रसिया विश्वकपको सेमिफाइनलमा पुगेको इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ।
फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्ससँग २-१ गोल अन्तरले पराजित हुँदै इंग्ल्यान्डलाई घर फर्किएको हो।
उत्कृष्ट खेले पनि गोल गर्न नसक्दा इङ्ल्याण्ड बाहिरिनुपर्यो। औरेलिएन चुआमेनीले फ्रान्सलाई गोल गर्दै सुरूआती अग्रता दिलाए।
खेलको १७ औं मिनेटमा एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले गोल गर्दै पहिलो हाफमा १-० को अग्रता बनाएका थिए।
दोस्रो हाफको सुरूवातमै इंग्ल्यान्डले गोल गर्दै खेलमा फर्कियो। ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए।
७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो। ओलिभिएर जिरूडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई खेलमा पुनः अग्रता दिलाए। एन्टोइन ग्रिजमनको क्रसमा उनले गोल गरे।
इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुन: पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो। तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन।
थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए। ह्यारी केनको उक्त लेट पेनाल्टी मिस घर फर्कनका लागि निर्णायक बन्यो।
केनसँग इतिहास रच्ने अवसर थियो तर अप्रत्याशित रूपमा उनको आकाशिएपछि इङ्ल्याण्डको विश्वकप यात्रा सकियो।
फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले यअसघिस क्वाटरफाइनलमा पोर्चुगललाई १-० ले पराजित गरेको थियो। प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन्।