कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले लिओनल मेसीलाई फिफा विश्वकप २०२२ को च्याम्पियन मेडल लगाइदिँदा लुसेल रंगशाला तालीले गुन्जयमान थियो।
मिठो मुस्कान लिएर अमिर थानीको अँगालोमा मेसी बाँधिए। त्यसपछि उनी सुसज्जित मञ्चबाट बिस्तारै अघि बढे। अनि देखे, फिफा विश्वकपको ट्रफी। मेसी टक्क रोकिए। दुई कदम अघि हाँस्दै ट्रफीलाई चुम्बन गरे। उनले त्यत्तिकै छाडेनन्। केहीबेर चुम्बन गरिरहे।
मेसीको अन्तिम लक्ष्य त्यही विश्वकपको ट्रफी थियो। त्यसैले ट्रफी हस्तान्तरण गर्नुअघि नै मेसीले आफूलाई रोक्न सकेनन् र ट्रफीलाई धेरै वर्षपछि भेटेको प्रेमिकाझैं मायाले चुम्बन गरिरहे।
मेडल लगाएपछि ट्रफी दिने पालो आयो। त्यसअघि कतारका अमिरले मेसीलाई ‘अरबियन वारियर्स’ ले लगाउने पोसाक लगाइदिए। पोसाक यहाँका राजपरिवारका सदस्यले मात्र लगाउँछन्। सम्मानस्वरूप मेसीलाई त्यो पोसाक लगाइदिँदा कतारका अमिर पनि उत्साहित देखिन्थे।
पोसाक लगाइदिएपछि फिफा अध्यक्ष जियानी इन्टाफन्टिनोले र कतारका अमिरले मेसीलाई विश्वकप २०२२ को ट्रफी दिए। अनि मेसी त्यो ट्रफी लिएर मेसी अर्जेन्टाइन फुटबलका टिमका सहकर्मीसामू खुसीले उफ्रिँदै अघि गए र ८८ हजार दर्शक सामू ट्रफी उचाले।
यससँगै ३५ वर्षीय मेसीको अन्तिम इच्छा पूरा भयो। आफ्नो २० वर्षको व्यवसायिक करिअरमा मेसीले सबै उपाधि र ट्रफी जितिसकेका थिए। फुटबलका अधिकांश रेकर्ड उनकै नाममा थियो। आफ्नो जादुले सारा फुटबलप्रेमीलाई रोमाञ्चित बनाउने मेसीलाई अन्तिम इच्छा पूरा गर्न भने २० वर्ष कुर्न पर्यो।
मेसीले गत वर्षसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न पाएका थिएनन्। गत वर्ष कोपा अमेरिकामा ब्राजिललाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका मेसीले अन्तत: फिफा विश्वकप २०२२ को उपाधि जितेर सबै उपलब्धि हासिल गरे।
मेसीले अन्तिम लक्ष्य हासिल गर्दा आइतबार अर्जेन्टिना र फ्रान्सबीचको फाइनलमा सबै खाले रोमाञ्चकता प्रत्यक्ष आँखा देख्ने मौका जुर्यो। सायद विश्वकपको इतिहासमा यस्तो अद्भूत फाइनल हामीले फेरि कहिल्यै देख्न पाउने छैनौं।
अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदासम्म खेलमा सबथोक भएको थियो। ३-३ गोलको बराबरी सकिएको खेलमा रोमाञ्चकताबाहेक केही थिएन।
एकातिर मेसी र अर्कातिर केलियन एमबाप्पेको अद्भूत खेल थियो। पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सलाई चल्न दिइरहेको थिएन। २-० को अग्रतामा अघि बढिरहेको फ्रान्सले दोस्रो हाफमा विस्तारै खेलमा प्रभाव जमाइरहेका थियो। ९७ सेकेन्डभित्रमा एमबाप्पेले दुई गोल फर्काउँदा रंगशालाको माहोल पूरै फेरिएको थियो। फ्रान्सका समर्थक खुसीले नाचिरहेका थिए भने अर्जेन्टिनाका समर्थक स्तब्ध।
खेलबारे इंग्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले भनेका छन्, ‘हामी सास फेर्न नसकेको स्थितिमा थियौं, यो अविश्वसनीय फाइनल थियो। मैले यस्तो कहिल्यै देखेको थिइनँ र मलाई लाग्दैन कि म फेरि त्यस्तो कहिल्यै देख्नेछु। यो अचम्मको थियो।’
मेसीले २३ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने १३ मिनेटपछि एन्जल डि मारियाले अग्रता दोब्बर बनाएका थिए ।
फ्रान्स अस्तव्यस्त थियो, एमबाप्पे विपक्षी बक्समा थिएनन् र आधा घन्टासम्म फ्रान्सका कुनै पनि खेलाडी राम्रो स्थितिमा थिएनन्।
विपक्षी पोस्टमा कुनै प्रहार गर्न नसकेपछि प्रशिक्षक डिडियर डेसचेम्प्सले ४१ मिनेटमा ओलिभियर जिरू र ओस्मान डेम्बेलेलाई बाहिर निकाले। कोलो मुआनी र मार्कस थुरामलाई मैदान छिराए।
हाफ टाइममा अर्जेन्टिनाले २-० को अग्रता लिएको र फ्रान्सले कुनै पनि प्रहार पोस्टमा हान्न नसकेपछि धेरैले खेल अर्जेन्टिनाले जित्ने अनुमान लगाइसकेका थिए।
तर उनीहरूको अनुमान गलत सावित भयो। दुई खेलाडी परिवर्तन गरेको प्रभावस्वरूप ६७ मिनेटपछि फ्रान्सले अर्जेन्टिनामाथि तीव्र दबाब दिन थाल्यो। फलस्वरूपमा ८० मिनेटपछिको ९७ सेकेन्डमा उसले दुई गोल फर्काउँदै खेल बराबरीमा ल्याइदियो। निकोलस ओटामेन्डीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले सहज गोल गरे।
त्यसपछि फ्रान्सका समर्थकमा उर्जा थपिएको थियो। जब एम्बाप्पेले ९७ सेकेन्डपछि भली सर्टमार्फत गर्दै २-२ को अग्रता रंगशालामा माहोल पूरै तातिएको थियो।
सायद यो मेसीको दिन थियो। उनले १०८ मिनेटमा रिबाउन्डमा गोल गर्न सफल भए। तर फेरि फ्रान्सले पेनाल्टी पाउँदा एबाप्पेले ह्याट्रिक गर्दै खेललाई ३-३ को बराबरीमा ल्याइदिए।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनका गोलकिपरले फ्रान्सका कोमानको प्रहारलाई विफल पारे। फ्रान्सका चाउमेनीको प्रहार बाहिरिँदा खेलमा दुई पटक आफ्नो अग्रता गुमाएको अर्जेन्टिनाले अन्ततः सन् १९८६ पछि पहिलो पटक ट्रफी उचाल्यो।
मेसीले आफ्नो सपना पूरा गरे। मेसीको करिअरमा खाली ठाँउ भर्न बाँकी अन्तिम ट्रफी देशका लागि अन्तिम भनिएको खेलमा पूरा भयो।
इतिहासको सबैभन्दा शानदार विश्वकप फाइनल पछि मेसीले आफ्नो सपना पूरा गरे।
सात बालोन डि'ओर, चार च्याम्पियन्स लिग, एक कोपा अमेरिका, बार्सिलोनाबाट १० ला लिगा उपाधि र पेरिस सेन्ट जर्मेनबाट फ्रान्समा लिगसँगै मेसीले विश्वकपको ताज पनि उचाले।
यो सपना मेसीको मात्र थिएन, संसारभर रहेका अर्जेन्टिना र उनका समर्थको पनि थियो।
यससँगै मेसीलाई धेरैलाई सर्वकालीन महान् फुटबल खेलाडी भनिरहेका छन्। यो भनाइलाई प्रतिवाद गर्नेलाई पनि सायद अब आफ्नो तर्क प्रस्तुत गर्न कठिन हुनेछ।
मेसीलाई सधैँ रोनाल्डोसँग तुलना गरिन्छ। अब उनले पेले र म्याराडोनाकै स्तरमा बनाएका छन्। ३६ वर्षअघि म्याराडोनाले १० नम्बरको जर्सी लगाएर विश्वकपको उपाधि उचालेका थिए। त्यही १० नम्बरको जर्सीमा मेसीले अर्जेन्टिनालाई फेरि विश्व च्याम्पियन बनाएका छन् र आफूलाई एउटा महान् खेलाडी भएको सावित गरेका छन्।
मेसिले सन् २००६ सम्मको विश्वकपदेखि नै सपना नदेखेका होइनन्। २०१४ मा नजिक पनि पुगेका थिए। तर फाइनलमा जर्मनीसँग हार्दा निराश भएका थिए। त्यसपछि त झन् मेसीका लागि कोपा अमेरिका एउटा दुर्भाग्य नै बनिदियो। लगातार तीन फाइनल पुगेर पनि उपाधिबाट बञ्चित भए।
गत वर्ष कोपाको फाइनलमा ब्राजिललाई हराएपछि अर्जेन्टिनाले यो शताब्दिमा पहिलो उपाधि जितेको थियो।
फिफा विश्वकप २०२२ मा सुरूवात भने राम्रो हुन सकेन। पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनालाई धक्का लागेको थियो। कतिपय विपक्षी समर्थकले ‘मेसी कहाँ छन्?’ भनेर समेत खिल्ली उडाएका थिए।
त्यसपछिका खेलमा भने अर्जेन्टिनाले उत्कृष्ट खेल देखायो। साउदीपछिका हरेक खेलमा मेसीले जादू देखाए। अन्तिम सबै भन्न बाध्य भए, ‘मेसी यहाँ छन्।’
पहिलो खेल हारे पनि अन्तिम खेल जित्दै मेसीले आफ्नो सपना पूरा गरे।
फ्रान्सविरूद्ध हार्ने स्थिति पनि आइसकेको थियो। तर पेनाल्टी सुटआउटमा जब गोन्जालो मोन्टिएलले निर्णायक पेनाल्टीमा गोल गरे। मेसीले आफ्नो घुँडा टेकेर रोए अनि अर्जेन्टिनाको हल्का निलो र सेतो धारीदार जर्सीमा आफ्ना हातहरू उठाएर आकाशतर्फ हेर्दै सायद भगवानलाई धन्यवाद दिए। - बिबिसीसहित विभिन्न एजेन्सीको सहयोगमा