यही पुस १५ गते नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिममा खेलकुदका सम्भावनाबारे आफ्नो विचार प्रकट गर्दै भलिबललाई पहिलो स्थानमा राख्नुपर्ने बताए।
डडेल्धुराको परशुराम नगरपालिकास्थित परशुरामधाममा आयोजित 'सुदूरका सम्भावना' विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'सुदूरको सम्भावनामा आजको मितिमा पनि भलिबल खेल नै पहिलो नम्बरको हो,' उनले भने, 'अहिले क्रिकेटले गति लिएको देखिए पनि भलिबलको सम्भावना कम भएको छैन, अझै बलियो छ।'
चन्दले भनेजस्तै भलिबलमा सुदूरपश्चिमले धेरै प्रतिभाशाली खेलाडी उत्पादन गरेको छ।
अझै पनि स्रोतसाधन, प्रशिक्षक र उचित व्यवस्थापनको कमीका कारण सुदूरपश्चिमले आफ्नो पूरा क्षमता देखाउन नसकेको धेरैको बुझाइ छ।
सुदूरपश्चिम पहाडका स्थानीय तह र क्लबहरूले भलिबल प्रतियोगिता आयोजना गरिरहेका छन्। बाक्लै खेल भइरहने कारण खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने गरेका छन्।
सुदूरपश्चिमका धेरै खेलाडीले भलिबलबाट आफ्नो देश नेपाल विश्वमा चिनाउन राष्ट्रिय टिमबाट खेल्ने सपना देख्ने गरेका छन्। उनीहरू प्रशिक्षण लिन चाहन्छन् तर खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि भलिबल प्रशिक्षक नगन्य छन्।
कतिपय खेलाडी र प्रशिक्षक विदेश पलायन भए, तैपनि सुदूरपश्चिमको भलिबल खेल बलियो बनाउने प्रयास जारी छ।
प्रदेशमा बलियो सम्भावना रहेको भलिबल खेल उचाइमा पुर्याउन कम्मर कसेर लागेका एक जना प्रशिक्षक हुन् लालबहादुर बटाला। उनले आफ्नो जीवन नै भलिबल खेलमा समर्पण गरेका छन्।
अछाममा हालको साफेबगर नगरपालिका–१३ मा जन्मेहुर्केका बटाला बाल्यकालमै खेलमा लागे। त्यस बेला कुद्नु, उफ्रिनु र पुरानो मोजामा झुम्रा खाँदेर बनाएको गोल खेल्नुबाहेक अर्को खेल थिएन।
'बाल्यकालमा मोजाको बलबाटै खेलको सुरूआत भयो। स्कुलमा हामी यसरी नै खेल्थ्यौं,' त्यो विगत स्मरण गर्दै उनले भने, त्यसरी सुरू गरेर पनि प्रशिक्षक बन्ने तहमा पुग्दा खुसी लागेको छ।'
२०६३ सालमा एसएलसी पास गरेपछि उनी कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा भर्ना भए। त्यहाँ भलिबल उपलब्ध भयो। व्यवस्थित कोर्टमा साथीहरूसँग खेल्ने अवसर प्राप्त भयो।
त्यही बेला उनले भलिबल प्रतियोगिताबारे थाहा पाए। क्याम्पसको खेलाडी बनेर प्रतियोगितामा सहभागी भए। क्याम्पसको टिम हुँदै राष्ट्रिय खुला प्रतियोगितामा पुगे। भलिबल खेल्दै देशका धेरै ठाउँ पुगे।
बटालासँग खेलेका धेरैजसो खेलाडी अहिले खेल जीवनबाट बिदा भइसकेका छन्। उनी पनि प्रतिस्पर्धी भएर खेल्न छाडे तर भलिबल छाडेनन्। उनले आफूपछिका खलाडीलाई सिकाउने प्रशिक्षणको बाटो रोजे।
सन् २०१९ मा उनले भारतको पटियालामा भलिबल प्रशिक्षणमा डिप्लोमा कोर्स पूरा गरेर व्यावसायिक प्रशिक्षणको सीप हासिल गरे। त्यो कोर्सले उनलाई आधुनिक प्रशिक्षक बनायो।
'प्रशिक्षण पूरा गरेपछि म आफ्नो लक्ष्यमा अघि बढेँ। मेरो लक्ष्य दक्ष खेलाडी उत्पादन गर्नु हो। यसैअनुसार व्यक्तिगत प्रयासले महेन्द्रनगरमा नयाँ खेलाडीका लागि निःशुल्क प्रशिक्षण सुरू गरेँ,' उनले भने।
प्रशिक्षणको काम अघि बढ्दै थियो। सुदूरपश्चिम खेलकुद परिषदले आर्थिक वर्ष २०७९/८० मा उनलाई भलिबल प्रशिक्षक पदमा नियुक्त दियो।
त्यसयता उनी धनगढीको कभर्डहलमा दैनिक रूपमा भलिबल प्रशिक्षण दिन्छन्। हाल पुराना र नयाँ गरी ७० जना खेलाडी उनीसँग प्रशिक्षण लिँदै छन्। यिनमा महिला र पुरूष खेलाडी छन्। बटालासँग प्रशिक्षण लिएका केही खेलाडी राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भइसकेका छन्। केही राष्ट्रिय टोलीमा पनि पुगेका छन्।
गत असोजमा श्रीलंकाको कोलम्बोमा भएको 'काभा यु–२० पुरूष भलिबल च्याम्पिनसिप' मा नेपाली टिम उपविजेता बनेको थियो।
उक्त टिममा अर्जुन नेपालीको कप्तानीमा १२ जना खेलाडी सहभागी थिए। मुख्य प्रशिक्षक थिए रमेश कार्की; सहायक प्रशिक्षक बटाला नै थिए।
अर्जुन सुदूरपश्चिमै खेलाडी हुन्। उनलाई प्रशिक्षण दिने पनि बटाला नै हुन्। उनका अनुसार अर्जुनले ९ कक्षामा पढ्देखि भलिबल सिकेका हुन्।
त्यही टिमका अर्का खेलाडी आशोक राना पनि बटालाकै प्रशिक्षार्थी थिए। खेलाडीहरूका अनुसार बटाला उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्।
'बटाला गुरूको प्रशिक्षणबाटै भलिबल खेलमा मेरो जग बनेको हो। अरू धेरै साथीहरूले उहाँसँग सिकेका छन्,' सुदूरपश्चिमकै खेलाडी रमेश बमले भने, 'हामीलाई राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुर्याउन उहाँको योगदान छ। नयाँ खेलाडी उत्पादनमा उहाँको भूमिका महत्त्वपूर्ण छ।'
अर्का खेलाडी बलदेव धामी सुदूरपश्चिममा भलिबल खेलाडी उत्पादन गर्न बटालाले धेरै मेहनत गरेको बताउँछन्।
'गुरूले हाम्रो कमजोरी सुधारेर खेल्न सिकाउनुभयो। हामीलाई अघि बढाउन उहाँको ठूलो भूमिका छ,' उनले भने।
सुदूरपश्चिममा भलिबलमा उत्साही खेलाडीहरू भए पनि स्रोतसाधन र प्रशिक्षकको अभाव छ। बटालाका अनुसार स्रोतसाधनमा खेल सामग्री र खेल्ने ठाउँको कुरा मात्र हुँदैन। खेलाडीको पारिवारिक तथा सामाजिक अवस्था र खानपिनको कुरा पनि आउँछ।
'प्रशिक्षणमा धेरै पक्षको प्रभाव हुन्छ। डाइट (पोषक खाना) र फिटनेस (तन्दुरूस्ती) अभावमा खेलाडीले आफ्नो पूरा क्षमता देखाउन सक्दैन,' बटालाले भने, 'खेल राम्रो हुन टिम प्रशिक्षण नियमित हुनुपर्छ। स्रोतसाधन पनि हुनुपर्छ। हामी अत्यन्तै सीमित स्रोतसाधनमा छौं। दालभात मात्र खाएर त खेल राम्रो हुँदैन।'
सुदूरपश्चिमका जिल्लामा नियमितजसो भलिबल प्रतियोगिता हुने गरे पनि आधुनिक प्रशिक्षण र निरन्तर अभ्यासको कमी छ। यस्तो अवस्थामा खेलाडीको स्तर बढाउन निकै कठिन हुने बटालाको अनुभव छ।
स्रोतसाधन अभावकै बीचमा पनि बटाला निराश छैनन्। आफ्नो लक्ष्य र खेलाडहरूको उत्साहले उनलाई जाँगरिलो राखेको छ।
उनी सुदूरपश्चिमका भलिबल खेलाडीको प्रतिभा उजागर गर्दै राष्ट्रिय स्तरमा प्रतियोगी बनाउन चाहन्छन्। त्यसपछि राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय स्तरमा पुगून् भन्ने सपना देख्छन्।
'सुदूरपश्चिमको भलिबलमा अपार सम्भावना छ। आवश्यक स्रोतसाधन उपलब्ध हुन सके यहाँका खेलाडीले देशको नाम चम्काउन सक्छन्,' बटाला भन्छन्, 'मैले प्रशिक्षण दिन थालेपछि सुदूरपश्चिमको टिमले धेरै ठाउँबाट पदक पाएको छ। हामी धेरै ठाउँमा पुरस्कृत भएका छौं।'