छोरा दस वर्षपछि घर फर्केको छ। फर्कंदा न घर छ, न त बुबा। भुइँचालोले सबै लथालिङ्ग। आमाको पनि खुट्टा भाँचेर बिचल्ली। त्यसमाथि पाचँपोखरी हिँडेर जाने रहर।
यता छोरालाई गाउँमा बस्नै मन छैन। आमालाई सहरमा लगेर सुखसँग पाल्ने उनको धोको छ। आमा भने पुर्ख्यौली घर नछाड्ने ढिपी लिएर बसेकी छन्।
‘कथा ७२’ को यो कथा छोरा र आमाबीच मनोवैज्ञानिक मनमुटावमा आधारित छ। प्रवीण स्याङ्बोको निर्देशनमा बनेको यो फिल्म २०७२ को भुइँचालोले हल्लाइदिएको जिन्दगीमा बनेको छ।
तीन वर्षअघिको उक्त भुइँचालोले ठूलो जनधन क्षति पुर्यायो। धेरै सम्पदा विनाश भए। पत्रपत्रिकामा मृत्युको खबर सस्तो भयो। त्यसै क्रममा प्रवीणले एउटा भत्किएको घरमा सानी बच्चीले किताब खोजिरहेको तस्बिर देखे। उनलाई पत्रिकामा छापिएको त्यो तस्बिरले प्रेरणा दियो।
‘मलाई भुइँचालोको त्यो क्षण कलामा उतार्न मन थियो। कसरी गर्ने विचार आएको थिएन,’ उनले भने, ‘ती बच्चीको फोटो देखेर मलाई मानिसको भावना कथामा उतार्न मन लाग्यो।’
१९९० सालको भुइँचालो थोरैलाई थाहा छ। यादहरू धमीला भइसके। मानवीय र भौतिक क्षतिको प्रतिवेदन कम छ। त्यही भएर आउने पुस्ताका लागि २०७२ को भुइँचालो सम्झना जोगाउन ‘कथा ७२’ बनाएको प्रवीण बताउँछन्।
प्रवीणले यसअघि तीनवटा ‘एक्सपेरिमेन्टल फिल्म’ बनाएका थिए। ‘कथा ७२’ उनको कथानक कोशिस हो। यसमा उनले भुइँचालोको भौतिक क्षतिका साथै मानसिक आघात देखाएका छन्।
फिल्ममा दुई मुख्य पात्र छन्। आमा सुनमाया र छोरा पाल्देन। सिन्धुपाल्चोकको भोताङ गाउँमा यिनको घर थियो। पुर्खौंदेखि त्यहीँ बसोबास गर्दै आएका थिए। भुइँचालोले घर केही बाँकी राखेन।
छोरा पाल्देन दस वर्षपछि घर फर्किएका हुन्छन्। गाउँको बिजोग र आमाको दुःखले पिरोलिन्छन्। विदेशको रहनसहनले उनको घरप्रति मोह हराइसकेको थियो। उनी सोच्छन्, ‘यसरी सजिलै टुक्रिने नाजुक घरको के नै अर्थ छ र।’
सानो झुपडीमा दुःखसँग बस्नुको पीडाले पाल्देनको मनमष्तिस्क विदेशतिरै आकर्षित हुन थाल्छ। भुइँचालोको विनाशपछि उनी नेपालमा भविष्य देख्न छाड्छन्। अर्काको देशमा अवसर पाउने आशा गर्दै नेपालमा आफ्ना अन्तिम दिनहरू प्रियजनसँग बिताउने निधो गर्छन्।
यही भेटघाटमा उनको जिन्दगीले अर्कै मोड लिन पुग्छ।
आठ वर्षको अन्तरालपछि भेट भएकी बहिनी, हजुरबुबाको अन्तिम संस्कार र आमासँग पाँचपोखरी यात्राले पाल्देनको घरप्रति धारणा बदलिन्छ।
आखिर के हो घर? यो प्रश्नको उत्तर उनले कहिल्यै भावनात्मक ढंगले विचार गरेनन्। तर, आफ्ना प्याराहरूसँग बिताएको पलपछि मात्र उनलाई घरसँग गहिरो अपनत्व महशुस हुन थाल्छ।
छ वर्षपछि निर्देशनमा फर्किएका उनले यस फिल्मका निम्ति दुई वर्ष बिताए। ‘आमाको भूमिकाका लागि मान्छे खोज्न गाह्रो भयो,’ उनले भने, ‘फिल्म तामाङ समुदायमा आधारित हुँदा तामाङ कलाकार भेट्नै सकिएन।’
यसरी तयार भएको यो फिल्म छ महिना गाउँघरतिर गएर देखाउने प्रवीण बताउँछन्। भन्छन्, ‘यसले वैदेशिक रोजगारका लागि विदेशिन लागेका युवा पुस्तालाई आफ्नै गाउँमा काम गर्न प्रोत्साहन गर्ने छ।’