सरकारले दिएको ‘सम्मान’ अपर्याप्त र अपमानजनक भएको आरोपसाथ पूर्वप्रधानमन्त्री मरिचमान सिंहका परिवार, आफन्त र मलामीहरूले त्यसलाई अस्वीकार गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व प्रधानमन्त्रीलाई ‘अन्तिम सलामी’ चढाउन बागमतीपारि तैनाथ नेपाल प्रहरीको टुकडी तनावबीच निर्देशित कार्य सम्पादन नगरी फर्किएको थियो । प्रहरी टोली ‘बिगुल’सहित फर्किएपछि मात्र पूर्वप्रधानमन्त्रीको शव सयपत्री फूलका मालाहरूले सजिएको चितामा राखिएको थियो ।
‘विदेशी दलाल सरकारले राष्ट्रवादी नेतालाई अपमान गर्न पाउँदैन,’ ‘यो सम्मान खिलराज रेग्मीले आफ्नै लागि राखुन्,’ जस्ता कठोर नारा र अभिव्यक्ति गुन्जिन थालेपछि महानगरीय प्रहरी आयुक्त नवराज ढकाल सिंह परिवारलाई तथा आफन्तहरूलाई सम्झाउन पुगेका थिए, तर भीडको ‘मुड’ कठोर देखेपछि प्रहरी टोलीलाई फर्किन आदेश दिइएको थियो ।
फोक्सोको क्यान्सरबाट ग्रस्त ७१ वर्षीय सिंह विगत तीन महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भए पनि स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि गत साता आफू ‘मातृभूमि नेपाल’ मा नै प्राण त्याग्न इच्छुक रहेको बताएपछि मंगलबार राति ‘एयर एम्बुलेन्स’ बाट स्वदेश फर्काई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका थिए ।
२०४५/०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीको डटेर सामना गरेका तत्कालीन प्रधानमन्त्री सिंहले त्यसबाट प्रभावित जनआन्दोलनको दबाबमा राजीनामा दिए पनि उनको ‘राष्ट्रवादी’ छवि यथावत रहिरह्यो । प्राण त्याग गर्न मातृभूमि चुनेपछि त्यो छविले अमरत्व प्राप्त गर्यो ।
बिहीबार विहान ३ बजे नर्भिक अस्पतालमा डाक्टरले उनको मृत्यु घोषणा गरेपछि बिहानै उनको पार्थिव शरीरलाई करिब ८ घन्टाका लागि धापासीस्थित निवासमा राखिएको थियो । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, माधवकुमार नेपाल, झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तथा पूर्वराजा ज्ञानेन्द्रका सहयोगी पशुपतिभक्त महर्जन पूर्वराजाको समवेदना र श्रद्धाञ्जली दिन धापासीस्थित उनको निवासमा पुगेका थिए । मंसिरमा घोषित निर्वाचनको बहिष्कारका पक्षका रहेको नेकपा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहित केन्द्रीय पार्टी पंक्तिको ठूलो हिस्सा त्यहाँ पुगेको थियो । राजनीतिक व्यक्तित्वहरूसँगै नेपाली सेनाका प्रमुख गौरवशमशेर राणा पनि उनको निवासमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।
निवासमै रेग्मीसँग आफ्नो कुरा भइसकेको र स्वर्गीय सिंहलाई ‘राजकीय सम्मान’ दिइने घोषणाका साथ माओवादी अध्यक्ष दाहाल र भट्टराई त्यहाँबाट बिदा भएका थिए ।
तर, प्रधानमन्त्रीसँगै रक्षामन्त्रीको कार्यभारसमेत सम्हालेका सिंहलाई सेनाको सलामीसमेत नदिने निर्णय गरेपछि आर्यघाटमा उपस्थित भीडले त्यसको विरोध गरी प्रहरी सलामी अस्वीकार गरेको हो ।
यसअघि सरकारले ढिला गरी उपचारका नाममा ५ लाख रुपैयाँ पनि सिंह परिवारले फिर्ता गरेको थियो । ‘दिल्लीबाट एयर एम्बुलेन्स ल्याउँदा मात्र ९ लाख भारु खर्च भएको थियो । नेपाली जनताबाटै पनि सहयोग जुटिरहेको बेला सरकारले अपमानजनक ढंगले दिएको सहयोग र सम्मान फर्काउनु नै उचित थियो,’ सिंह परिवारका मित्र तथा एक उद्यमीले सेतोपाटीसँग भने । सरकारको सम्मान अस्वीकार गर्ने स्वस्फुर्त निर्णयसँगै आर्यघाटबाटै केही युवाहरूले ‘राष्ट्रिय झण्डा’ त्यहाँ पुर्याए ।
राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले राष्ट्रिय झण्डा सिंहको पार्थिव शरिरमा ओढाएपछि मात्र सिंहलाई दागबत्ती दिइएको थियो ।
स्वामिभानयुक्त र पाखण्डरहित मानिने सिंह विगत केही वर्ष कुखुरापालनमा समेत थिए । यता आएर प्रत्यक्ष राजनीतिमा संलग्नता नदेखाए पनि निर्मल निवासमा पूर्वराजासँग नियमित भेटघाट जारी रहेको र एकीकृत नेकपा (माओवादी) र नेकपा माओवादीका शीर्ष नेताहरुलाई राष्ट्रियताको धार छाडेकाले त्यसमा समीक्षा र सुधार गर्न आग्रह गर्दै आएका थिए ।
सिंहले बरोबर आफू भारतविरोधी नभएको तर भारतले नाकाबन्दी मार्फत् नेपालको प्राकृतिक स्रोत र सुरक्षामा आफ्नो वर्चस्व स्थापित गरी नेपालको सार्वभौमसत्तामा आघात पु¥याउन खोजेकोमा त्यसको विरोध गरेको अभिव्यक्ति लगातार दिँदै आएका थिए, प्राप्त सबै फोरम र सामाजिक भेटघाटमा ।
सल्यानमा जन्मेका सिंह विक्रम संवत २०१८ देखि राजनीतिमा संलग्न भएको र २०२९ मा राष्ट्रिय पञ्चायत सदस्य र २०३८ मा त्यसको अध्यक्ष बनेका थिए । २०४३ जेठदेखि २०४६ चैतसम्म उनी प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित समाचारहरु
‘जसले नेपाललाई भुटान बन्न दिएनन्’