फिफा विश्वकप २०२२ मा अर्जेन्टिनी समर्थकको कतारमा बाक्लै उपस्थिति छ। अर्जेन्टिनाबाटै यात्रा गरेर २५ हजार बढी समर्थक कतार आएका छन्।
अर्जेन्टिनालाई आफ्नो घरेलु समर्थकको मात्र साथ छैन। संसारभर अर्जेन्टिनाका करोडौं समर्थक छन्। कतारमा पनि ती समर्थकले अर्जेन्टिनाका खेल पछ्याइरहेका छन्।
अझ सुपरस्टार खेलाडी लिओनल मेसीका मात्र फ्यान कतारका गल्ली गल्लीमा देख्न पाइन्छ। शुक्रबार क्वार्टरफाइनलको खेल हेर्न जानुअघि पुरै कतार मेसी र अर्जेन्टिना भएको भान हुन्थ्यो।
मेट्रो स्टेशनमा अर्जेन्टिना र मेसीको जर्सी लगाएका समर्थकहरू रंगशालामा जान तछाडमछाड गरिरहेका देखिन्थे। लुसेलस्थित लुसेस रंगशालामा खेल सुरू चार घन्टाअघि नै समर्थकको भीड जम्मा भइसकेको थियो।
उनीहरू मेसी र अर्जेन्टिनाको पक्षमा नारा लगाइरहेका थिए। खेल सुरु हुनुअघि एक घन्टाअघि नै रंगशाला भरिभराउ भइसकेको थियो। त्यहाँ डिजे र समर्थकले अर्जेन्टिनाको पक्षमा माहोल बनाइरहेका थिए।
अर्जेन्टिनाको तुलनामा नेदरल्यान्ड्सका समर्थक न्यून मात्रामा थिए। ८५ हजार बढी दर्शक अट्ने रंगशालाको पहिलो हाफमा मेसीले आफ्नो उत्कृष्ट खेल देखाए। उनले दिएको उत्कृष्ट पासमा मोलिनाले गोल गर्दा रंगशालाको उपस्थित हजारौ दर्शकले खुसी बनाएका थिए।
अर्जेन्टिनाका लागि मरिहत्तै गर्ने दर्शकका लागि मेसीको पासमा मोलिनाले गोल गर्दा के चाहियो र! खुसी र गीतले रंगशाला गुन्जायमान भयो। दोस्रो हाफमा मेसीले पेनाल्टीबाट गोल गरे। त्यस पछि त झन् के चाहियो । समर्थकहरु खुसीले नाँच्न थाले। तर खेल सकिन ७ मिनेट बाँकी छदा वेहोस्टले गोल गरे। अझ उनले इन्जुरी टाइम सकिन ४५ सेकेन्ड बाँकी छदा अर्को बराबरी गोल गर्दा रंगशालामा उपस्थित हजारौ दर्शक स्तब्ध बनेका थिए।
त्यसपछि ३० मिनेटको एक्स्ट्रा कुनै गोल हुन सकेन। अनि खेल पेनाल्टी सुटआउटमा गयो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले नेदरल्यान्ड्सका सुरुवाती दुई पेनाल्टी रोकेपछि अर्जेन्टिना जिततर्फ लम्केको थियो। उनले भान डाइक र बेर्ग्युसको पेनाल्टी प्रहार डाइभ हान्दै सेभ गरेका थिए।
अर्जेन्टिनाका लागि इन्जोको प्रहार भने पोलमा लागेको थियो। पाँचौ नम्बरमा अर्जेन्टिनाका लागि पेनाल्टी हानेका लाउराटो मार्टिनेजले गोल गरेपछि खेल अर्जेन्टिनाले जित्दै सेमिफाइनलम स्थान बनायो। अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि रंगशालाको माहोल झनै आकर्षक बन्यो।
फ्यानहरूमा खुसीको सीमा थिएन। १० मिनेटसम्म फ्यानहरुले खुसी मनाइरहदा अर्जेन्टिनी खेलाडीले पनि साथ दिएका थिए। रंगशाला बाहिर झन् माहोल तातिरहेको थियो। फ्यानहरु खुसी उफ्रिदै मेट्रोतर्फ गइरहेका थिए। दुई किलोमिटरको लाइन थियो मेट्रो स्टेशनसम्म। फ्यानहरुलाई खुसी दिँदै अन्तिम चारमा स्थान बनाएसँगै अब क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा पनि अर्जेन्टाइन फ्यानले लुसेल रंगशालाको माहोल अझ अविस्मरणीय हुने नै छ।
हेर्नुहोस् भिडिओ: