कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल आज हुँदैछ। नेपाली समय अनुसार आज राति १२:४५ बजे लुसेल रंगशालामा हुने खेलबाट फाइनलमा पुग्ने पहिलो टोलीको टुंगो लाग्नेछ।
हालसम्म ६४ मध्ये ६० खेल सकिएका छन्। चार राष्ट्र (क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को) ले अबका बाँकी चार खेल खेल्नेछन्। यो सँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ। यीनै चार मध्ये एकले उपाधि जित्ने पक्का छ।
यस्तै प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट अवार्ड प्रदान गर्दै आएको छ।
यसपालि सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्।
फ्रान्सका केलिएन एम्बाप्पेले सर्वाधिक ५ गोल गर्नुका साथै दुई असिस्ट गरेर यो दौडमा अगाडि छन्। उनलाई फ्रान्सकै ओलिभर जिरउड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४-४ गोलसहित पछ्याइरहेका छन्।
प्रतियोगितामा तीन गोल गरेका ७ खेलाडी (पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पो) यो उपाधि होडबाट बाहिरिसकेका छन्।
केलियन एम्बाप्पे (फ्रान्स):
फ्रान्सका २३ वर्षीय युवा एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ५ गोल गरिसकेका छन् उनले ५ खेलबाट ५ गोल गर्दै गोल्डेन बुटमा सबैभन्दा अगाडि छन्। उनले दुई असिस्ट समेत गरेका छन्।
समूह चरण अन्तर्गत समूह डी रहेको फ्रान्सका लागि पहिलो खेलमा अष्ट्रेलिया विरूद्धको १ गोल गरेका उनले दोस्रो खेलमा डेनमार्क विरूद्ध दुई गोल गरे। यस्तै तेस्रो खेलमा ट्युनिसिया विरूद्ध गोल गर्न सकेनन् तर उनले दुई असिस्ट दिएका थिए।
प्री क्वाटरफाइनलमा पोल्याण्डविरूद्ध २ गोल गरेका उनले क्वाटरफाइनलमा इंग्ल्याण्डविरूद्ध गोल गर्न सकेनन्। उनी गोल्डेन बुटका बलियो दाबेदार हुन्।
लिओनल मेसी (अर्जेन्टिना):
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा एम्बाप्पेलाई पछ्याइरहेका छन्।
सम्भवतः ३५ वर्षीय मेसीले समूह सी को पहिलो खेलमा साउदी अरेबिया विरूद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए। समूहको दोस्रो खेलमा मेक्सिकोविरूद्ध मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए। पोल्याण्ड विरूद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन्।
अन्तिम १६ मा अष्ट्रेलिया विरूद्ध जित निकाल्दा मेसीले एक गोल गरेका थिए। क्वाटरफाइनलमा मेसीले नेदरल्याण्ड्स विरूद्ध एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए।
७ पटकको बालोन डी’ओर विजेता मेसीले यो पटक विश्वकपको गोल्डेन बुट जित्ने मौका छ। यसका लागि आज हुने क्रोएसियाविरूद्धको खेलमा गोल गर्नुपर्ने हुन्छ।
ओलिभर जिरउड (फ्रान्स):
फ्रान्सका ओलिभर जिरउडले जारी विश्कवमपा ४ गोल गर्दै सर्वाधिक गोलको दौडमा आफ्नै देशका केलियन एम्बाप्पेलाई पछ्याइरहेका छन्। उनले हालसम्म असिस्ट भने गरेका छैनन्। ३६ वर्षीय जिरउडले यसै विश्वकपमार्फत फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन्। समूह चरण अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया विरूद्ध दुई गोल गर्दै उनले फ्रान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान बराबरी गरेका थिए।
समूह डी रहेको फ्रान्सका लागि उनले पहिलो खेलमा अष्ट्रेलियाविरूद्ध २ गोल गरेका थिए भने। दोस्रो खेलमा डेनमार्क र तेस्रो खेलमा ट्यूनिसियाविरूद्ध गोल गर्न सकेनन्।
अन्तिम १६ मा पोल्याण्ड विरुद्ध एक गोल गरेका जिरउडले इंग्ल्याण्डविरूद्धको क्वाटरफाइनलमा १ गोल गर्दै कुल गोल संख्या ४ पुर्याएका छन्।
प्रतियोगिताभर सबैभन्दा बढी गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुट अघिल्लो संस्करणमा इङ्ल्याण्डका कप्तान ह्यारी केनले पाएका थिए। यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोलका लागि गरेको सहयोग गणना गरिन्छ। यदि एक भन्दा बढी खेलाडी गोल र सहयोग पनि बराबर भए प्रतियोगितामा कम समय खेलेका खेलाडीलाई विजेता छानिनेछ।