शनिबार कतारको अल थुमामा रंगशालामा विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा यसअघि कहिल्यै नभएको घटना भयो। विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक कुनै अफ्रिकी तथा अरब मुलुक सेमिफाइनल खेल्ने भयो।
आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोले फुटबलमा रचेको इतिहासले अफ्रिका र अरब संसारमा खुसी हुने नयाँ बहाना दियो। रंगशालामा उपस्थित मोरक्कोका हजारौं समर्थक र मैदानमा रहेका खेलाडी र प्रशिक्षकले उत्सव मनाए।
पढ्नुस्:
त्यो उत्सव र खुसीका बीचमा एउटा मान्छे भावुक भएर मैदानबाट निस्कियो। सम्हाल्दा-सम्हाल्दै उसले आफूलाई थाम्न सकेन र टनेलमा जोडिएका क्यामेरामा उसले आँशु पुछ्दै हिँडिरहेका दृश्य कैद भए।
भावविह्वल भएर मैदान छोडेका ती खेलाडी समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डो थिए। उनी स्वयं र उनका समर्थकले विश्वकपबाट रोनाल्डोको बिदाइको क्षण यस्तो होला भन्ने सायदै कल्पना गरेका थिए।
सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोको बच्चैदेखि फुटबलमा लगाव थियो।
पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग २००३ को अगस्टमा एक मैत्रीपूर्ण खेल हुँदा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडी रोनाल्डोको खेल देखेर मन्त्रमुग्ध भएका थिए।
फर्कँदा जहाजमै उनीहरूले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनलाई ‘यो केटोलाई जसरी पनि हाम्रोमा ल्याऔं’ भनेका थिए रे।
त्यसको केही समयमै १८ वर्षीय रोनाल्डोलाई युनाइटेडले किनेको थियो। त्यसपछि उनको फुटबल करियर निरन्तर उकालो लाग्यो।
इंग्लिस फुटबलर डेभिड बेकह्याम युनाइटेडका प्रशिक्षक फर्गुसनसँग झगडा परेर रियल म्याड्रिड गएपछि उनको प्रख्यात ७ नम्बर जर्सी अठार वर्षीय त्यही ठिटो रोनाल्डोलाई दिइएको थियो। युनाइटेडको इतिहासमा विभिन्न कालखण्डमा महान् खेलाडीहरूले लगाएको जर्सी नम्बर ७ रोनाल्डोलाई दिँदा धेरैले उडाएका थिए। तर त्यसपछिका ६ वर्षमा उनले त्यो जर्सीका लागि आफू योग्य भएको मात्र सावित गरेनन्, युनाइटेडको इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी बनेर देखाए।
सुरू-सुरूमा उनी नचाहिने गरी विपक्षी खेलाडीहरूलाई छक्याएर प्रशिक्षक र खेलाडीलाई मात्र नभएर दर्शकलाई पनि दिक्दारी लगाउने शैली भएका रोनाल्डो कडा मिहिनेत गरेर आफ्नो खेललाई उच्च स्तरको बनाएका थिए। २००६ सम्ममा उनी युनाइटेड प्रमुख खेलाडीहरूमध्ये भइसकेका थिए।
त्यही वर्ष भएको विश्वकपको क्वार्टरफाइनल खेलमा युनाइटेडबाटै खेल्ने इंग्ल्यान्डका युवा स्ट्राइकर वेन रूनीलाई रातो कार्ड दिलाएपछि युनाइटेडमात्र नभएर सारा इंग्ल्यान्डका समर्थकहरू उनीसँग क्रोधित भएका थिए। रूनी रातो कार्ड पाएर बाहिरिँदै गर्दा रोनाल्डोले आँखा झिम्क्याएको दृश्यले आगोमा घ्यु थपेको थियो।
उनी स्वंयले पनि त्यसपछि म्यान्चेस्टर युनाइटेडमा आफ्नो खेल जीवन सकिएको महशुस गरेका थिए। तर फर्गुसनले रूनी र रोनाल्डोको सुलह गराएर रोनाल्डोलाई क्लबमै रहने वातावरण मिलाएका थिए।
त्यसपछि रूनी र रोनाल्डोको जोडीले युनाडेटलाई लगातार तीन पटक प्रिमियर लिग र एउटा च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
सानैदेखि स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने सपना बोकेका रोनाल्डो सन् २००९ मा त्यतिबेलाको सबैभन्दा महंगो मूल्यमा म्याड्रिड गए। म्यान्चेस्टर युनाइटेडका लागि अन्तिम सिजनमा गरेको उत्कृष्ट प्रदर्शनका लागि फिफा वर्ष खेलाडी बनेका रोनाल्डोको करियर म्याड्रिड गएपछि नयाँ उचाइमा पुग्यो। म्याड्रिडको चीर प्रतिद्वन्द्वी बार्सिलोनामा उदाइरहेका उनीभन्दा दुई वर्ष कान्छा लियोनल मेसीसँगको प्रतिस्पर्धाले उनको खेल कौशल अझ निखार्यो।
इतिहासकै सबैभन्दा उत्कृष्ट क्लब टोली मानिएको त्यतिबेलाको बार्सिलोनासँग रोनाल्डोको म्याड्रिडले दोस्रोमा चित्त बुझाउनु परे पनि व्यक्तिगत प्रदर्शनमा रोनाल्डोले मेसीलाई टक्कर दिइरहे।
बार्सिलोनाले लिगमा अधिपत्य जमाइरहेका बेला रोनाल्डोले म्याड्रिडलाई दुई पटक लालिगाको उपाधि दिलाएका छन्। तर रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा भने म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै आएको थियो।
रोनाल्डोले म्याड्रिडमा हुँदा चार वटा च्याम्पियन्स लिग उपाधि दिलाएका छन् र म्यान्चेस्टर युनाइटेडमा हुँदा जितेको एकसहित उनी पाँच वटा च्याम्पियन्स लिग उपाधि जितेका छन्।
च्याम्पियन्स लिगमा रोनाल्डोले सबैभन्दा बढी १४० गोल र ४२ गोल एसिस्ट गरेका छन्।
बेकह्यामको स्थान दाहिने विंगबाट सुरू गरेका रोनाल्डो युनाइटेडबाट खेलेका पछिल्ला सिजनहरूमा उत्कृष्ट गोलकर्ता पनि बनेका थिए। म्याड्रिड गएपछि बिस्तारै उनी विंगरबाट स्ट्राइकरमा परिणत भए। म्याड्रिडमा हुँदा उनले अपत्यारिलो २९२ खेलमा ३११ गोल हानेका छन्।
पेलेका समकालीन युसेबियोले सन् १९६६ मा पोर्चुगललाई विश्वकपको तेस्रो स्थान दिलाएपछि पोर्चुगल विश्व फुटबलमा औसत टोलीमात्र रह्यो। लुइस फिगो, रूइकोस्टालगायतका पोर्चुगलको गोल्डेन जेनेरेसनका खेलाडीले पोर्चुगललाई फेरि विश्वकप फुटबलको मानचित्रमा स्थापित गरे।
सन् २००२ मा कोरिया र जापानमा भएको विश्वकपमा पोर्चुगल कोरियासमेत रहेको समूह डीबाट अघि बढ्न सकेन। त्यसपछि उदाएका रोनाल्डोले फिगो र रूइकोस्टाको विरासतलाई साथ दिएर पोर्चुगललाई मजबुद् बनाए। घरेलु मैदानमा भएको २००४ को युरो कप रोनाल्डोको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। त्यसमा फाइनलसम्मको यात्रा तय गरेको पोर्चुगल फाइनलमा औसत टोली ग्रिससँग स्तब्ध भयो। उपाधि नजिते पनि उक्त प्रतियोगितामा रोनाल्डोको प्रदर्शन विश्वभरिका फुटबल प्रेमीको नजरमा पर्यो।
२००६ को विश्वकपसम्म आइपुग्दा रोनाल्डो फिगोलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी बनिसकेका थिए। त्यसपछि फिगो र गोल्डेन जेनेरेसनका अरू खेलाडीले संन्यास लिएपछि रोनाल्डो एक्लैले औसत पोर्चुगललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा दाबेदार टोलीका रूपमा अघि बढाए।
पोर्चुगलबाट राम्रो खेले पनि उनको प्रदर्शन म्याड्रिडबाट खेलेजस्तो राम्रो रहेन र उनले सन् २०१६ सम्म पोर्चुगललाई कुनै पनि उपाधि दिलाउन सकेनन्।
२०१६ पछि भने रोनाल्डोको देशका लागि प्रदर्शनले गति समात्यो र झन्डै म्याड्रिडकै तहमा उनले पोर्चुगलका लागि खेले।
सुरूका १२५ खेलमा उनले पोर्चुगलका लागि ५६ गोलमात्र गरेका रोनाल्डोले जुन २०१६ पछिका ६७ खेलमा पोर्चुगलका लागि ६२ गोल हाने। त्यही वर्ष जुनमा भएको युरो कपको उपाधि पनि पोर्चुगलले जित्यो।
सन् २०१६ पछि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल हान्ने रेकर्ड आफ्नो नाममा पारेका छन्।
क्लबमा सर्वोत्कृष्ट प्रदर्शन र पाँच पटक बालेन डोर जितेका रोनाल्डोले विश्वकपको ट्रफीबाहेक फुटबल दुनियाँमा पाउन अरू केही बाँकी थिएन। उनको खेल जीवनको अन्तिमतिर भइरहेको यसपालिको विश्वकप उनको सपना पूरा गर्ने अन्तिम मौका थियो।
यसपालिको विश्वकप सुरूदेखि नै रोनाल्डोले चाहेजस्तो भइदिएन। समूह चरणमा सबै खेल खेलेका उनले घानाविरूद्धको पहिलो खेलमा पेनाल्टीबाट एक गोल पनि हाने। त्यो गोलसँगै पाँच वटा विश्वकपमा लगालग गोल गर्न पहिलो पुरूष खेलाडी बनेका थिए।
उरूग्वेसँगको दोस्रो खेलमा ५४ औं मिनेटमा आफूले हेडिङबाट गोल गरेको ठानेर रोनाल्डोले सेलिब्रेट गरेका थिए। तर फिफाले रोनाल्डोले उक्त बल नछोएको रूलिङ गर्दै उक्त गोल बुर्नो फर्नान्डेजका नाममा दिएको थियो।
दक्षिण कोरियाविरूद्धको समूह चरणको अन्तिम खेलमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई ६५ औं मिनेटमा निकाले। त्यसपछि रोनाल्डोको व्यवहारका कारण उनलाई स्विट्जरल्यान्डविरूद्धको प्रिक्वार्टर फाइनल खेलमा बेन्चमै राखियो। उनको ठाउँमा आएका २१ वर्षीय गोन्सालो रामोसले ह्याट्रिक गरे भने ७३ औं मिनेटमा मैदानमा प्रवेश गरेका रोनाल्डोले गोल गर्न सकेनन्।
मोरक्को विरूद्धको क्वार्टरफाइनलमा पनि रोनाल्डो सान्तोसका पहिलो रोजाइका खेलाडी बन्न सकेनन्।
पहिलो हाफमा एक गोलले पछि परेपछि सान्तोसले ५१ औं मिनेटमा रोनाल्डोलाई मैदानमा उतारे। मैदानमा पसेपछि रोनाल्डोले राम्रो प्रदर्शन गरे पनि यो प्रतियोगिताभर विपक्षीलाई एक गोल पनि हान्न नदिएको (क्यानडाविरूद्ध समूह चरणको खेलमा एक आत्मघाती गोलबाहेक अरू गोल खाएको छैन) मोरक्कोको अभेद्य रक्षापंक्ति पार गरेर खेल आफ्ना पक्षमा पार्न सकेनन्।
जसै खेलको समय घर्किँदै थियो, रोनाल्डोको अनुहारमा तनाव झनै बढ्दै गएको देखिन्थ्यो। समय सकिएपछि उनी मैदानमा धेरै रहेनन्। अघिल्लो दिन क्वार्टरफाइनलबाट बिदाइ भएका ब्राजिलका सुपरस्टार नेइमार मैदानमै रोएको घटनाले विश्वव्यापी चर्चा पाएकाले हुन सक्छ रोनाल्डो आँसु नझारीकनै मैदानबाट ड्रेसिङ रूम छिर्न टनेलतिर लागे। टनेलमा भने उनले आँखामा टिल्पिलाएका आँसु थाम्न सकेनन्।
अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा संन्यास घोषणा नगरे पनि आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्ने रोनाल्डो आउने विश्वकपमा सायदै मैदानमा हुने छन्। पाँच विभिन्न विश्वकपमा ८ गोल गरे पनि नकआउट चरणमा एक गोल पनि आफ्नो नाममा पार्न नसकेको कुरा रोनाल्डोलाई सधैंभरि खट्किन सक्छ।
विश्व फुटबलका यी महान् खेलाडीको यो बिदाइको क्षण रोनाल्डोका लागि मात्र होइन संसारभरि रहेका उनका समर्थकका लागि पनि पीडादायी बन्यो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित।)