नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको प्रकिया टुंगिन ढिलाइ हुनुको मुख्य कारण ‘एसम्यान’ को खोजी’ भएको टिप्पणी गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले एमम्यानको खोजीले अहिले संगठन बनाउने विषय उठाउँदा समेत नभएको बताए।
‘संगठन गर्नुपर्छ भनेर अहिले पनि उठाउँदा उठाउँदा पनि भैराखेको छैन’, नेता नेपालले भने, ‘पार्टी एकीकरण सक्न एक महिना पनि लाग्दैन। समस्या विधिबाट समाधान नखोज्दा भएको हो। एसम्यानको खोजीले समस्या भयो।’
नेता नेपालले पार्टी एकताको विधि र प्रक्रिया तय गर्न गठित कार्यदल विघटन भएकोप्रति समेत असन्तुष्टि व्यक्त गरे।
‘यत्रो ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिन्छ’, नेता नेपालले भने, ‘निश्चित मापदण्ड नबनाए कसैलाइ चित्त बुझाउन सकिन्न। नेता विशेष वा घटक विशेष सबैलाई समेट्न सकिदैँन। चित्त बुझाउन त अन्याय भएको छैन भन्ने पर्नुपर्छ।’
उनले नेकपाको विधानमा भएको पोलिटब्युरो गठन नभएकोमा समेत असन्तुष्टि जनाए।
‘विधानअनुसार पोलिटब्युरो बनाउन नचाहने’, नेता नेपालले भने, ‘केन्द्रीय कमिटी र स्थायी समिति गठनकै मापदण्डमा गर्न सकिन्छ।’
नेपालले प्रदेशहरूमा इन्चार्च, सहइन्चार्ज, अध्यक्ष र सहअध्यक्ष चयन गर्दा समेत सिनियरलाई मौका नदिएको आरोप लगाए।
‘हिजो जितेर आउने सिनयर एउटा अनि अहिले अर्को’, उनले प्रश्न गरे, ‘पाइन्छ?’
उनले जनवर्गीय र जिल्ला कमिटी एकताका लागि पनि मापदण्ड बनाएर जानुपर्ने तर्क गरे।
‘जनवर्गीय संगठनमा पनि सचिवालय वा केन्द्रीय कार्यालय राखेर जान सकिन्छ’, उनको धारणा थियो।
उनले कार्यदलले केही आधार तय गरेकाले ती आधारमा आधारित भएर पनि छलफल गर्नुपर्ने तर्क गरे।
‘मापदण्डमा बाँधिनु पर्छ’, नेता नेपालले भने, ‘नेताहरू नियममा बाँधिनु पर्छ। सबैको निम्ति लागू हुने विधि हामीले अबलम्बन गर्नुपर्छ।’
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको वर्ष दिन पुग्नै लाग्दासमेत अहिलेसम्म जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता हुन सकेको छैन। एकताका लागि मापदण्ड निर्धारण गर्न गठन भएको कार्यदलमा विवाद भएको थियो। कार्यदलका बहुमत सदस्यले छुट्टै र संयोजकले छुट्टै प्रतिवेदन सचिवालयमा बुझाएका थिए।
नेकपाको सचिवालयमा समेत पछिल्लो समय पार्टीमा छलफलबाट निर्णय हुने प्रक्रया अबलम्बन नभएको भन्दै असन्तुष्टि चुलिएको छ। नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई सचिवालय बैठक डाक्न समेत माग गरेका छन्।