फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार राति (नेपाली समयअनुसार ८:४५ बजे) हुने फाइनल भिडन्त अविमस्णीय हुँदैछ। विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि अन्तिम खेल खेल्दैछन्।
आफ्नो ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही पनि लालायत हुनेमा दुई मत छैन। अझ त्यही खेलले मेसीलाई विश्व च्याम्पियन बनाउन सक्छ भने त्योभन्दा अद्भूत क्षण के होला?
कतारको लुसेलस्थित लुसेल रंगशालामा मेसीले साउदी अरेबियासँग पहिलो खेल खेलेका थिए। त्यसपछि उनले यो रंगशालामा मेक्सिकोविरुद्ध पनि खेले। त्यही खेलमा विश्वकप २०२२ को पहिलो जितको स्वाद चाखे। समूह चरणमा पोल्यान्डसँग ९७४ रंगशालामा खेलेपछि अस्ट्रेलियासँगको अन्तिम १६ को खेल भने अहमद बिन अली रंगशालामा भएको थियो।
त्यसपछि दुवै खेल उनले लुसेल रंगशालामै खेलेका छन्। नेदरल्यान्ड्स विरुद्धको क्वार्टरफाइनल र क्रोएसिया विरुद्धको सेमिफाइनलमा उनले लुसेलमा आफ्नो जादू देखाएका थिए।
जारी विश्वकपमा खेलेका ६ खेलमध्ये ४ खेल लुसेलमा खेलिरहेका मेसीका अन्तिम खेल पनि यही रंगशालामा हुँदैछ। उनका लागि यो मैदान ‘होम ग्राउन्ड’ जस्तै भएको छ। के थाहा मेसीका लागि झन्डै ९० हजार दर्शक अट्ने रंगशाला एउटा ‘लक’ पो बनिदिन्छ कि!
३४ वर्षीय मेसीका लागि क्लब फुटबलमा हासिल गर्नु पर्ने उपलब्धि केही बाँकी रहेन। गत वर्षसम्म देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने चुनौती थियो। त्यो पनि उनले कोपा २०२१ मा ब्राजिललाई हराएर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडिदिए।
मेसीको जारी विश्वकपमा देखाएको प्रदर्शनले उनी अब विश्व फुटबलको महान खेलाडी भएको बहस नै गर्न नपर्ने कतिपय फुटबल विश्लेषकको दाबी छ।
मैदानको चारै भागमा छाउने मेसीले फुटबलको सुन्दर खेललाई अझ सुन्दर बनाइदिएका छन्, आफ्नो कलात्मक फुटबलले। त्यसैले होला सबै फुटबलप्रेमीको अब एउटा चाहना हुनसक्छ- मेसीले यो विश्वकपको उपाधि उचालुन।
तर उपाधि जित्नका लागि मैदानमा लड्न पर्छ, विपक्षीको पोस्टमा गोल हानेर खेल जित्न पर्छ। मेसीका लागि बिदाइ खेल सहज छैन। अर्जेन्टिनाले प्रतियोगिताकै सबैभन्दा बलियो टिम अझ साविक विजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ। टिममा विश्वकपका नाम चलेका प्रतिभाशली खेलाडीको जमघट छ। अझ अहिलेका युवा स्टार केलियन एमबाप्पे टिममा छन्।
मेसीलाई झैं एमबाप्पेलाई पनि यो विश्वकप उतिकै महत्वपूर्ण छ। उनी २३ वर्षका भए। १९ वर्षको उमेरमा चार वर्षअघि रसियामा विश्वकपको ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेर अर्को ट्रफी उचालेर इतिहासमा आफ्नो स्वर्ण अक्षरले लेख्न चाहन्छन्।
त्यो इतिहास लेख्नका लागि एमबाप्पेमा क्षमता पनि छ। एमबाप्पेको सबैभन्दा ठूलो हतियार उनको गति हो। उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ। उनी लगभग ३५ किलोमिटर प्रति घण्टाको औसत गतिमा दौडन्छन्।
उनको गतिलाई चुनौती दिनेहरू पनि छन्, तर एमबाप्पेसँग गोल गर्ने गति र क्षमता छ अरु खेलाडीको भन्दा फरक किसिमको।
मेसीले आफ्नो लागि विश्वकप जित्ने अन्तिम अवसर भएको भनिरहदा एमबाप्पेले आफ्नो लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने बताएका छन्। जारी विश्वकपमा दुवैले पाँच-पाँच गोल गर्दै गोल्डेन बुटको लागि अग्रपंक्तिमा छन्।
मेसीका लागि आइतबारको खेल अन्तिम खेल हुँदा अर्का स्टार खेलाडी रोनाल्डोका लागि यो विश्वकप अन्तिम मानिएको छ। रोनाल्डोको टिम पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोको विश्वकप सपनाको अन्त्य भएको थियो।
रोनाल्डो र मेसीपछि एम्बाप्पेमा मात्रै त्यो कदको स्टार खेलाडी बन्ने सम्भावना रहेको विश्लेषण छ।
एमबाप्पे
आइडल: क्रिस्टियानो रोनाल्डो
तुलना गरिने खेलाडीहरू: थियरी हेनरी, रोनाल्डो
प्रशिक्षकहरु : लियोनार्डो जार्डिम, डिडियर डेसचम्प्स, उनाई एमरी, थोमस टुचेल, मौरिसियो पोचेटिनो, क्रिस्टोफ गाल्टियर
मनपर्ने खुट्टा: दायाँ
उचाइ: १.७८ मिटर
मेसी
आइडल : पाब्लो आइमार
तुलना गरिने खेलाडी: डिएगो म्याराडोना
प्रशिक्षकहरू: फ्रान्क रिजकार्ड, जोसे पेकरम्यान, अल्फिओ बासिल, पेप गार्डियोला, डिएगो म्याराडोना, सर्जियो बाटिस्टा, अलेजान्ड्रो साबेला, टिटो भिलानोभा, टाटा मार्टिनो, लुइस एनरिक, एडगार्डो बाउजा, अर्नेस्टो भाल्भर्डे, जर्ज साम्पाओली, एल क्यूएल, रोनाल्ड कोमन, मौरिसियो पोचेटिनो, क्रिस्टोफ गाल्टियर
मनपर्ने खुट्टा: बायाँ
उचाइ: १.७० मिटर
अन्तर्राष्ट्रिय फुटबल
एमबाप्पे
६५ खेल
३३ गोल (०.५१)
२३ एसिस्ट (०.३५)
३९ जित, १६ बराबरी, १० हार
मेस्सी
१७१ खेल
९६ गोल (०.५६)
५५ एसिस्ट (०.३२)
१०५ जित, ३९ बराबरी, २७ हार
विश्वकप
एमबाप्पे
खेल : १३
गोल: ९ (०.६९)
एसिस्ट : २ (०.१५)
११ जित, १ बराबरी, १ हार
मेसी
खेल : २५
गोल : ११ (०.४४)
एसिस्ट : ८ (०.३२)
१६ जित, चार बराबरी, पाँच हार