हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो घर छ। त्यहाँ घरमा धनमान राईको परिवार बस्छ। नजिकै जंगल छ। त्यही जंगलमा गाइभैँसी चराउन जान्छन् धनमान।
पछिल्लो समय धनमान खुशीको धनी भएका छन्। उनकी छोरीले एसियाली खेलकुदमा देशको लागि कास्य पदक जितेपछि धनमानले गाउँलेहरूबाट पनि वधाइ पाइरहेका छन्।
गत सोमबार एसियाली खेदकुदको कबड्डीमा बंगलादेशलाई हराउँदै नेपाली महिला कबड्डी टिमले देशका लागि कास्य पदक सुनिश्चित गरेको थियो।
अनुजाले अन्तराष्ट्रिय पदक जितेको खबर उनकी भाइले बाबु धनमान र परिवारलाई सुनाएका थिए। खबर सुनेर धनमानका परिवार हर्षविभोर भएका थिए।
‘कबड्डी भनेपछि बच्चैदेखि हुरूकै हुन्थी, देशकै लागि पदक जित्दा अत्यन्त खुशी छौ,’अनुजाकी आमा तिलसरीले भनिन्, ‘स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेर्थी।'
आज छोरीले देशको लागि मेडल जित्दा गर्व महशुस भएको उनले बताइन्।
छोरीको पढाइ बिग्रन्छ भनेर त्यतिबेला तिलसरी निकै चिन्तित थिइन् रे। ‘कति भन्यौं तर, उसले कबड्डी हेर्न र खेल्न छाडिन,’ तिलसरीले भनिन्।
किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा गएका थिए। अनुजालाई आमा र हजुरआमा (बोजु) मनमायाले हुर्काएका हुन्।
अनुजाकी दिदी रोशनी अहिले वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा छिन् भने भाइ पनि विदेश जाने तयारीमा छन्।
काठे बेराको भुइँतले घरका साँघुरा कोठाभरी खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक राखिएका छन्। केही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने केही राजस्थान र मलेसियामा जितेका पदक थिए। अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए।
अनुजालाई कबड्डीमा डोहोर्याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुन्। हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष समेत रहेका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुन्।
दस वर्षअघि गाउँकै विद्यालयमा खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएका थिए। पञ्चायत माविमा अग्लो कदकी छात्रालाई तिमीले कबड्डीको तालिम लिनुपर्छ भनेका थिए।
‘तिनै छात्रा नै अहिलेकी अनुजा हुन्। मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ। मेरो त्यो अनुमान अहिले साँचो ठहरियो,’ राजवंशीले भने।
अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन्। घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढिन्। पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपर्थ्यो, घाँस पनि काट्नु पर्थ्यो।
विद्यालयमा पनि उनी कबड्डीमा अत्यन्तै रूची राख्थिन्। ‘उनको पढाइको स्तर सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो। चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो। प्रशिक्षक राजवंशीले नियमित तालिम पनि दिनुभएको थियो,’ पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बनले भने।
आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको उनले बताए।
‘मैले पनि बङ्गलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुसी लाग्यो, उनले भने। प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन्। जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन्। अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छन्।
एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन्। जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताइन्।
कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमाया अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी छिन्।
पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए। पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताए।
‘म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरे,’ अनुजाको खेल सफलताबारे बुबा धनमान भन्छन्, ‘एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन्। यसमा हामी ज्यादै खुसी छौँ।’ -रासस