कविता
बतासमा अचानक आज फूल फुलेछ
हतारिएर जीवनको कान खोजेछु
सुन्दर छ फूल , ताजा छ फूल
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
बिउ कसले रोप्यो? गोड्यो कसले?
मलजल कसले गर्यो? सजायो कसले?
थाहै नदिइ फुलेको जो फूल छ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
सुन साथी, हेर साथी, माथि गगनमा
तिमीलाई म फूल देखाउँछु, ध्यानले हेर
अचम्मै, रहरलाग्दो फुलेछ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
जसले देख्यो त्यसको हुने हैन
हेर यो हाम्रो साझा हो
हाम्रा पुर्खाको आशिष छ त्यहाँ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
पुर्खाले टिपे, बाउले टिपे, तिमी टिप
सिउँरिदेउ अब त कानमा
अक्षताको रातो रङ छ त्यहाँ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
बिर्सिएको सम्झ, सम्झिएको बिर्स
रहरको शीतले भिजाउँ
सूर्यसँगै उदाएको जो फूल छ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
तिमी थियौ, म थिएँ, यसैलाई पर्खिएको
अब त पर्खाइ, खुसी छ
मामाको कोसेलीझै नबिर्सी फुलेछ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ।
हतार गर, हतार गर्छु , नओइलाई टिपिदिउँ
जीवनको बुच्चो कान सजाइदिउँ
बतासमा फुलेको दसैं फूल छ
अब त सजाउनै पर्छ, अब त रमाउनै पर्छ ।।