पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।
अध्यक्ष प्रचण्डले आइतबार बिहान रंगशालाको अवलोकन गरेका हुन्।
अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए।
माओवादी केन्द्रको नेतृत्वमा सरकार हुँदा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्णमाले गति लिएको पनि अध्यक्ष प्रचण्डले बताए।
‘खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो,’ उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ।’
यही वर्ष कर्णालीमा दसौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उपयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे।
रंगशाला अवलोकनका क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो।
प्रचण्डले शनिबार मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गरेका थिए। उनले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए।
सबै तस्बिरहरूः अध्यक्ष प्रचण्डको सचिवालय।