हरेक मानिस आफ्नो रुचीको क्षेत्रमा पहिलो बन्न चाहन्छन्। राजनीति होस् या शिक्षा, जतासुकै पहिलो बन्न चाहनेहरु लामबद्ध छन्। शिल्पी थिएटरमा बिहिबारदेखि यस्तै कथा भन्ने नाटकको मञ्चन सुरु भएको छ।
‘कथाघेरा’को प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘लाइन’ले त्यस्ता पाँच पात्रहरुको कथा भन्छ, जसको उद्देश्य नै पहिलो बन्नु हो।
नाटकले सुरुमा उनीहरु केका लागि लाइन लागिरहेका छन् भन्ने बताउँदैन, तर उनीहरुको उद्देश्य भने सुरुदेखि नै प्रष्टिन्छ। त्यो हो, पहिलो बन्ने।
[caption id="attachment_102376" align="alignnone" width="960"]
नाटकको दृश्यमा सुदाम सीके र लुनिभा तुलाधर। तस्बिर-आभाष कर्माचार्य[/caption]
अमेरिकी लेखक इज्रेल होरोभित्जले लेखेको नाटकलाई निर्देशक कार्कीले नै अनुवाद गरेकी हुन्।
भारतको बैङलोरस्थित क्राइस्ट युनिभर्सिटीमा साहित्य, मनोविज्ञान र थिएटर पढिरहँदा उनले यो नाटक पढेकी रहिछन्। मन परेपछि उतिबेलै उनले योजना बनाएकी रहिछन्, कुनै दिन मञ्चमा प्रस्तुत गर्ने।
‘जुनसुकै क्षेत्रमा पनि मानिसहरु पहिलो बन्ने होडबाजीमा हुन्छन्,’ सेतोपाटीसँग उनले भनिन्, ‘कतिलाई त आफू केका लागि यस्तो दौडमा छु भन्नेसमेत थाहा हुँदैन। जतिबेला म भारत गएको थिएँ, मानिसले एक–अर्काको खिचातानी गरिरहेको नजिकबाट अनुभव गरेँ। मानिसका यिनै स्वभावलाई व्यक्त गर्ने एउटा सशक्त माध्यम नाटक नै हुन्छ भन्ने सोचेर नै यसलाई मञ्चमा उतार्ने योजना बनाएको हुँ।’
नाटकमा पहिलो बन्ने होडबाजीमा रहेका पात्रहरु लाइन हराएपछि पनि लाइनको खोजी गर्दै अल्झिरहेका देखिन्छन्।
नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुनिभा तुलाधर, सन्देश शाक्य र सरोज आर्यालको अभिनय हेर्न सकिन्छ। आकांक्षाको भनाइमा जतिबेला उनी नाटकको अनुवाद गर्दै थिइन्, यिनै कलाकारको अनुहार उनको दिमागमा नाच्दै थिए। ‘अहिले कति खुसी छु भने नि मैले जो–जो कलाकारलाई अभिनय गराउने सोचेको थिएँ, उहाँहरु सबै तयार हुनुभयो,’ ६ महिना लगाएर नाटक अनुवाद गरेकी आकांक्षा भन्छिन्, ‘यी पाँचै जना कलाकारमध्ये एकजनाको पनि समय नमिलेको भए यो नाटक अहिले नै मञ्चन हुन्थेन होला।’
[caption id="attachment_102378" align="alignnone" width="960"]
नाटकको दृश्यमा सरोज अर्याल र सुदाम सीके। तस्बिर-आभाष कर्माचार्य[/caption]
केही संवाद र दृश्यका कारण यो नाटक हेर्न १६ वर्ष मुनिका बालबालिकालाई निषेध गरिएको छ। कार्कीलाई अनुवाद गर्ने क्रममै यस्ता दृश्यहरुले सोच्न बाध्य बनाएको रहेछ। नाटकमा समावेश यौनजन्य दृश्यलाई देखाउने कि नदेखाउने, देखाए कसरी देखाउनेजस्ता कुरा मनमा खेलेको उनले बताइन्।
‘थुप्रैपटक सोचेपछि मैले के निर्णय लिएँ भने समाजमा यति विकृति छन् भने मैले त्यही कुरालाई किन सेन्सर गर्ने?’ उनले भनिन्।
भुइँचालोपछि नेपाल आएर रंगकर्ममा निरन्तर सक्रिय आकांक्षाले हालै गुन्जन दीक्षितको सहकार्यमा कथाघेरा नाट्समूह खोलेकी छन्। गत मार्चमा मञ्चनमा आएको ‘योनीका कथाहरु’ कथाघेराको पहिलो प्रस्तुति हो।
नाटक ‘लाइन’ मंसिर ३ गतेसम्म चल्नेछ।