बाइबलमा जिसस क्राइस्टले भन्नु भएको छ-'किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केहि छैन । 'मत्ती १०:२६'
आज बिहानैदेखि सबैजसो संचारमाध्यमहरु दिलशोभा श्रेष्ठ अनि उहाँद्वारा संचालित आमाघरका विषयमा विभिन्न चर्चा परिचर्चा गर्न मै ब्यस्त रहे।
कोहि कसैले गरिदिएको उजुरीकै आधारमा प्रमाणित कुरा झैं गरेर पत्रकारहरुले आफ्नो परिचय दिन पनि भ्याए।
निश्चय नै कानुन भन्दा माथि कोहि पनि छैन, मानवता बिरोधि काम गर्ने जो कोहि पनि दण्डित हुनु नै पर्छ।
पहिलो दिलशोभाले यौनकार्यमा लगाउन आफूकहाँ आश्रितहरुलाई अरुकोमा पठाउने गरेको र दोस्रो त्यहाँका बच्चाहरुलाई उचित बातावरण र सेवासुविधा प्रदान नगरेको।
यौन शोषणको कुरा विस्तृत छानबिनपछि पत्ता लाग्ने कुरा भयो। यदि यो सत्य रहेछ भने कसलाई कसकहाँ पठाएको हो त्यो पनि खुलस्त होला, पीडितहरुले यथार्थ साक्षि देलान् र दिलशोभा श्रेष्ठको गल्ति पत्ता लाग्ला र उहाँलाई आवस्यक कारबाही होला ।
त्यतिबेला पत्रकारले पनि खुलेर लेख्दा कसैको चित्त दुखाइ नहोला, दिलशोभा श्रेष्ठका गतिबिधिका बिरोधमा कमेन्ट गर्दा पनि कसैले चित्त दुखाउने ठाउँ नरहला, तर अहिले नै नानाभाती टिप्पणी गर्दा अलि हतार नै हुन पनि सक्छ।
दोस्रो कुरा आयो उचित सेवासुविधा नदिएको भन्ने बारेको ।
त्यसमा चाहिं सबैले ध्यान पुर्याउनुपर्छ।
कुनै बाबाको आश्रमलाई करोडौं अनुदान दिन सक्ने सरकारले त्यस्ता सामाजिक संस्थाहरुलाई किन सहयोग गर्न सकेन ? आमा घर मात्रै नभएर अरु दर्जनौं सामाजिक संघसंस्थाहरुलाई उचित सहयोग गरेर समय समयमा छड्के अनुगमन
गर्न नसक्नुमा पनि सरकार तथा केन्द्रीय बालकल्याण समितिको दोष छ । एकै ठाउँमा ७०/८० जना मान्छे बस्ने गरेको कुरा त सबैलाई थाहा भएकै हो पहिले देखि नै ।
पक्कै पनि ४-५ जनाको परिवार बसेको जस्तो अवस्था त हुँदैन नै ।
बाइबलले भने जस्तै सत्य कुरा पक्कै पनि मेटिएर जाँदैन, त्यो केहि समय ढाकिएला, छोपिएला तर सधैंको निम्ति बिलाएर जाँदैन । दिलशोभाले गल्ति गरेकै हुन् भने उनि स्वतस् कारबाहीको भागिदार पनि हुन्, त्यसको निम्ति भैराखेको
अनुसन्धानलाई कुरेर मात्रै आफ्नो तर्फको टिप्पणी गर्ने हो कि ?
जगदीश पोखरेल, गोंगबु काठमाडौं