भारतमा भइरहेको खो-खो विश्वकपमा नेपालको महिला तथा पुरूष दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका छन्।
शनिबार भएको सेमिफाइनलमा महिलातर्फ युगान्डा तथा पुरूषतर्फ इरानलाई पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
दुवैको उपाधिका नेपालले आइतबार राति आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ।
पुरूषतर्फ २० र महिलातर्फ १९ देश सहभागी भएको खो-खो विश्वकपको फाइनलमा नेपाल पुगेसँगै यो खेलको चर्चा सुरू भएको छ।
खो-खो नेपालमा पुरानो खेल हो। परम्परागत रूपमा खेलिँदै आएको खो-खो खेलबारे २०३९ सालदेखि विद्यालयको पाठ्यक्रममा समावेश गरिएको खो-खो संघका टेक्निकल डाइरेक्टर प्रदीप महर्जन बताउँछन्।
यस्तै २०५२ सालमा खो-खो संघ नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद समेत दर्ता भयो। तर राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन हुन नसक्दा प्रतियोगिताले व्यावसायिक रूपमा फड्को मार्न नसकेको महर्जन बताउँछन्।
२०६० को दशकपछि राष्ट्रिय प्रतियोगिता गर्न थालेपछि खो-खोको विकास बढ्न थाल्यो। संघले २०६४ सालदेखि राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै खेललाई विस्तार गर्न थालेको छ।
अझ नेपालले खो-खोबाट दक्षिण एसियाली स्तरमा पदक समेत जितिसकेको छ। सन् २०१६ मा भारतमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले कास्य पदक जितेको थियो। सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पार्यो।
दक्षिण एसियामा भारत खो-खोको बलियो राष्ट्र हो। भारतले नेपाललाई दक्षिण एसियाली खेलमा पराजित गरेको थियो।
परम्परागत यो खेल महाभारतको चक्रब्यूहसँग तुलना गर्ने गरिन्छ। प्रतिस्पर्धाको बेला एक टोलीमा ९ खेलाडी हुन्छन्। कम्तीमा ३ खेलाडी सब्सिच्युट हुनुपर्छ। यसमा एक टोलीले अर्को टोलीलाई लखेट्छ। जसमा लखेट्ने टोलीले भाग्ने टोलीका खेलाडीलाई घेराबन्दीमा पार्दै आउट गर्छन्।
मध्यान्तरअघि २६ मिनेटको खेल हुन्छ। जसलाई ९ मिनेट, ३ मिनेट, ९ मिनेट र ५ मिनेट खेलेपछि मध्यान्तर हुन्छ। मध्यान्तरपछि ९ मिनेट, ३ मिनेट र ९ मिनेट खेलेपछि सकिन्छ। जसमा ४७ मिनेटको खेल हुन्छ। जसमा एक टिम दुई पटक भाग्ने र दुई पटक लखेट्ने भएर खेल्नु पर्छ।
प्रतिस्पर्धामा मैदानमा एक बक्स बनाइएको हुन्छ। जसमा लखेट्ने टोलीका ८ खेलाडी बक्समा र एक खेलाडी पोलमा हुन्छ। जुन पोल भाग्ने टोलीको नजिक हुन्छ। त्यसपछि तीन-तीन जनाको समूहका भाग्ने टोलीका खेलाडी पालैपालो कोर्टमा प्रवेश गर्छन्। त्यसपछि लेखेट्ने टोलीले भाग्ने टोलीका खेलाडीलाई घेराबन्दी पर्ने कोसिस गर्छन्।
भाग्ने टोलीका खेलाडी घेराबन्दीमा पर्दै आउट गरे एक अंक प्राप्त हुन्छ। भाग्ने खेलाडी जुनसुकै स्थानमा दौडिन पाउँदा लेखेट्ने खेलाडीले बीचको लेनको ९० डिग्रीमा मात्र कुद्न पाउँछन्।
यसरी ९ मिनेटपछि अर्को टोलीको पालो आउँछ। त्यसैगरी तोकिएको ४७ मिनेटमा भाग्ने र लखेट्ने क्रम चल्छ।