निवासगोपाल वैद्य ६३ वर्षका भए। जोस-जाँगर भने १७-१८ वर्षे ठिटोभन्दा कम छैन।
पाटनका स्थायी बासिन्दा उनी नेपाल सोतोकान कराते संघका उपाध्यक्ष र यो खेलका प्रमुख प्रशिक्षक हुन्। तर उनी आफूलाई प्रशिक्षकभन्दा बढी करातेका सामान्य खेलाडी ठान्छन्।
उमेर ढल्किँदै जाँदा पनि कराते अभ्यास गरिरहेकाले उनको 'स्टामिना' कम भएको छैन। आफू बिरामी भएर अस्पताल जानु नपरेको २० वर्ष भएको उनी बताउँछन्। सामान्य रूघाखोकी र टाउको दुखेको कस्तो हुन्छ भन्नेसमेत उनले बिर्सिसके रे।
'सिजन परिवर्तन हुँदा सामान्य रूघाखोकी लाग्नु स्वाभाविक मानिन्छ। तर २० वर्ष भयो, मलाई केहीले छोएको छैन, 'वैद्यले जोसिलो आवाजमै भने, 'कोही कोही त तिमीलाई कहिल्यै केही हुँदैन कि क्या हो पनि भन्छन्।'
उमेरले छ दशक नाघ्दा पनि राष्ट्रिय खेलाडीझैं अभ्यास गरिरहने वैद्यले कराते सिक्न थालेकै ४० वर्ष पुगिसकेको छ।
अहिले पनि उनी दुवै हात भुइँबाट छाडेर जम्पिङ पुस-अप गर्न सक्छन्। दिनमा निरन्तर ४ घन्टासम्म व्यायाम गर्नु उनका लागि सामान्य भइसकेको छ।
उनको यो लगावका पछाडि एक जापानी पर्यटकको लगाव छ।
२०२८ साल तिरको कुरा हो।
वैद्य सानै थिए। त्यो बेला उनले पाटन घुम्न आएका चार जना जापानी पर्यटकले एकदमै हातखुट्टा मर्काउँदै 'किक' हानेको देखे। त्यो देखेर उनी खुबै हौसिए। उनलाई पनि हातखुट्टा मर्काएर उफ्रिँदै किक हान्ने रहर चढ्यो।
वैद्य तिनै पर्यटकको पछि लागेर ठमेलसम्म पुगे। पाटनमा कराते प्रदर्शनी गरेका जापानीको कलाले नै उनलाई त्यहाँसम्म तानेको थियो।
ठमेल पुगेपछि पर्यटकले उनलाई होटलभित्र बोलाए। किक हान्न सिकाए। हातको मुठ्ठी कस्न भने। जापानीहरूले फनफनी घुमेर हानेको किक उनको कान नजिकैबाट जान्थ्यो।
'कान नजिकैबाट खुट्टा घुम्दा सातो नै गएको थियो,' वैद्य सम्झिन्छन्। त्यसपछि उनमा कराते सिक्ने हुटहुटी नै चढ्यो। कालिकास्थानमा कराते सिकाउने ठाउँ पुगेर दुई हप्ता सिके। निरन्तरता दिन भने सकेनन्।
उनको रनाहा त कहाँ रोकियो र!
दुई वर्षपछि उनी लोप्साङ ग्याग्बोसँग सोतोकान कराते सिक्न थाले।
वैद्यका अनुसार त्यतिबेला सोतोकान कराते सिक्न सरकारले प्रतिबन्ध लगाएको थियो। त्यसैले उनीसहित ४० जनाको समूह भूमिगत रूपमा कराते सिक्थ्यो। अझ प्रहरीले थाहा पाउने डरले प्रशिक्षण स्थल फेरिरहन्थ्यो।
'त्यतिबेला पुलिसहरू आफ्नो कार्यालय हाताभित्र कराते सिक्थे। तर बाहिर झगडा पर्ला, सरकारलाई अप्ठ्यारो पर्ला भनेर होला कराते सिक्न प्रतिबन्ध थियो,' वैद्यले भने, 'हामीले डराइडराइ कराते सिक्नुपर्ने अवस्था थियो।'
सिक्नै प्रतिबन्ध करातेको औपचारिक प्रतिस्पर्धा त झन् कसरी होस्! त्यसैले उनले कहिल्यै औपचारिक प्रतियोगिता खेल्न पाएनन्। सितोरियो करातेका साथीहरू मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर प्रतियोगिताको भोक मेट्थे।
कराते खेलेरै जीवन गुजारा गर्न झनै मुस्किल थियो। त्यसैले उनी परिवारलाई औषधि बनाउने काममा सघाउँथे। आफ्ना बुबा दरबारका वैद्य भएकाले औषधि बनाउनु आफूहरूको पुर्ख्यौली पेसा भएको उनी बताउँछन्।
पुर्ख्यौली पेसामा आबद्ध भए पनि उनले कराते अभ्यास गर्न कहिल्यै छाडेनन्। सधैं अभ्यास गरेर मात्र अरू काममा ध्यान दिन्थे।
कराते खेल्न थालेको २३ वर्षपछि भने उनको मिहिनेतले रङ देखायो। २०५१ सालमा उनले सोतोकान कराते संघलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गराए। दर्ता गराएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन बाटो खुल्यो।
यो बेलासम्म उनको उमेर ४० कटिसकेको थियो। रोजीखुसी प्रतियोगितामा भाग लिन पाएनन्। तर सानैदेखि आफूलाई करातेमै समाहित गरेका वैद्य के हार मान्थे! उनले 'भेट्रान'तर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए।
यही सिलसिलामा एक पटक उनी अमेरिकामा भेट्रानतर्फको प्रतिस्पर्धा खेल्न गए। उनीसँगै सागका स्वर्ण विजेता दीपक श्रेष्ठ र भरत विसी पनि थिए। तर अमेरिका पुगेर प्रतिस्पर्धा तयारी क्रममै भरत गायब भइदिए।
'प्रतिस्पर्धा गर्नुअघि भरत साथीकहाँ जान्छु भनेर हिँड्यो। मैले नखेली नजाऊ भनेँ। तर प्रतिस्पर्धा गर्न आउँछु भनेर हिँडेको ऊ गायबै भयो,' वैद्य सम्झिन्छन्। भरत गायब हुनसक्ने शंका भने आफूलाई भएको उनी बताउँछन्।
भरत प्रतियोगितै नखेली गायब भएपछि नेपालमा हल्लिखल्ली मच्चियो।
'नेपालमा फोन गरेर बुझ्दा त मैले पो तीन लाख रूपैयाँ लिएर भगाएको भन्ने हल्ला भएछ,' वैद्यले तीतो क्षण सम्झिए।
यो घटनाले उनलाई निकै नराम्रो अनुभूति दिलायो। दीपक श्रेष्ठ निलम्बनमा परे। वैद्यले पसिना बगाएर दर्ता गरेको सोतोकान कराते संघ खारेज गरियो।
'यो मेरो जीवनकै अप्रिय घटना हो,' त्यतिबेला आफूले गल्ती नगरे पनि सजाय भोग्नु परेकामा उनलाई अहिले पनि नराम्रो लाग्छ।
पछि परिषदका तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठले संघ फेरि दर्ता गर्न दिएको गुन उनले अहिलेसम्म बिर्सेका छैनन्।
'दर्ता गर्न जाँदा त हाम्रो संघ अर्कैले हडपिसकेको रहेछ। तर पनि जीवनराम श्रेष्ठले हामीलाई फेरि संघ दर्ता गर्न दिनुभयो,' उनले भने।
उनको कराते करिअरमा यस्ता उतारचढाव आइरहे। तर आफ्नो शरीरमा भने कहिल्यै परिवर्तन आउन दिएनन् उनले। अचेल पनि विशेष काम परेको अवस्थाबाहेक दिनहुँ कराते अभ्यास गर्छन्। कहिले बिहान बेलुकै गर्छन्।
आफ्नो ज्यान फिट राख्न उनी विशेष खानकी पनि खाँदैनन्। सामान्य दाल, भात, तरकारी नै हो। तर खाना खाइसकेपछि उनको अनौठो लत भने छ- भुटेको मकै।
उनलाई खानापछि भुटेको मकै नखाइ हुँदैन।
'सुरू सुरूमा त साथीहरूले खानापछि भुटेको मकै खाएको भनेर खुब गिज्याउँथे,' उनी भन्छन्।
तर पहिले खिसी गर्नेलाई पनि उनले बानी पारिदिएका छन्, 'अहिले त दाइ, मकै छैन भनेर सोध्छन्।'
उनी करातेलाई खेल मात्र मान्दैनन्, योगका रूपमा लिन्छन्।
'कराते धेरै हिसाबले खेल्न सकिन्छ। एउटा काताबाट कला देखाउने, फाइटमा प्रतिस्पर्धा गर्ने अनि अर्को योग हिसाबले गर्ने,' उनी भन्छन्, 'मैले कराते योगका रूपमा पनि गर्छु।'
एकनासको 'फिट' ज्यानले उनलाई सझैं ऊर्जा दिइराख्छ। धेरै थकाइ लागे पनि उनलाई ३ घन्टा सुते पुग्ने बताउँछन्। धेरै सुते ५ घन्टा।
प्रशिक्षण गर्दा कतिपयको जिउ दुख्छ। उनलाई अहिलेसम्म केही नभएको उनको भनाइ छ। त्यसैले मान्छेको स्टामिना मसल बनाएर मात्र हुन्छ भन्ने उनी मान्दैनन्।
'स्टामिना भनेको मसलले मात्र हुने रहेनछ। मेरो विचारमा आन्तरिक ऊर्जाले हुन्छ। व्यायाम गरिरहँदा भित्रबाटै ऊर्जा प्राप्त हुन्छ,' उनको अनुभव छ।
कहिलेकाहीँ भेट हुने बालसखाहरू वैद्यको ज्यान देखेर छक्क पर्छन्।
'तेरो ज्यान त राम्रो छ। हामी साथीमध्ये सबभन्दा बाँच्ने तैं होला,' साथीले उनलाई भन्छन्, 'हाम्रो त भुँडी लागिसक्यो। भर्याङ पनि उक्लिन सक्दनौं।'
उनी साथीहरूलाई हौस्याउँदै भनिदिन्छन्, 'अहिले पनि कराते अभ्यास गर्दा हुन्छ। यसमा कुनै पनि उमेरहद छैन।'
तर फिट हुन चाहनेका लागि कराते व्यायाम नै गर्नुपर्छ भन्ने उनलाई लाग्दैन।
'धेरै आराम गर्नु राम्रो होइन। काम गर्नुपर्छ, व्यायाम पनि गर्नु पर्छ। मानिसहरू समय निकालेर डेढ-दुई घन्टा हिँडिरहेको छु त भन्छन्। तर पाँच मिनेट कोठामा व्यायाम गर्नु र डेढ घन्टा हिँड्नु उस्तै हो। पाँच मिनेट खुट्टा छिटोछिटो चलाउने र हात छिटो तलमाथि गरे पनि हुन्छ।'
उमेर बढ्दै जाँदा र बाहिरी वातावरण अनुकूल नहुँदा बाहिर हिँड्नुभन्दा घरमै व्यायाम गर्नु राम्रो हुने उनको सल्लाह छ।