दिलशोभा अर्थात आमाघरकी– आमा।
यतिबेला बिभिन्न पत्र–पत्रिका र सामाजिक सञ्जालहरुमा छरपष्ट छिन् –दिलशोभा। चिया पसल, दोकान र खुद्रा पसलहरुमा सस्तो रुपमा छाएकीछन्–दिलशोभा। चोक/गल्ली कतै भेट भयो कि सबैको मुखमा अघि लाग्छ यहि नाम –दिलशोभा।
जुन समय दिलशोभा श्रेष्ठ यौन दुराचारको अभियोगमा समाचारको हेडलाइन हुँदै सामाजिक सञ्जालहरुमा छरिईन् उनी प्रतिको मेरो आस्था गलर््याम् र्गुलुम ढल्यो। र ढल्यो प्रेरणापुञ्जको अग्लो हिमाल। जसले बेस्सरी थिच्यो मलाई पनि। उकुस मुकुस भए। अनुत्तरित प्रश्नहरुले फन्फनी बेरीरहे मेरो मथिंगल।
–कुन कुबिचारले अह्रायो ति –आमालाई?
–कुन सत्य बोकेर समाचार लेखे ति –पत्रकारले?
यता मेरो आन्दोलित मनमा एउटा सामान्य अनि सानो कदको आमा आउँछिन्। उनै दिलशोभा। जसले सडक पेटीका बृद्ध–बृद्धाहरुलाई उठाएर आश्रय दिईरहेकीछन्। मीठो मसिनो जे छ खुवाउँछिन्। खासै पढेकी छैनन् त्यसैले बोल्न त्यति भाँती पुर्याउँदिनन्। उनै आमालाई डेड बर्षअघि न्यूयोर्कको ज्याक्सन हाईटस्स्थित याक रेष्टुरेण्टमा भेट्ने अवसर जुरेको थियो। जहाँ परेलीका डिलमा आँशुका ढिक्का अड्याउँदै उनले भन्दै थिइन्– मरेपछि श्राद्ध होइन, जिउँदै श्रद्धा गर्न सिकौं।” उनका कुरा सुनेर थरथरी काँपेका आँत र सुक्सुकाउँदै गरेका ओठबाट स्वतःस्फूर्त निस्केको सामुहिक आवाज थियो–चुक्चुक् चुक्चुक्। निरन्तर चुक्चुक्।
यो आवाज्मा मन बोलेको थियो। मस्तिष्क बोलेको थियो। हामी प्रायः मनलाई ढाँटेर मुखले बोल्छौं। आँखाले बोल्छौं। तर त्यहाँ त्यसो भएन।
फेरी आमा बोलिन्– “आश्रम होइन, आश्रय दिऔं।”
जीवनमा धेरै उत्तारचढाव भोगेकी दिलशोभा फेरी चर्चामा आइन्। यौण दुराचार आरोपको भारी बोकेर। एउटा टेलिफोनको संवादलाई लिएर उनीमाथि यत्रो समाचार बनाउनु अघि ति पत्रकारले एक शब्द किन सोधेनन्? एकोहोरो संवादमा कुन शब्द, अंश र भावले दिलशोभा यौन दुराचारी ठहरिन्छन्? समाचार आएपछि अनुगमन गर्न जाने सरकार कति निर्लज्ज? सरकारले भनेको कानुनी दायरा भनेको के? यत्तिका दिनसम्म सत्य तथ्य केलाउन नसक्ने कस्तो लाक्षी राज्य संयन्त्र? कहाँ छन् मानव अधिकारकर्मीहरु? कता गए नागरिक समाज? दिलशोभाको पक्षमा वकालत गर्ने कोही छ?
बोल्न भाँती नपुर्याउँने एउटा आमामाथिको अन्य खप्न नसकेर देशबिदेशमा रहेका जन–जनले सोध्ने प्रश्न हुन् यी। यत्तिबेला सबैको एउटै प्रार्थना छ–“कसैगरी सत्य नलुकोस्”।
जीवनको मध्यखण्डमा बिसाउँन नपाउँदै लोग्नेले दिलशोभा र उनकी छोरीलाई बीचैमा छोडी दिए। बिछोडको पीडा खप्न नसकेर आमाछोरीले कैयौं पल्ट आत्महत्याको असफल प्रयास गरे। तर दुःखी रैछिन ति दिलशोभा त अझ सयौं दुःख भोग्नु थियो, भोग्दैछिन्। अनि भोगीरहनेछिन्। सडक गल्लीहरुमा धुक्धुकी मात्रै भेटेर आमाघर भित्रीएका कैयौं बृद्ध/बृद्धाहरुको गुमूत सोहोरेर उनले जुन पुण्य कमाईन् त्यसको लेखा जोखा न राज्यले गर्यो न सरकारले। अहिले प्रशासन
औला ठडाउँदै भन्दैछ–“मापदण्ड पुगेन।”
एउटा एकल आमाले अरुका दर्द र पीडा खप्न नसकेर बनाएको जीवनको भञ्ज्याङ्गमा कुन उज्यालो जुन खोज्नु? अस्ताउन लागेको दुःखी जीवनहरुलाई केहिबेर सुस्ताउने साँघुरीमा कुन सीधा र सुगम बाटो खोज्नु खै? त्यो आमाघर त कुनै सुविधा सम्पन्न तारे होटेल थिएन। कुनै सडकमा जीवनदेखि सधैंका लागि पछारिएकाहरुलाई उठाएर चिसो ठिहीबाट बाँकी जीवन ओभानो बनाउन भरमग्दुर प्रयासरत दिलशोभासँग सरकार र अनुगमन टोली सोध्दैछन्–ख्वोइ तिम्रो
लाइसेन्स्?
पाठक बृन्द , के ममताको कुनै लाईसेन्स हुन्छ र? यसको कुनै मुल्य हुन्छ र?
अचेल/यति बेला दिलशोभा आमाको मनमा के–के खेल्दो हो? अर्काको गुमुत सोहोरेर कतै पछुतो पो मान्दैछिन् कि? तर आमा हुनुको गर्वले ढक्क फुलेको छाती त्यत्ति कमजोर हुनु हुदैन।
तिमी कमजोर छैनौं आमा। तिमीले हार्नु हुन्न। हुँदै हुन्न। यसरी आमाहरु नै हारेपछि तिम्रा दरसन्तानहरु कुन जीतको उन्मुत्तीमा रमाउन सक्छौं र?
हो, तिमीलाई थिच्ने एउटा कालो आकास खस्यो आमा। तर त्यो आकास खस्न नपाउँदै तिम्रो पुण्यकर्मलाई सलाम गर्ने लाखौं जन तिम्रो शीरको आकास त के सारा ब्रम्हाण्ड थेग्न तयार छन्। तिमीलाई अन्यायबाट छेक्न आतुर छन्।
हो त उता दिलशोभा दुख्दा यता लाखौं मनशोभाहरु धरधरी रोइरहेछन्। अनिँदो र आक्रोशित छन् मनमाया र मनबहादुरहरु। तिमीले त दिलै दियौं दिलशोभा। हाम्रो त केवल मन मात्रै त भो। मनभरी गुनासाका पहाड छन्। तिम्रो न्यायको सुखद समाचार बनेर अर्को सुन्दर बिहानी पर्खिरहेकाछन्। पर्खिरहेकाछौं
बस् यत्ति।