छयालीस साल इतिहासकै एउटा कठीन समय हो । अझ पञ्चायतकालीन प्रधानमन्त्रीका रूपमा मरिचमान सिंहका लागि त त्यो महत्वपूर्ण परीक्षाकै घडी थियो ।
एकातिर भारतले आर्थिक नाकाबन्दी गरिरहेको थियो, अर्कातिर आन्दोलनकारी शक्ति परिवर्तनका लागि लडिरहेको थियो । सिंह त्यस्तो बेला सुझबुझपूर्ण ढंगले दुवै समस्यासँग प्रभावकारी ढंगले जुध्नुभयो ।
आर्थिक नाकाबन्दीका बेला भारतीय विदेश सचिव एसके सिंह नेपाल आए र नेपाली विदेश सचिव नरेन्द्रबिक्रम शाहसँग भेट गरे । भारतीयहरू नेपालको संकटमा फाइदा उठाउन चाहन्थे । विदेश सचिव सिंहले यस्तो सन्धिको प्रस्ताव ल्याएछन् जसअनुसार नेपालको आर्थिक नीति, जलस्रोत नीतिलगायत सबै महत्वपूर्ण क्षेत्रमा भारतको नियन्त्रण हुन्थ्यो । सन्धिको मूल आशय नेपाललाई भारतीय प्रभाव क्षेत्रमा राख्नु थियो ।
नेपाली विदेश सचिव शाहले यसबारे प्रधानमन्त्री मरिचमान सिंहलाई ब्रिफ गरे । जवाफमा प्रधानमन्त्री सिंहले एक लाइन भन्नुभयो, ‘यो प्रस्तावमा केही कमेन्ट आवश्यक छैन, तपाईंले भारतीय विदेश सचिव सिंहलाई प्रस्टसँग भन्दिनुस्, यो डकुमेन्टमाथि कुनै छलफल हुन सक्दैन ।’
बहुदलको आन्दोलन चरमोत्कर्षमा पुगेको यस्तो बेलामा पनि सिंह भारतसँग गल्नुभएन । बरु परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा गरेर सरकारलाई असजिलो पार्नुभयो ।
बहुदलका लागि लडिरहेका आन्दोलनकारीले आर्थिक नाकाबन्दीको फाइदा लिइरहेका थिए भने भारत सरकार संकटका बेला नेपालको कतिपय महत्वपूर्ण क्षेत्रमा आफ्नो हैकम कायम गर्न चाहन्थ्यो । अत्यन्त संकटको बेला थियो त्यो जसलाई सिंहले प्रधानमन्त्रीका रूपमा सहजतापूर्वक व्यवस्थापन गर्नुभयो ।
उहाँले कहिल्यै राष्ट्रियतामा सम्झौता गर्नुभएन । राजा वीरेन्द्रको राष्ट्रवादी मार्गनिर्देशअनुसार सधैं काम गर्नुभयो । नाकाबन्दीको बेला भारतसँग जुधेको यो घटनाले उहाँलाई राष्ट्रियताको अग्निपरीक्षामा खरो उत्रन मद्दत पुर्यायो ।
सिंहले त्यसबेला प्रधानमन्त्रीका रूपमा जुन ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो, त्यसले उहाँलाई राष्ट्रवादी नेताको ठूलो परिचय दिलायो ।
सिंह सुरुदेखि नै मेधावी हुनुहुन्थ्यो । इमान्दार, कर्तव्यनिष्ठ र निष्ठावान् । स्नातक सकेर सल्यानकै विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । सुरुमा प्रगतिशील विचारधाराबाट प्रभावित भए पनि पछि पञ्चायती राजनीतिमा क्रियाशील हुनुभएको थियो । राष्ट्रिय पञ्चायतको अध्यक्ष, मन्त्री, पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष बन्दै २०४३ सालमा उहाँ प्रधानमन्त्री बन्नुभयो ।
जीवनकालभरि उहाँ बेदाग रहनुभयो । राजनीतिक विचार आफ्नो ठाउँमा छ, उनको चरित्रमा कसैले कहिल्यै प्रश्न उठाउन सकेन। राष्ट्रियता, प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति सदैव प्रतिबद्ध निष्ठावान व्यक्तिका रूपमा उहाँको सम्झना हुनेछ ।
उहाँको क्याबिनेटमा म २०४४ सालमा सञ्चारमन्त्री बनेँ । त्यतिखेर मेरो उमेर ३२ वर्ष थियो । त्यसअघि उहाँ पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष छँदा मैले सदस्यका रूपमा नजिक रहेर काम गर्ने मौका पाएँ । त्यसअघि उहाँ शिक्षामन्त्री छँदा म राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष थिएँ । उहाँ मलाई माया गर्नुहुन्थ्यो, विश्वास गर्नुहुन्थ्यो, आफूसँग काम गर्ने सबैलाई आदर र सम्मान गर्ने उहाँको बानी थियो ।
उहाँसँग मेरो निकट सम्बन्ध थियो । उहाँले मलाई अगाडि बढाउने चाहना राख्नुभएको थियो । उहाँले नै मलाई पहिलोपटक मन्त्री बनाउनुभएको हो ।
उहाँको प्रधानमन्त्रित्वकाल चार वर्षको रह्यो तर सधैं परीक्षाको घडी बनिरह्यो । पञ्चायती व्यवस्थाको अन्त्यकाल थियो । बहुदलवादीको निशाना बनिरहन्थ्यो सधैं सरकार । आर्थिक नाकाबन्दी भएपछि त उहाँ एकसाथ बहुलीय प्रजातन्त्रवादी आन्दोलनकारी र भारतसँग जुध्नुभयो । पेट्रोलियम पदार्थको हाहाकार र कालोबजारीका बेला उहाँले योजनासाथ काम गर्नुभयो । राजा वीरेन्द्रबाट उहाँलाई सधैं सहयोग भइरहन्थ्यो ।
आर्थिक नाकाबन्दीका कारण नेपाली जनतालाई व्यवहारिक समस्या नहोस् र स्वाभिमानमा ठेस नलागोस् भन्नेमा सिंह सदैव सचेत हुनुहुन्थ्यो । हवाईजहाजमा भए पनि तेल ल्याउने व्यवस्था गर्नुभयो । राजाको चाहनाअनुसार उहाँले जनतालाई असुविधा नहोस् भनेर निकै मेहनत गर्नुभयो ।
राष्ट्रिय पञ्चायतको अध्यक्ष होस् वा प्रधानमन्त्री छँदा, उहाँले जहिल्यै निष्कलंक र स्वच्छ छविका नेताका रूपमा आफूलाई बचाएर राख्नुभयो ।
उहाँले कहिल्यै सम्पत्ति आर्जन गर्नुभएन । धापासीको जग्गा थोरै पैसामा किन्नुभएको हो । त्यो घर पनि धेरै वर्ष लगाएर बनाउनुभएको हो । अहिलेसम्म त्यो घर पूरै बनिसकेको छैन ।
पञ्चायतका राजनेताहरूमा डा. तुलसी गिरीको कसैसँग तुलना हुन सक्दैन । उहाँ विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँको विद्धता, विश्लेषण क्षमता र बहुआयामिक व्यक्तित्व लोभलाग्दो थियो । सम्भवतः नेपालका प्रधानमन्त्रीमा बिपी कोइरालापछि सबैभन्दा क्षमतावान् डा. गिरी नै हो । उहाँहरूबाहेक सूर्यबहादुर थापा र कीर्तिनिधि बिष्ट कुशल प्रशासक हुन् । त्यसपछि मरिचमान सिंहकै नाम आउँछ । नेपालका ‘टप फाइभ’ प्रधानमन्त्रीमा पर्नुहुन्छ सिंह ।
मैले कुनै आग्रह–पूवाग्रह राखेको होइन, २०४६ सालपछिको राजनीतिमा यी पाँचजना जति प्रभावशाली प्रधानमन्त्री कोही छैनन् । मरिचमान सिंहपछि राष्ट्रवादी नेताको नेपालमा सधैं अभाव छ ।
उहाँको प्रधानमन्त्रित्वकालमा भारतले सरकारविरुद्ध अनर्गल मिडियाबाजी गथ्र्यो । सिंह जहिल्यै यसबिरुद्ध जुध्नुभयो ।
२०४६ चैत २३ गते आन्दोलन चरम उत्कर्षमा थियो । त्यो दिन क्याबिनेट बैठकमा म र डा. मोहम्मद मोहसिनले सिंहलाई भन्यौं, ‘तपाईंले राजालाई भन्नुपर्यो, सुधारको आश्वासन आन्दोलनकारीलाई दिनैपर्छ, तपाईंले राजालाई यो सल्लाह दिनुपर्यो।’
सिंहले रिसाउँदै हामीलाई भन्नुभयो, ‘राजालाई यो सब थाहा छैन होला ? मुलुकको अस्तित्वसँग गाँसिएको विषय भएकाले यो आन्दोलनमा राजाले केही गर्न मिल्दैन ।’ क्याबिनेट सकेर हामी घर फर्कियौं । साँझ फेरि प्रधानमन्त्रीले बोलाउनुभयो । उहाँले बडा रिल्याक्स्ड मुडमा हुनुहुन्थ्यो । दिउँसोको तनाव थिएन । उहाँले हामीलाई भन्नुभयो, ‘मैले राजीनामा गरेँ, सरकारले आफैं लिइबक्सने कुरा गरिबक्सेको छ ।’
मेरो विचारमा त्यतिखेर राजाले सत्ता आफैं लिएर आन्दोलनकारी दलहरूसँग वार्ता गर्ने तयारी थियो । तर, रातारात के भयो, भोलिपल्ट चैत २४ गते लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभयो ।
दुई दिनमा परिस्थिति झनै जटिल बन्यो । राजा चैत २६ गते आफैं बहुदल घोषणा गर्न बाध्य भए । राजाले गणेशमान, कृष्णप्रसाद, गिरिजा, सहाना र राधाकृष्ण मैनालीलाई बोलाएर बहुदल दिने निर्णय सुनाइदिए ।
गणेशमान र कृष्णप्रसाद पनि नेपालका सच्चा नेता हुन् जो जीवनभर निरन्तर प्रजातन्त्र र राष्ट्रियताका लागि लडिरहे । निष्ठाको राजनीतिमा मरिचमान र उहाँहरूलाई एउटै कोटिमा राख्न सकिन्छ । यीबाहेक मदन भण्डारी पनि करिस्म्याटिक थिए तर अल्पायुमै निधन भएकाले उनको वास्तविक परीक्षण हुन पाएन ।
अहिले त नेपालमा यस्ता नेता कहाँ छन् ? राजनीतिक संस्कार इतिहासमै सबैभन्दा न्यून भएको छ ।
नेपालमा राजनीतिक संस्कारको अभाव बहुदलको स्थापनापछि नै सुरु भएको हो । पञ्चलाई छुवाछुत,घृणा र पानी बाराबार गर्ने संस्कृति सुरु भयो । छयालीस सालअघिका पदाधिकारीलाई मान्यता नै नदिने प्रचलन आयो । छयालीस सालअघिका पदाधिकारीलाई सुरक्षा, सुविधा, मर्यादा केही पनि छैन । समारोहमा बोलाउँदा पनि भेदभाव गरिन्छ ।
बहुदलपछिका प्रधानमन्त्रीहरू जंगबहादुर राणाकै लहरमा, डा. तुलसी गिरी, मरिचमान सिंहकै लहरमा आफ्नो तस्बिर झुन्ड्याएर गर्व गर्छन् तर ती पुराना प्रधानमन्त्रीहरूलाई कुनै सम्मान गर्दैनन् । मैले अहिलेका नेताहरूमा पुराना नेताहरूप्रति प्रतिशोध, संकीर्णता र कुण्ठाको भावना पाएको छु ।
मरिचमान सिंह बिरामी भएर भारतको अस्पतालमा थला पर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, परराष्ट्रमन्त्री सलमान खुर्सिदले फूलका गुच्छा पठाएर स्वास्थ्य कामना गरे तर आज बिहान उहाँको निधन अघिसम्म कोही पनि सरकारी ओहोदाका व्यक्तिले भेटेर उहाँलाई स्वास्थ्यलाभको कामना गरेको मलाई थाहा छैन ।
यही हो राजनीतिक संस्कार ?
चार वर्ष देशको प्रधानमन्त्री भएको व्यक्ति ट्याक्सी चढेर हिँड्नुहुन्थ्यो । उहाँलाई सरकारले सुरक्षाको कुनै प्रत्याभूति दिन सकेको थिएन । डा. तुलसी गिरी, कीर्तिनिधि बिष्टलाई पनि सरकारले सुरक्षा दिनु पर्दैन ?
उहाँको गुणस्तरीय उपचार पनि हुन पाएन । सरकारले उहाँको उपचारमा कुनै भूमिका देखाएन । मृत्यु अवश्यम्भावी छ, एक दिन सबैले मर्नुपर्छ, तर सायद गुणस्तरीय उपचार पाएको भए उहाँको जीवन अझै केही वर्ष लम्बिन्थ्यो कि !
इतिहासमै राष्ट्रियता सबैभन्दा कमजोर भएका बेला राष्ट्रवादी नेताको एउटा विम्ब नेपाली राजनीतिले सधैंका लागि गुमाएको छ ।
मरिचमान सिंहलाई हार्दिक श्रद्धाञ्जली !
(राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापासँग मनोज दाहालले गरेको कुराकानीमा आधारित)
सम्बन्धित समाचारहरु
मरिचमानलाई दिएको सम्मान नरबहादुर कर्माचार्य सरह