राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल बंगलादेशसँग समग्रमा ११ अंकले पराजित भएको हो ।
बंगलादेशले खेल सकिने बेलामा ६८–५७ को स्थितिमा थियो । तेस्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो । अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो ।
नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिँदै सुखद सुरुआत गरेको थियो । दास्रो क्वाटर बंगलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई एक अंकमा झार्न सफल भयो ।
तेस्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अंकले अग्रता बनायो । अन्तिम तथा चौथो क्वाटरमा बंगलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित गर्यो ।
बंगलादेशको जितमा तन्विर प्रोधानले १८ अंकको योगदान दिए । नेपालका लागि भुटानविरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेशविरुद्ध पनि त्यत्तिनै स्कोर गरे । आशिष बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जिवी रोकायाले छ–छ, सयुन राईले पाँच, सुरेश विक र आशिष भुजेलले तीन–तीन तथा सतिश लामाले एक स्कोर गरे ।
त्यसैगरी आजै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई ६३–५४ ले पराजित गर्दै विजयी भयो । प्रतियोगिताअन्तर्गत शुक्रबार माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ भने नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।
यसैबीच आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले हारका बावजुद बंगलादेशविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोलीलाई प्रोत्साहनस्वरुप ४५ हजार दिने घोषणा गरेका छन्। रासस