नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णाली प्रदेशमा नै सञ्चालन गर्ने व्यवस्था गरिदिन प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गरेको छ।
मन्त्रिपरिषद्को फागुन २७ गतेको बैठकले कर्णाली प्रदेशमा नै नवौं राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्ने व्यवस्था मिलाइदिन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
त्यस अनुसार प्रदेशको चैत ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई उक्त व्यवस्थाका लागि मन्त्रिपरिषद्को निर्णय पत्रमार्फत् पठाएको छ।
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा सञ्चालन हुन सके खेल क्षेत्रको पूर्वाधारको विकासमा ठूलो टेवा पुग्ने हुँदा प्रदेश सरकारले यसका लागि संघसँग अनुरोध गरेको सामाजिक विकासमन्त्री दल रावलले बताए।
सरकारले यस्तो व्यवस्था गरिदिए अन्य पूर्वाधार विकासका लागि प्रदेश सरकार तयार रहेको उनले बताए।
‘संघीय सरकारले यो निर्णय अनुमोदन गरेमा आवश्यक पूर्वाधारहरूको विकास गर्न प्रदेश सरकार तयार छ’, मन्त्री रावलले भने, ‘कर्णालीमा खेल क्षेत्रको विकासका लागि नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता यहाँ आयोजना गर्न अनुरोध गरेका हौं।’
मन्त्री रावलका अनुसार नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने व्यवस्था मिलाउनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि प्रस्ताव राखिएको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता भने आउँदो वैशाखमा प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुँदैछ।