काठमाडौँ रविभवनस्थित आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले यौनदुराचार गर्न बाहिर मान्छे पठाउने गरेको खबर पत्रिकामा छापिएपछि उनले पत्रकार सम्मेलन गरेर आफूले त्यसो गरेको भए प्रमाणित गर्न चुनौती दिएकी छन्।
जुन अडियोलाई प्रमाण मानेर समाचार लेखिएको छ, त्यो कुराकानी सही भएको तर आफूले यौन दुराचार गर्न नभई राधिका मानन्धर भन्ने वृद्धालाई रातीमा हेरविचार गरी सँगै सुत्न पठाउने गरेको बताइन्। पत्रकार सम्मलेनमा दिलशोभाले यस्तो भनिन्:
'आजको पत्रिकामा जे आएको छ बालबालिकालाई क्राइटेरिया पुर्याएर मैले राख्न सकिन, मलाई केही कानुनका कुरा थाहा छैन,' उनले भनिन्, 'तर मैले बुझिन यौन दुराचार गरेको भनेको के हो? मलाई यौनदुराचार गरेको भनेकोमा साह्रै दुख लागेको छ।त्यस्तो लेख्ने को हो मलाई चिनाइदिन पर्यो। मैले आफूले आश्रय दिएर राखेका कसैलाई पनि काम गर्न बाहिर पठाएको छैन तर काम गर्ने धर्मकुमारी थापाले भने एकजना धनी आमा छ, राधिका मानन्धर उनैकोमा गएर काम गर्छ। यी नानी यहाँ काम गर्न आएकी थिइन, ८ हजार तलब मागेकी थिइन् तर मैले पाँच हजारभन्दा बढी दिन सकिन। त्यो राधिका आमाका छोराछोरीले यहीँ कोही मान्छे पठाएर हेरविचार गरिदेउ भने अनि मैले यसलाई पैसा दियौ भने काम गर्छे भनेर पठाएकी हुँ। उनले यसलाई पठाउँदा उसले माया गर्छ त भनेर सोधिन अनि मैले तपाईँले यसलाई माया गरेर पैसा दिनु भयो भने तपाईँलाई बेलुका खाना खुवाउन आउँछ, राति सँगै सुत्छ र बिहान पनि चिया खुवाएर आउँछ पनि भनेकी हुँ।उनीहरुले यिनलाई नचिनेको भएर मैले उसले कस्तो कपडा लगाएर आउँछ भनेर टेलिफोन गरेकी थिएँ।'
त्यसपछि राधिका मानन्धरकहाँ काम गर्न जाने गरेकी धर्मकुमारी थापाले बोलिन्, जो पहिले सिंहदरबार बैद्यखानामा सुरक्षा गार्डको काम गर्ने गर्थिन्। उनले आफू राधिका मानन्धरकहाँ स्याहार गर्न जाने गरेको यसरी बताइन्:
'पत्रिकामा यस्तो झुटो आरोप छापेकोमा दुःख लागेको छ, सरकारले जे लेखे नि हुन्छ भन्देको छ कि?' हाम्रो चाहिँ इज्जत हुँदैन? जसले जे लेखे नि हुन्छ? मैले यहाँ काम गर्न थालेको एक महिना भयो कालिमाटी त्यो आमाकहाँ जान थालेको माघ १६ गते देखि हो। जे पायो त्यही लेख्न त भएन नि। जस्ले त्यस्तो लेखेको हो उसले माफी माग्न पर्छ, खुट्टा ढोगेर माफी माग्न पर्छ।'
उनले यसो भन्दा दिलशोभाले माफी र खुट्टा ढोगेर मात्र नहुने भनेकी थिइन्। फेरी दिलशोभाः
'राधिका मानन्धर जहिले पनि यहाँ आउँथिन, १५ दिन कहिले एक महिना बस्ने गर्थिन। यहाँ आएपछि उनी जानै मान्दिनन्। उनीहरु धनी छन् मैले गरिबआमाहरुलाई त राम्रो व्यवस्थासहित राख्न गाह्रो भैराखेको छ त्यो धनी आमालाई मैले कसरी राख्न सक्छु? अनि उनीहरु धनी भएकाले यहाँ राख्दा इज्जत पनि हुँदैन, बरु म त्यहीँ मान्छे पठाइदिन्छु भनेर यी नानीलाई पठाएकी हुँ। जहाँ गएर गरे नि, हामीले सेवा गर्ने त हो नि। आफूले त्यस्तो यौनदुराचार गर्न कसैलाई कतै पठाएको छैन। टेलिफोनमा त्यो आमाकहाँ यी नानीलाई कुराकानी हुँदा आफूकहाँ काम गर्ने संगीता तामाङ, अप्सरा गुरुङ भएको र तिनैले मिडियामा यस्तो खबर पुर्याइिदएको हुनसक्छ। मलाई त यसरी फोनमा बोलेको आउँछ भन्ने नि थाहा छैन, यसमा (पत्रकारका रेकर्डर देखाएर) बोलेको आउँछ भन्ने चाहिँ थाहा थियो।'
'हो, बालबालिकालाई मैले राम्रोसँग राख्न सकिन। के के क्राइटेरिया पुगेन। मैले नितिनियम थाहा पाइन।त्यसमा मलाई दुख लागेको छैन। तर यौन दुराचार भनेको के हो र मैले कहाँ कैले गराएँ त्यो मलाई चाहिन्छ।'
'हो मैले बढीभएको चामल बेच्थेँ र अरु सामान किन्थेँ अरुले दिएका यस्ता सामान कुहीने डर हुन्छनी। बच्चाहरुको कपडा त नयाँ आएकै छैन त्यस्ता सामान मैले कहिले बेचेको छैन।'
'उँहाहरु आएर राम्ररी पाल्छु तपाईँकोमा राम्रो भएन भनेर बच्चाहरु लगे त्यो पनि मेरै राम्रोका लागि होला। मलाई त्यसमा त्यति दुख छैन। मैले सडकमा सुतेका बच्चाहरुलाई, आमाहरुलाई उठाएर ल्याएकीँ हुँ। मैले त्यसरी सडकमा सुतेका बच्चा र बुढीआमाहरुलाई देख्न सक्दीन। यहाँ बस्नलाई कसैको सिफारिस चाहिँदैन नागरिकता चाहिँदैन। आमाकोमा आउन कुनै धर्म जातको मान्छे भनेर भेदभाव हुँदैन तर मान्छे सडकमा सुत्न चाँही भएन। त्यस्तो देखे मैले लिएर आउँछु।'
यहाँ दुईजना स्टाफ थिए, संगीता तामाङ र अप्सरा गुरुङ। अप्सरा गुरुङ त खै कुन एनजीओ छोडेर यहाँ काम गर्छु भनेर आएको हो। उ आउने बेला मलाई दशपन्ध्रहजार देउ मैले एनजीओमा धेरै पैसा कमाउँथे तर यहाँ म सेवा गर्छु भनेर आएकी हुँ भन्थिन्। तर मैले बढीमा ८ हजार भन्दा दिन सक्दैनथिएँ। दिइन। पछि त उसले म यहाँ डाटा कलेक्सन गर्न आएको हुँ भन्थी। पैसा बढाइदे पनि भनेको थियो। पछि त्यो बाल कल्याण समितिको अफिसरले मलाई काम गर्ने बैनीलाई पनि काम गर्न नदिएर निकाल्नु भो भनिन। उसले व्यवस्थित गर्छु भनेर आएको थियो तर राम्रोसँग काम गर्न भने नसकेर गएको हो।'
प्रस्तुति: शोभा शर्मा /तस्विर प्रकाश लामा/ सेतोपाटी