आइतबार बिहान साढे दुई बजे।
कतारको राजधानी दोहास्थित मेट्रो स्टेशनभित्र कोही मानिसहरू खुसीले उफ्रिरहेका थिए। कोही गीत गाएर रमाइरहेका थिए। ठूल्ठूलो स्वरमा उनीहरूले अरबी गीत गाइरहँदा मेट्रोमा चढ्ने र झर्ने यात्रु उत्सुक भएर हेरिरहेका थिए। मध्यरातमा मेट्रो स्टेशनमा उत्सव मनाउनेहरू मोरक्कोका समर्थक थिए।
बिहान हुन लागिसकेको थियो। मोरक्कोका फुटबल समर्थकले भने खुसी मनाउन भने छाडेका थिएनन्। उनीहरूको खुसी क्षणभरमै सकिने खालको पनि त थिएन। केही घन्टापछि उदाउने सूर्यसँगै नयाँ बिहानी मात्र आउने होइन उनीहरूका लागि नयाँ युगको सुरूआत हुन लागेको थियो।
शनिबार राति पोर्चुगललाई १-० गोलले हराएर फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेर मोरक्कोले इतिहास रच्यो।
पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्कोले अफ्रिका महादेशका लागि पनि कीर्तिमान बनायो। उनीहरू अझ अरब क्षेत्रबाट पहिलो पटक अन्तिम चारमा पुग्ने टिम हुँदा गर्व गरिरहेका छन्।
कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले सनसनी मच्चाइरहेको छ। अरू देशका खेलाडीमात्र होइन समर्थक र मिडियामा पनि विश्वकप सुरू हुनुभन्दा महिनौं पहिलादेखि उनीहरूको चर्चा हुन्छ। मोरक्कोलाई त मानिसहरूले समूह चरणका खेल सुरू भइसके पनि धेरैले यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनन्।
अहिले भने संसारभरिका फुटबल प्रेमी अब मोरक्कोले के गर्ला भनेर उत्सुक छन्।
कतारमा अहिले कसैका बढी समर्थक देखिन्छन् भने त्यो अर्जेन्टिना र मोरक्कोकै हुन्। अर्जेन्टिनालाई विश्वभरका समर्थकका साथ भए पनि मोरक्कोलाई कतारीको पनि समर्थन छ।
आन्ध्र महासागर र भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक मोरक्कोमा अफ्रिकी र अरब संस्कृतिको मिश्रण छ। कतार र मोरक्को सुमधुर सम्बन्ध भएका राष्ट्र हुन्। अरू छिमेकी अरब राष्ट्रले कतारमाथि प्रतिबन्ध लगाउँदा मोरक्कोले भने समर्थन गरेको थियो। अरू देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्न मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो। भावनात्मक रूपमा जोडिएका मोरक्को र कतारलाई अहिले फुटबलले झन् नजिक पुर्याएको छ।
मोरक्कोका १५ हजारभन्दा बढी मानिस कतारमा छन्। समर्थकसँगै खेलाडीका परिवारको पनि ठूलो साथ छ। हरेक खेलमा खेलाडीका परिवार रंगशालामा उपस्थित भएर हौसला बढाइरहेका छन्।
समूह चरणमा मोरक्कोले गत संस्करणको उपविजेता क्रोएसियाविरूद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा बेल्जियमलाई २-० गोलले पराजित गरेपछि त मोरक्कोले सनसनी नै मच्चायो। फिफा वरीयतामा दोस्रो स्थानमा रहेको टिम बेल्जियम गत वर्ष सेमिफाइनलमा पुगेको थियो। तेस्रो खेलमा क्यानडामाथि २-१ को जित निकालेपछि मोरक्को अन्तिम १६ मा पुग्यो।
अन्तिम १६ मा मोरक्कोको भेट पूर्वच्याम्पियन स्पेनसँग भएको थियो। निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकियो। पेनाल्टी सुटआउटमा मोरक्को भाग्यमानी सावित भयो।
शनिबार पोर्चुगलविरूद्धको क्वार्टरफाइनलमा मोरक्कोले उत्कृष्ट खेल देखायो। १-० गोलको जित निकाल्दै इतिहास रच्यो। जारी विश्वकपमा मोरक्कोले अहिलेसम्म एउटा मात्र गोल खाएको छ, त्यो पनि आत्मघाती। विश्वविजेता स्पेनदेखि युरो विजेता पोर्चुगलका स्ट्राइकरहरूले अहिलेसम्म मोरक्कोको गोलपोष्टमा बल छिराउन सकेका छैनन्। मोरक्कोका खेलाडीले भने अहिलेसम्म विपक्षीको पोष्टमा पाँच गोल हिर्काइसकेका छन्।
विश्वकपमा सनसनी मच्चाउने अहिलेको अवस्थासम्म आइपुग्न मोरक्कोको फुटबलले लामो यात्रा पार गरेको छ। सन् १९७० मा पहिलो पटक विश्वकप खेलेको मोरक्कोले सन् १९८६ मा समूह चरण पार गर्नु नै उत्कृष्ट नजिता थियो। सन् १९७६ मा उसले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो। सन् २०१२ मा अरब कपको च्याम्पियन बनेको थियो।
मोरक्कोको अहिलेको टिममा अधिकांश खेलाडी युरोपमा व्यावसियक फुटबल खेल खेल्छन्। विश्वकपको टिममा रहेका २० खेलाडी युरोपका विभिन्न क्लबमा आबद्ध छन्। टिममा रहेका २६ खेलाडीमध्ये १४ जना विदेशमा जन्मिएका छन्।
गोलकिपर यासिन बोउनेउ स्पेनिस क्लब सेभियाबाट खेल्छन्।
डिफेन्डर अर्चरफ हाकिमी टिमका चर्चित खेलाडीमा पर्छन्। उनी फ्रेञ्च क्लब पिएसजीबाट खेल्छन्। स्पेनको म्याड्रिडमा जन्मिएका हाकिमीका आमाबुबा मोरक्कोका हुन्। त्यसैले उनले उमेर समूहदेखि नै मोरक्कोबाट खेले। २०१७ देखि रियल म्याड्रिमा रहेका उनी २०१८ मा लोनमा जर्मन क्लब बोरुसिया डर्टमन्डमा गएका थिए। त्यसपछि इन्टर मिलानमा एक वर्ष खेलेपछि उनी २०२१ मा ६० मिलियन युरोमा पिएसजीमा आबद्ध भएका हुन्।
यस्तै डिफेन्डर नोउसयर मज्राउइ जर्मन क्लब वायर्न म्युनिख र नायेफ अगुरेड इंग्लिस क्लब वेस्ट ह्याममा आबद्ध छन्। कप्तान रोमन साइस टर्किस क्लब बेसिकटासबाट व्यावसायिक फुटबल खेल्छन्। अर्का डिफेन्डर जवाद इल यमिक पनि स्पेनिस क्लब भालडोलीडबाट खेल्ने गरेका छन्।
उपकप्तान हाकिम जियेच चेल्सीका मुख्य खेलाडी हुन्। २९ वर्षीय जियेच डच क्लब अयाक्सबाट सन् २०२० मा ४४ मिलियन युरोमा चेल्सीमा आबद्ध भएका हुन्।
युरोपका विभिन्न क्लबमा खारिएका यी खेलाडीको अहिले खेलको खुराक भनेको समर्थक भएको छ। प्रशिक्षक वालिद रेग्रागुई र रोयल मोरक्कन फुटबल महासंघका अध्यक्ष फौजी लेक्जाले खेलाडीका परिवारका सदस्यलाई कतार आउन अनुमति दिएका थिए। जसका कारण खेलाडीहरू अझ धेरै खुसी छन्।
त्यसैले त क्लबका चर्चित खेलाडी हाकिमी खेल जितेपछि आफ्नी आमालाई अँगालो हाल्न पाउँछन्। समर्थनका लागि धन्यवाद दिँदै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छन्। तस्बिरले जो कोहीलाई पनि भावुक बनाउँछ।
सबै खेलाडीका परिवार कतारमा आएपछि मोरक्कोको टिम बसेको होटल एउटा पारिवारिक जमघट जस्तै देखिन्छ। लाग्छ, उनीहरू एक महिनाका लागि कतार आएका हुन्।
यस्तै मोरक्कोबाट आएका ‘पागल’ समर्थकका कारण खेलाडीहरूलाई कतार आफ्नै घरेलु मैदान जस्तो लागिरहेको छ।
१५ हजार बढी मोरक्कन कतारमा बस्छन्। योबाहेक हजारौ मोरक्कन समर्थकले पहिलो पटक अरब क्षेत्रमा आयोजित विश्वकपका लागि संसारभरबाट यात्रा गरेका छन्। यी समर्थकका कारण रंगशाला भित्र एउटा छुट्टै किसिमको माहोल सिर्जना गरिदिएको छ। मोरक्कोका लागि यो शक्ति बनेको छ भने विपक्षी टोलीका लागि एउटा डरलाग्दो वातावरण बन्ने गरेको छ।
समूह चरणको खेलमा मोरक्को ‘एटलस लायन्स’लाई समर्थक शक्तिमा परिणत भएको थियो। खेल सकिन १५ मिनेट बाँकी रहँदा मोरक्को १-० गोलले अघि रहँदा बेल्जियमले लगातार दबाब बढाएको थियो। तर मोरक्कन समर्थनकले निरन्तर टिमको समर्थन गर्दै बेल्जियमलाई हतोत्साहित पारिरहेका थिए।
स्पेन विरूद्धको राउन्ड अफ-१६ भिडन्त हुनुअघि टिकटको माग यति धेरै भएको थियो कि मोरक्कन फुटबल महासंघले समर्थकका लागि थप पाँच हजार टिकट किनिदिएको थियो।
यसपटक युरोपमा व्यावसायिक फुटबल खेल्ने खेलाडी तथा फुटबललाई माया गर्ने हजारौं दर्शकको बलले मोरक्कोले अन्तिम चारमा पुगेर इतिहास बनाइसकेको छ। अब सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग भिड्दा मोरक्को अर्को स्वर्ण इतिहास नजिक हुनेछ।