पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटागोरीको महिला ५७ केजीमुनिको क्वार्टरफाइनलमा नेपालकी पलेशा गोबर्धन शुक्रबार पराजित भएकी छिन्।
अन्तिम आठको खेलमा ब्राजिलकी सिल्भाना फर्नान्डेजसँग १०-८ अंकले पराजित हुँदा पलेशा क्वार्टरफाइनलमा रोकिएकी हुन्। सिल्भाना गत पारालिम्पिककी कास्य विजेता खेलाडी हुन् भने हाल यो क्याटागोरीको नम्बर एक खेलाडी हुन्।
यद्यपी पलेशाले कास्य पदकका लागि खेल्न अवसर भने बाँकी छ। उनले अब दुई खेल जिते कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउनेछिन्।
शुक्रबार पेरिसमा ब्राजिलियन खेलाडीविरूद्धको पाँच मिनेटको भिडन्तमा सुरुवातदेखि नै पलेशाले अग्रता लिएकी थिइन्। ५६ सकेन्ड बाँकी रहदा पलेशा ८-३ अंकले अघि थिइन्। लगत्तै उनले दुई अंक गुमाउँदा खेल ८-५ को अवस्थामा आएको थियो।
१८ सेकेन्ड बाँकी रहदा ब्राजिलियन खेलाडी सिल्भानाले अंक बराबरी गरिन्। सात सेकेन्ड बाँकी रहदा सिल्भानाले २ अंक जोडेर खेल १०-८ ले अग्रता लिँदै खेल जित्दा नेपालकी पलेशा स्तब्ध बनिन्।
त्यसअघि पलेशाले राउन्ड अफ १६ को खेलमा भेनेन्जुएलाकी भलेरियाविरूद्ध शुक्रबार ३१-० को जित निकाल्दै अन्तिम आठमा पुगेकी थिइन्।
पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।
छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्। पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन्।
पदकको आशा गरिएकी पलेशासंग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ। त्यस पारालिम्पिकमा पलेशा कास्य भिडन्तमा चीनकी खेलाडीसंग चुकेकी थिइन्।
नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो।
यसअघि तेक्वान्दोमै नेपालका भरतसिंह महरा पहिलो चरणमै पराजित भएका थिए।
पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन्। उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।