नक्सालस्थित सेन्ट्रल सेकेन्डरी स्कुल फर द डेफमा युवा बहिरा महिला खेलाडीलाई लक्षित गर्दै पहिलो संस्करणको ‘अनसिन हिरोज :
इन्क्लुसिभ च्याम्पियनसिप विथ डेफ गर्ल्स’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
यो फुटबल प्रतियोगिता प्रतियोगिताअघि १२ वटा प्रशिक्षण क्याम्प सञ्चालन गरिएको थियो। प्रशिक्षकहरू महेश राई, अरुण गुरुङ र समिर खड्काले प्रशिक्षण क्याम्प सञ्चालन गरेका थिए।
जहाँ सहभागी भएका ३० जना खेलाडीलाई आवश्यक पर्ने सबै आवश्यक सामग्री प्रदान गरिएको थियो। तीन महिनाको बीचमा खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएर चार टिम तयार गरिएको थियो। तीन राष्ट्रिय खेलाडीले प्रशिक्षणमा सहभागी खेलाडीलाई सहयोग र प्रेरणा दिएका थिए।
अन्तिम प्रतिस्पर्धामा चार टोली सहभागी भएका थिए। जसमा डेफ इम्पावर टिम (कप्तान सुशीला बुढा), लिली एफसी (नेतृत्व फुदोमा शेर्पा), डेफ एफसीबी (कप्तान रिया तामाङ) र स्टार्स डेफ (नेतृत्व लिजा बि.सी.) ले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। फाइनलमा स्टार्स डेफ र डेफ इम्पावर टिमबीच प्रतिस्पर्धा भएको थियो। जसमा डेफ इम्पावर टिमले ३-० गोलले जित हासिल गरेको थियो।
यो अभियनमा २० भन्दा बढी नयाँ खेलाडीले पहिलो पटक फुटबल अभ्यासमा सामेल भएका थिए।
अभियानको पहल टुगेदर फर नेपाल एनजिओले गरेको हो। इङ्गेज नेपालको प्राविधिक सहयोगमा र सीबीएम ग्लोबल डिसएबिलिटी इन्क्लुजनको सहयोगमा कार्यक्रम आयोजना भएको हो।