर्ण घोडा चाहेका हुन्छन्। महायज्ञमार्फत् भारतवर्षका सबै दासदासीलाई मुक्ति दिने तयारीमा विश्वमित्र हुन्छन्।
गालव गुरुदक्षिणाका लागि श्यामकर्ण घोडाको खोजीमा हिमालयको काखमा रहेको ययातीको मुलुक अहिछत्र पुग्छन्। राजा ययातीसँग श्यामकर्ण घोडा थिएनन्। उनले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन्।
श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ। यही सर्तमा माधवीलाई लिएर गालव अहिछत्रबाट विदा हुन्छन्।
उनीहरूको पहिलो यात्रा हर्यश्व राजा भएको अयोध्यामा हुन्छ। हर्यश्वसँग एउटा मात्रै श्यामकर्ण घोडा थियो। त्यसैले एक घोडाका लागि एक पुत्र जन्माउन माधवी तयार हुन्छिन्। हर्यश्वबाट माधवीले वसुमनालाई जन्म दिन्छिन्।
काशीमा गालवले दोस्रो श्यामकर्ण घोडा प्राप्त गर्छन्। काशी नरेश दिवोदास र माधवीबाट प्रतर्दनको जन्म हुन्छ। तेस्रो श्यामकर्ण घोडाका लागि उनीहरू भोजनगर जान्छन्। भोजनगरमा शिवीसँगको समागमबाट माधवीले शिवीलाई जन्मदिन्छिन्।
उनीहरूले चौथो श्यामकर्ण घोडा भेट्टाउन सक्दैनन्। तीनवटा श्यामकर्ण घोडा बुझाइसकेको गालवले चौथो घोडाको सट्टा माधवीलाई नै विश्वमित्रसमक्ष अर्पण गर्छन्। वृद्ध विश्वामित्रले आफ्ना भानिज प्रमतकलाई माधवीसँग सम्भोग गर्न लगाउँछन्। प्रमतक र माधवीबाट अष्टकको जन्म हुन्छ। पछि अष्टक चम्पा महाजनपदका सम्राट बन्छन्।
गुरुदक्षिणाको भारबाट मुक्ति पाएपछि गालव माधवीलाई ययाती दरबारमै फिर्ता गर्छन्। तर, ययातीले आयोजना गरेको माधवीको स्वयम्वरमा सहभागी हुँदैनन्। गालवलाई नदेखेपछि माधवी स्वयम्वर छाडेर वन प्रस्थान गर्छिन्। गालव पनि माधवीको खोजीमा वनवन भट्किरहन्छन्।
यस अवधिमा लेखकले अहिच्छत्र, अयोध्या, काशी, भोजनगरको सामाजिक र आर्थिक अवस्था चित्रण गरेका छन्। ती राज्यमा दासहरूको अवस्था कस्तो थियो भन्ने चित्रण गर्दै दास विमोचन गरेका राज्यमा कसरी दासहरूले मुक्ति पाए भन्ने देखाइएको छ।
बीचबीचमा विभिन्न गणको प्रसंग आउँछ। ती जनजातीय गणमध्ये कतिपयमा मातृसत्ता हुन्छ। उनीहरूका आर्थिक क्रियाकलाप पनि आदिम किसिमका हुन्छन्।
उपन्यासमा दीक्षितले थुप्रै उपकथा गाँसेका छन् भने अधिकांश शब्द माधवी र गालवका लागि खर्चिएका छन्। २५० भन्दा धेरै पात्र, फरक भौगोलिक परिवेश तथा विभिन्न धार्मिक सम्प्रदाय उपन्यासमा छन्।
दीक्षितले सम्झिए, 'यो उपन्यास अहिले लेखेका भए यत्ति ठूलो आकारको हुने थिएन। यी सबै कुरालाई यसरी संयोजन गर्न पनि सक्ने थिइनँ।'
छ पटक पुनर्लेखन र त्यसपछिको ३३ वर्षमा ९० पटक पढेछन् दीक्षितले यो उपन्यास।
उनी कथा र पात्रसँग यसरी जोडिए, पाण्डुलिपि पढ्दा धेरैपटक रोए। कहिले पात्रको दुःख देखेर रोए, कहिले लेख्दालेख्दै सोचेभन्दा कैयौं गुणा राम्रो लागेर रोए। उनी भन्छन्, 'मदनपुरस्कार पुस्तकालयमा पाण्डुलिपि छँदैछ। पाँचसय वटा पाना आंशुले भिजेका छन्।'
एक किसिमले उनको माधवीसँग लभ नै परेको थियो। उपन्यास लेखिसकेपछि पनि सपनामा 'माधवी... माधवी' भनेर बर्बराउँथे। ऐँठन हुन्थ्यो उनलाई सपनामा।
एकपटक मस्कोबाट लेनिनग्राद जाँदै गर्दा यस्तै भएछ। उनी रेलको माथिल्लो सिटमा थिए। त्यसको तल्तिर रुसी भाषाका इन्टरप्रेटर थियोे। राति त्यो दोभाषेले उनलाई झक्झकायो। उसले सोध्यो, 'ए दीक्षित! कोसँग कुरा गरिहेका छौ?'
'म त निदाइरहेको छु, कोसँग कुरा गर्नु?' उनले जवाफ दिए।
'मैले तिम्रो भाषा त बुझिनँ तर माधवी माधवी जस्तो के भन्दै थियौ।'
अनि पो दीक्षित झस्यांग भए।
अर्को एउटा कार्यक्रममा ओखलढुंगा गएका बेला उनले लामै समय माधवीसँग बात मारेछन्। भोलिपल्ट छेउमा सुतेका नगेन्द्रराज शर्माले सुनाउँदा थाहा पाएछन्। दीक्षितपत्नीले पनि धेरैपटक उनलाई सपनाबाट ब्युँझयाएकी छन्।
माधवी लेखनमा उनको समर्पण थियो, यो उनको साधनाको उपज हो।
तै पनि माधवी उनलाई सबैभन्दा मन पर्ने किताब होइन। उनलाई त आफूले लेखेकामध्ये सबैभन्दा मन पर्ने किताब 'मेरी नीलिमा' हो। भूमिसुक्त र त्रिदेवी पनि माधवी हाराहारीकै लाग्छ उनलाई। माधवीको जति चर्चा र प्रसिद्धी भने अरू पुस्तकले पाएनन्। यतिका पाठक र प्रशसंक कमाएनन्। अनि आलोचक पनि कमाएनन्।
माधवी साह्रै क्लिष्ट र नबुझिने छ भनेर धेरैले गुनासो गरेका छन् उनीसँग। 'मैले पढ्नै सकिनँ' भन्ने पाठक पनि धेरै भेटिसके उनले। उनलाई स्वाभाविक लाग्छ।
'प्राचीन समयमा मात्रै प्रयोग हुने संस्कृतका २५० शब्द मैले कौटिल्यको अर्थशास्त्रबाट लिएको छु,' उनी भन्छन्, 'ती शब्दपछि संस्कृतमै पनि उति चल्तीमा रहेनन्।'
अरबी फारसी शब्द पनि प्रशस्तै प्रयोग गरेका थिए उनले। यी शब्दले पनि उपन्यासलाई अप्ठ्यारो बनाएका थिए। २०६७ सालमा पाँचौं संस्करण प्रकाशन गर्नुअघि व्याकरणीय त्रुटी सच्याउने सल्लाह भएछ।
'पहिलोपल्ट ४५ सय प्रुफमिस्टेक पाइयो। तिनलाई सच्याएर हेर्दा फेरि २५ सय मिस्टेक पाइयो।' उनका अनुसार ती सबै गल्ती अरबीफारसी शब्दमा नै भएका थिए। त्यसपछि उनले सकेसम्म अरबीफारसी शब्द पुस्तकबाट हटाएका छन्।
उपन्यासमा ऋगवेदका मात्रै ५५ वटा सुक्त उद्धृत गरिएको छ। उपनिषदका सुक्तहरू पनि छन्। आजभन्दा तीन हजार वर्षअघि प्रयोग हुने संस्कृत शब्दका कारण यो उपन्यासको भाषा निकै जटिल भएको हो। तर दीक्षित भन्छन्, 'त्यो नभएको भए माधवी जन्मिने नै थिएन। तीन हजार वर्ष पहिलाको समाजलाई देखाउन सक्ने नै थिएन।'
यो उपन्यासको स्तरीय अनुवाद गरेर हिन्दी एवम् अंग्रेजीमा प्रकाशन गर्न पाए हुने भन्ने उनलाई छ। तर अनुवादका लागि उपयुक्त व्यक्ति उनले भेटेका छैनन्।
...
पञ्चायत र नगेन्द्रप्रसाद रिजालसँगको इखका कारण उनले माधवी लेखेका हुन्। समीक्षा बन्द नभएको भए उनी यता लाग्ने थिएनन्।
यो उपन्यास पञ्चायती शासन व्यवस्थाको विरोधमा लेखिएको हो?
जवाफमा उनी धेरैबेर मौन बसिदिए। प्रस्ट शब्दमा उनले स्वीकार गर्न चाहेनन्। केही बेरपछि भने, 'साहित्यिक सिर्जनामा लेखकको मनोभाव जोडिएकै हुन्छ। त्यो संसारका महानभन्दा महान लेखकको सिर्जनामा पनि हुन्छ।'
यो उपन्यासले पूर्वीय समाजबाट दासप्रथा उन्मूलन भएको देखाएको छ। त्यतिबेला पञ्चायती शासन व्यवस्था थियो जसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरिरहेको थियो।
'मानिसको चेतनाअनुसार व्यवस्थामा परिवर्तन भइरहन्छ,' उनले भने।
सबै तस्विरहरूः नारायण महर्जन