केही महिना सम्पन्न नवौं राष्ट्रिय खेलकुदको यात्रा सुदूरपश्चिमका लागि ऐतिहासिक रहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताएका छन्।
सुदूरपश्चिमले नवौं राष्ट्रिय खेलकुदमा विगतभन्दा यसपटक १० स्वर्ण, १० रजत र ९२ कास्यपदक जित्न सफल हुँदा ऐतिहासिक उपलब्धी मानिएको उनको भनाइ छ।
यसपटक प्रदेशमा मुख्यमन्त्री कपका रूपमा विभिन्न गेमलाई खेलाएर यहाँका खेलाडीमा निखारत आएको कारण विगतभन्दा राम्रो गरिएको उनले बताए।
‘यहाँबाट राम्रो खेल्ने केही खेलाडीहरूलाई विभागीय टिममा लगेका कारण सुदूरपश्चिमको खातामा पदक कम भयो, तर विगतभन्दा राम्रो भयो, राज्यले यहाँका खेलाडी र खेल क्षेत्रको विकासका लागि मागअनुसार बजेट दिने हो भने आगामी दिन अझै राम्रो गर्नेछौं,’ उनले भने।
बुधबार धनगढीको कभर्ड हलमा नवौं राष्ट्रिय खेलकुदमा विभिन्न पदक जित्न सफल भएका प्रदेशका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान कार्यक्रम गरिएको छ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना भएको कार्यक्रममा स्वर्ण पदक ल्याउने १० जनालाई नगद १५ हजार, रजत जित्ने १० जनालाई १२ हजार प्रदान गरिएको छ।
यस्तै, कास्य पदक जित्ने १ सय २२ जना खेलाडीलाई सम्मान तथा नगद ९ हजार प्रदान गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
यस्तै २५ जना प्रशिक्षकहरूलाई पनि सम्मान स्वरूप ३ हजार नगद सहयोग प्रदान गरिएको छ।