'तिमी कहिले मर्छौ सुनमाया?' छिमेकीहरू सुनमाया बुढालाई घरिघरि एउटै प्रश्न सोधिरहन्थे।
मुटु नै छेड्ने यो प्रश्न तीनवर्षे सुनमायाको बाल मस्तिष्कका लागि भने गम्भीर थिएन। उनी आउँदै गरेको साउने संक्रान्तिको रमाइलो सम्झिन्थिन् अनि तोतेबोलीले जवाफ फर्काउँथिन्, 'साउने संक्रान्ति खाएर मर्छु।'
एक छोरा र सात छोरीमध्ये सुनमाया पाँचौं सन्तान हुन्। एक वर्षमै बहिनी जन्मिएपछि सुनमायालाई स्याहार पुगेन। आमाको दूधधरि पुग्दो चुस्न पाइनन्। बिस्तारै दुब्लाउँदै जान थालिन्। फुटेको तोतेबोली पनि बिस्तारै निभ्दै जान थाल्यो। चल्न-चटपटाउन नसक्ने अवस्थामा पुगिन्।
आमाबा उनलाई 'के भयो, कता दुख्यो?' भनेर सोध्थे। उनी जवाफ फर्काउन सक्थिनन्।
एकोहोरो हेरिरन्थिन्। आँखाबाट आँशु झारिरहन्थिन्।
गाउँका मान्छे सुनमायालाई कुपोषण लाग्यो भन्थे। जुम्ला सदरमुकामबाट चार घन्टा पैदल दुरीको पातारासीमा अस्पताल थिएन। खेती किसानी गर्ने सामान्य परिवारले छोरीलाई उपचार निम्ति सदरमुकाम लैजाने हिम्मत गर्न सकेन।
छोरी ओछ्यान परेपछि पिरले सेकिएकी आमाले घरेलु उपचारको उपाय लगाउन थालिन्। जडिबुटी र घरेलु औषधि जोहो गरिन्। तीन-चार महिनासम्म पनि केही परिवर्तन देखिएन।
त्यसपछि हिमाली जुडिबुटीले बिस्तारै काम गर्यो सायद, सुनमाया आठ-नौ महिनापछि तंग्रिन थालिन्।
आमाबुबाले समेत 'माया मारेकी' सुनमाया बाँच्छिन् भन्ने छिमेकीहरूलाई थिएन। उनीहरू तंग्रिएकी सुनमायालाई जिस्क्याएर त्यही गम्भीर प्रश्न सोधिरहन्थे- 'तिमी कहिले मर्छौ सुनमाया?'
जवाफमा साउने संक्रान्तिको भाका राखेकी सुनमायाले त्यसपछि भने कहिल्यै त्यस्तो गम्भीर प्रश्न सामना गर्नुपरेन। उनी आफ्नो परिवार र गाउँकै उदाहरण बनिन्।
बाल्यकालदेखि नै बाँच्ने संघर्ष गर्दै हुर्केकी सुनमाया अहिले परिवारका लागि मात्र होइन, देशकै 'हिरा' बनेर चम्किरहेकी छन्।
दुई साताअघि थाइल्यान्डको चाङ माईमा भएको 'थाइल्यान्ड बाई युटिएमबी' अल्ट्रा दौडमा उनी महिलातर्फ पहिलो भइन्। उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरूलाई समेत टक्कर दिएकी थिइन्। अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राखिन्।
थाइल्यान्डको चाङ माई क्षेत्रको भिरपाखा र डाँडाको ५४ सय ८० मिटरसम्म उचाइमा नर्थफेस टिमबाट दौडिएकी सुनमाया दोस्रो भएका फ्रान्सका सेड्रिक गोलियाभन्दा चार सेकेन्डले मात्र पछि परेकी थिइन्। सुनमायाले यो दौड १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरिन्।
बिहान ८ बजे सुरू दौड उनले बेलुकी ११ बज्न लाग्दा पूरा गरेकी थिइन्। दोस्रो स्थानमा नेपालकै मीरा राई परिन्। मीराले १७ घन्टा १२ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
प्रतिष्ठित 'थाइल्यान्ड बाई युटिएमबी' जितेपछि अन्तर्राष्ट्रिय चर्चा पाइरहेकी २३ वर्षीया सुनमायाले अल्ट्रा धाविका बन्छु भनेर कहिल्यै सोचेकी थिइनन्। उनका लागि जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठूलो कुरा थियो। काठमाडौं अनि देश विदेश त उनको सपनामा समेत आउँदैन थिए।
बाल्यकालमा कुपोषणलाई जितेकी सुनमायाले दोस्रो लडाइँ कर्णालीको सामाजिक परिवेशसँग लड्नुपर्यो।
उनका दिदीहरूले स्कुल जाने अवसर कहिल्यै पाएनन्। 'मरेर बाँचेकी' भएर होला आमाबुबाले आफ्नो पाँचौं सन्तान सुनमायालाई स्कुल पठाए। त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको सपना देख्ने पहिलो मैदान बन्यो।
उनी सात कक्षामा पढ्दा स्कुलस्तरीय खेल भयो। सबैले सुनमायालाई भाग लिन उक्साए। लहैलहैमा भाग लिएकी उनी पहिलो भइन्। त्यही बेला हो, उनलाई दौडबारे पहिलोपटक थाहा भएको।
एकदिन उनलाई हेडसरले बोलाए।
'ए सुनमाया, अब तिमी बजारमा पनि कुद्न जानुपर्छ। त्यहाँ ३० भन्दा बढी स्कुलका विद्यार्थी आउँछन्,' हेडसरको आग्रह सुनमायालाई अहिले पनि याद छ।
'नाइँ सर, बजारमा त कुद्न सक्दिनँ होला,' जवाफमा उनको डर यसैगरी प्रकट हुन्थ्यो।
'तिमी मात्र होइन, अरू साथी पनि जान्छन्। नसके पनि प्रयास गर्नुपर्छ,' हेडसरले सम्झाउँदै भने, 'तीन हजार मिटर उचाइमा कुदेको मान्छेले बजारको कम हाइटमा कुद्न सजिलो हुन्छ।'
डरडरैमा सुनमायाले 'हुन्छ' भनिन्।
उनी त्यो प्रतियोगितामा जिल्लाकै पहिलो भइन्।
यो जितसँगै क्षेत्रीय छनौट खेल्न नेपालगन्ज जानुपर्ने भयो। पहिलोपटक नेपालगन्ज पुग्दा उनी आत्तिएकी थिइन्। गर्मीले सुत्नै सकिनन्। राति चारपटक नुहाइन्। त्यत्तिकैमा बिहान भइसकेको थियो।
यस्ता कुराले उनको खेललाई असर भने गरेन। नेपालगन्जमा पनि पहिलो हुँदै उनी राष्ट्रिय स्तरमा छनौट भइन्।
देशका किशोर धाविकासँग प्रतिस्पर्धा गर्न काठमाडौं आउदा झन् गाह्रो भयो। कहिल्यै बसमा लामो यात्रा नगरेकी उनी रातभर बान्ता गर्दै काठमाडौं आइपुगिन्। पेट खाली भए पनि खान मन लागेन। भोकै सुतिन्।
भोलिपल्ट बिहानै दौड सुरू भयो। सुरूमा कसरी कुद्ने भन्ने चिन्ता थपियो। कुद्न थालेपछि कताबाट बल आयो कुन्नी, उनले सबैलाई उछिन्दै १४ वर्ष उमेरमा राष्ट्रपति रनिङ सिल्ड जितिन्।
पहिलोपटक काठमाडौं आउँदा अर्कै संसारमा आएझैं अनुभव भएको सुनमाया बताउँछिन्।
त्रिपुरेश्वरको दशरथ रंगशाला नजिककै धरहरा देखेर उनी छक्क परिन्। धरहराबाट हेर्न पाए 'काठमाडौं कस्तो देखिन्छ होला' भन्ने लागेको थियो। तर कसैलाई धरहरा चढ्छु भन्न सकिनन्।
जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि उनको गाउँभरि चर्चा चुलियो। उनको कुरा काट्नेहरू प्रशंसा गर्न थाले। स्कुलले पाँच हजार पुरस्कार दिएपछि उनको खुसीको सीमा रहेन। पैसाको मालाले उनको गला भरियो। बाबाआमा फुरूंग हुँदै पूरा गाउँलाई भोज खुवाए।
राष्ट्रपति रनिङ सिल्ड जितेपछि सुनमायाले अन्य प्रतियोगितामा भाग लिन थालिन्। जितको यात्रामा 'ब्रेक' लागेन।
तर जितले मात्र खुसी दिन सकेन। प्रतियोगिता खेल्न जाँदा पैसा खर्च मात्र हुन थाल्यो। आमाबुबाले भन्न थाले, 'अब खेल्नु पर्दैन। दु:ख मात्र हुन्छ। ज्यान पनि दुब्लो हुन्छ। पैसा पनि आउँदैन।'
तीन वर्ष जुनियर स्तरको प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले १६ वर्ष उमेरमा एसएलसी पास गरिन्। त्यसपछि घरबाट बिहे गर्न दबाब आउन थाल्यो। गाउँमा उनको उमेरका केटीले बिहे गर्नु सामान्य थियो।
'गाउँमा मभन्दा साना-सानाले त बिहे गर्छन्। बुबाआमा लगि म त धेरै ठूली थिएँ। केटा खोजेको भए बिहे गर भनिरहनु हुन्थ्यो,' सुनमायाले भनिन्।
गाउँका मान्छेले कुरा काट्न थालेपछि आमाबाको मन अमिलो हुन्थ्यो।
'तेरो छोरी धेरै दौडियो भने बच्चा जन्माउन गाह्रो हुन्छ। पाठेघर खस्ने सम्भावना हुन्छ। उमेर गयो भने कसैले बिहे गर्दैन। केटा पनि पाउँदैन। राम्रो हुँदैन,' गाउँलेहरूका यस्ता कुराले आमाबाको मन झनै बेचैन हुन्थ्यो।
उनलाई भने त्यति चाँडै बिहे गर्न मन थिएन। दौडिएर देश-विदेश पुग्ने सपना देख्दिथिन्। ठूलो मान्छे बन्ने, आफ्नै घर बनाउने र आमाबुबालाई त्यही घरमा राख्छु भनेर सोच्थिन्।
'मेरी छोरीले पढेर जागिर खान्छे अनि हामीलाई पाल्छे,' आमाले स्कुल पढ्दा भनेका कुराले उनलाई झस्काइरहन्थ्यो।
उनका यी सपना आमाबुबाले बुझ्नेवाला थिएनन्। सुरूमा 'अहिले पढ्छु' भन्दै आमाबालाई सम्झाउने कोशिस गरिन्।
'पैसा छैन। कसरी पढ्छस्?' आमाबा उल्टै प्रश्न गर्थे।
'तपाईंहरूले पैसा नदिए आफैं व्यवस्था गर्छु,' उनी उत्तर दिन्थिन्।
भोलिपल्ट झोला बोकेर उनी जुम्ला बजार निस्किएकी थिइन्। जुम्ला बजारमा ओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिने उनलाई थाहा थियो। त्यसैले सुरूमै रोकायालाई भेटिन्। दौडको प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले ढाँटेर आएको प्रशिक्षक रोकायालाई सुनाइन्।
जुम्लाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिरहेका रोकायालाई सुनमायाको कुराले मुटु छोयो। उनले आफ्नै घरमा बस्न कोठा दिए अनि कर्णाली स्पोर्ट्स क्लबमा भर्ना गराए।
छोरी पढ्छु भन्दै घरबाट हिँडेपछि आमाबुबाको मन के थमिन्थ्यो! दुई दिनपछि बुबा आफैं बजार आएर सुनमायालाई चाहिने सामान किनिदिए।
उनी बिहान प्लस-टू पढ्न थालिन्। दिउँसो अभ्यास गर्थिन्। बिहानको पढाइ र दिउँसोको अभ्यासले निकै थाक्थिन्। प्रशिक्षकले कडा अभ्यास गराउँथे। सुरू सुरूमा रिँगटा लाग्ने, बान्ता नै हुने गर्थ्यो। खान पनि राम्रोसँग मन लाग्दैन थियो। त्यसैले एक साता कलेज गएपछि उनले छाडिदिइन्।
'बिहान पढाइ र दिउँसो एक्लै प्रशिक्षण निकै गाह्रो हुन्थ्यो। त्यसैले पढाइ र अभ्यास सँगै लान नसक्ने निधो गर्दै कलेज जान छाडिदिएँ,' उनले भनिन्।
पढ्न आएकी छोरी दौडको मात्र अभ्यास गर्छिन् भन्ने घरमा थाहा थिएन। घरलाई थाहै नदिई उनी धरानमा भएको १० किलोमिटर दौडमा भाग लिन गइन् र तेस्रो भइन्।
गाउँका मान्छेले रेडियोमा सुनमाया तेस्रो भएको समाचार सुने। यति भएपछि के चाहियो! गाउँभरि सुनमाया फेरि दौडिन थालेको र तेस्रो स्थानमा झरेको भनेर कुरा काटिन थाले।
'तेरो छोरी फेरि रनिङ गर्न थालेछ। पहिलो हुने मान्छे तेस्रो भइछे। तेरो छोरीले अब सक्दैन,' गाउँका यस्ता कुराले आमाको मन फेरि पिरोल्न थाल्यो।
अझ गाउँलेहरूले उनी दुब्लाएको र दुब्लाउनुको कारण 'लभ परेर' हो समेत भने।
यी कुरा आमाले सुनाएपछि सुनमायालाई इख पलायो।
'जितेर तिमीहरू सबैलाई देखाउँछु,' त्यति बेला सुनमायाले अठोट गरेकी थिइन्।
हरिबहादुर रोकायाले सुनमायाको क्षमता पहिचान गरिसकेका थिए। उनले १० किलोमिटर हुँदै ४२ किलोमिटरको म्याराथनका लागि सुनमायालाई तयारी गराउन थाले।
राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो। त्यसपछि सुनमायाको जीवनको बाटो मोडियो।
उनी सन् २०१६ को सुरूआतमा ट्रेल रेसमा सहभागी हुन काठमाडौं आइन्। गोदावरीमा भएको १२ किलोमिटरको ट्रेल जित्दै उनले सबैको ध्यान तानिन्।
त्यति बेलासम्म उनलाई ट्रेल रेसबारे केही थाहा थिएन। तर गाउँमा मेलापात, घाँसदाउँरा, उकाली-ओराली गरेकी उनलाई 'अफ रोड' मा हुने ट्रेल रेसमा दौडन कुनै गाह्रो भएन। पहिलो सहभागितामै सहज रूपमै पहिलो भइन्।
त्यही बेला उनले नेपालकी चर्चित अल्ट्रा धाविका मीरा राईसँग भेटिन्। मीराको चर्चा र उनको जीवन संघर्षबारे बुझ्ने मौका पाइन्।
गोदावरीमा पहिलो भएपछि उनलाई मनास्लु स्टेप रेस गर्ने मौका मिल्यो। सात दिनमा १ सय ७० किलोमिटर दौडिन पर्ने उक्त रेसमा पनि सुनमाया पहिलो भइन्।
मनास्लुमा पनि पहिलो भएपछि उनलाई हङकङ जाने मौका मिल्यो। सन् २०१६ डिसेम्बरमा हङकङको एमएसआइजी लङटाउमा दौडने पक्का भएपछि उनको खुसीको सीमा रहेन। अरूले ठूलो जहाज चढेर विदेश गएको सुनाउँथे, अब आफैं त्यही जहाजमा सयर गर्दैछु भनेर रोमाञ्चित भइन्। खुसीले उड्दै एकपटक हङकङ पुगिन्।
सँगै चिन्ता पनि थपियो।
'हङकङ गएपछि इंग्लिस बोल्नुपर्छ। कसले सिकाउँछ होला। खाना कस्तो हुन्छ होला,' मनमा चिन्ताले डेरा जमाउन थालिसकेको थियो।
हुन पनि त्यस्तै भयो। हङकङ पुगेर होटलमा खाना खान लाग्दा टेबलभरि 'सी फुड' थिए। उनले खाने आँट गरिनन्। केरा मात्र खाएर सुतिन्।
त्यसपछि आयोजकले सहयोग गरे। अनि बल्ल सहज भयो।
५० किलोमिटरको एमएसआजी लनटाउमा १८ वर्ष मुनिको स्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन्। यसरी पहिलो स्पर्धालाई नै उनले यादगार बनाइन्।
त्यसपछिका वर्षमा उनले पछाडि फर्केर हेर्न परेन। चीन, जर्मनी, स्विट्जरल्यान्डको अल्ट्रा रेसमा सहभागिता जनाउन थालिन् र उत्कृष्ट प्रदर्शन गरिन्। सन् २०१९ सम्म उनले एसिया र युरोप गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिन्।
अल्ट्रा रेस आफैंमा चुनौतीपूर्ण र जोखिमपूर्ण हुन्छ। यो दौडिन साहस चाहिन्छ। सुनमाया भने यसलाई गाह्रो मान्दिनन्।
जुम्लाको ३ हजार मिटर उचाइमा घाँस-दाउरा र उकालो-ओरालो गर्दै हुर्केकी उनलाई अल्ट्रा र ट्रेल रेसको रूट अप्ठ्यारो लाग्दैन। तर उनलाई नयाँ ठाउँमा खाना र भाषाको साह्रै समस्या पर्छ। कहिलेकाहीँ हावापानीले साथ दिँदैन। घन्टौं दौडिँदा बीचबीचमा आउने चेक प्वाइन्टमा कति खाने र कस्तो खाने भन्ने नजान्दा समस्यामा पर्ने गर्थिन्।
'कहिलेकाहीँ बाटैमा भोक लाग्थ्यो। त्यति बेला साह्रै दु:ख लाग्थ्यो,' उनले अल्ट्रा दौडको अनुभव सुनाइन्।
कोभिड-१९ ले सन् २०२० देखि एक वर्ष अल्ट्रा दौडलाई पनि असर गर्यो। उनी दौडिन पाइनन्।
सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड 'द नर्थ फेस एड्भेन्चर टिम' ले सुनमायालाई आबद्ध गर्यो। यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुग्न सजिलो भयो।
नर्थ फेसमा आबद्ध भएपछि उनले अभ्यास, डाइट, किट्स र विदेश जान प्रायोजन पाउँछिन्। उनले अब हरेक रेसअघि छुट्टै प्रशिक्षक पाउँछिन्। हरेक साता आफ्नो अभ्यासको रिपोर्ट बुझाउनुपर्छ। त्यसको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउने गर्छ।
नर्थ फेससँग आबद्ध भएपछि उनले 'थाइल्यान्ड बाई युटिएमबी' भाग लिएकी हुन्। प्रतियोगिताअघि उनलाई अस्ट्रेलिया प्रशिक्षकले अभ्यास दिएका थिए। छुट्टै रणनीति बनाएर कुद्न पठाएको थियो। यसले उनी सफल भइन्।
'राम्रो प्रशिक्षण पाएकाले सफल भएजस्तो लाग्छ। मेरो टिमले गर्दा यहाँ आइपुगेँ,' उनले भनिन्।
अब फ्रान्समा हुने युटिएबीको सबभन्दा ठूलो अल्ट्रा रेसमा भाग लिने उनको लक्ष्य छ। त्यो रेस जितेर देश र आफ्नो परिवारको नाम उँचो बनाउने चाहेको उनी बताउँछिन्।
बाल्यकालमा मृत्यु जितेकी सुनमाया अहिले संसार जित्ने लक्ष्य लिएर हिँडिरहेकी छन्।
सात वर्षअघिको आफ्नो दृढ संकल्पले यहाँसम्म आइपुगेको उनको भनाइ छ। 'परिवारले भनेको मानेर बिहे गरेको भए यहाँसम्म आइपुग्दिन थिएँ। देश-विदेश घुमेर नाम कमाउने अवसर पाउँदिन थिएँ,' उनी भन्छिन्, 'मेरा साथीहरूका तीन-चार बच्चा भइसके। मेरो भने त्यसतर्फ ध्यान नै गएन।'
दौडमा जित्नुबाहेक अब उनलाई आफूले गरेको संघर्ष अरूले भोग्न नपरोस् भनेर सबैलाई सचेतना फैलाउन मन छ।
'गाउँका स्कुलमा गएर बच्चैमा बिहे गर्नु हुन्न, सहयोग गर्यो भने छोरीले पनि राम्रो गर्न सक्छ भनेर सिकाउन मन छ,' उनले भनिन्, 'छोरीले पाल्दैन। छोरीले केही गर्दैन भनेर सोच्न हुन्न। राम्रो सोच्यो भने छोरीले पनि आमाबुबालाई हेर्छ, पाल्छ भनेर सिकाउन मन छ।'
यतिभन्दा उनी निकै भावुक भइन्।
'म पनि मेरा आमाबुबालाई पाल्न सक्छु जस्तो लाग्छु,' उनी भक्कानिइन्।
रूँदै अगाडि भनिन्, 'सानोमा मेरी आमाले छोरीले पढेर जागिर खाएर हामीलाई पाल्छ भन्नुहुन्थ्यो। यस्तो भन्दै कहिलेकाहीँ आमा निकै रूनुहुन्थ्यो। हाम्रो एउटा मात्र दाइ हुनुहुन्छ। अर्को छोरा जन्मिएन भनेर आमा पिर गर्नु हुन्थ्यो। अर्को छोरा जन्माउने भन्दा भन्दै हाम्रो बाबाआमाको सातवटा छोरी जन्मिए।'
गाउँघरका मान्छेले पनि तिमीहरूको एउटा छोरा मात्र जन्मियो, अब बुढेसकालमा तिमीहरू बूढाबूढी मात्र हुन्छौ भन्थे।
सुनमाया पढेको र टाठी भएर होला, आमा सुनमायामै छोराको कल्पना गर्थिन्। 'अरू छोरीलाई देखाउँदै सुनमाया छोरा भएको भए बिहे हुन्थ्यो। एउटा छोरासँग बस्न नसके पनि अर्को छोरासँग बस्थेँ,' आमाको यस्तो कुरा सुनमायाको मनैसम्म गढेको थियो।
'सुनमाया पढेको छ, जानेको छ, यसले हामीलाई हेर्छ,' आमाको मनमा पीडा थियो, 'म बूढो भएँ भने फोहोरी मान्छ होला। बजार बसेको मान्छे हेर्दिन कि! आफ्नै बूढाको पछि लागेर जान्छे कि!'
यस्तो सुनेपछि सुनमायाको मन निकै पोल्थ्यो। उनी मनमनै आमाबालाई सुख दिने कल्पना गर्थिन्।
'पैसा कमाउँछु। बजारमा घर बनाउँछु अनि आमाबालाई राम्रोसँग राख्छु। अहिलेसम्म हामीलाई हुर्काउँदा हुर्काउँदा दु:ख पाउनुभयो। अब सुख दिन्छु,' सुनमाया मनमनै योजना बनाउँछिन्।
उनलाई अब आमाबालाई आफूले देश-विदेशमा कुदेको देखाउन मन छ। कहिल्यै जहाज नचढेका आमाबालाई जहाज चढाएर खुसी दिने मन छ।
त्यसका लागि अल्ट्रा करिअरमा संघर्ष गरिरहेकी सुनमाया अब फ्रान्समा हुने रेसमा संसार जित्न चाहन्छिन्।