फिल्म 'मिरमिरे' मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्ध भएकी छन्। दयाहाङ राई र प्रकाश सपुतपछि फिल्ममा उनको प्रवेश भएको हो।
सिर्जनाले यसअघि 'कार्साङ' फिल्ममा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन्। जहाँ उनको अभिनयको तारिफ समेत भएको थियो।
पहिलो फिल्ममा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो फिल्ममा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन्।
फिल्ममा जोडिएसँगै उनले भनिन्, 'मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु। महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु। यो विश्वासका लागि निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु।'
उनले उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन्।
'मिरमिरे' मा उनको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारहरू को–को हुनेछन् भन्नेबारे पनि जानकारी दिइएको छैन।
'मिरमिरे' यम शेर्पाको निर्देशनमा बन्नेछ। उनले फिल्म राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन्। फिल्मको कथा पनि यम शेर्पा स्वयंले लेखेका छन्।
'मिरमिरे' को निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल छन्।
'मिरमिरे' लाई २०८२ मा रिलिज गर्ने घोषणा भए पनि प्रदर्शन मिति तय छैन।