अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिले सहायक महासचिवमा दामोदर भट्टराई, बसन्त अर्याल र अरुणमान जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
विवादका बीच बुधबार बसेको बैठकले सह-कोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्ति गरेको छ। यस्तै सिईओ नियुक्तिको लागि सूचना प्रकाशन गर्ने एन्फाको निर्णय छ।
महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तको एजेन्डा समावेश नगरेको भन्दै तीन उपाध्यक्षसहितका सदस्यहरुले विरोध गर्दा बैठक ढिला गरी सुरु भएको थियो। पछि उनीहरुले बैठक बहिष्कार गरेका थिए। असन्तुष्ट पक्ष र संस्थापन पक्ष दुवैले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेका छन्।
बैठकले राष्ट्रिय टिमको प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त गर्दा आपतकालिन समिति पनि गठन गरेको छ।
आपतकालिन समितिमा अध्यक्ष पंकजबिक्रम नेम्बाङ, वीरबहादुर खड्का, दावा लामा, विकासनारायण श्रेष्ठ र पुरुषोत्तम थापा छन्।
बैंठकले गरेका विभिन्न २० निर्णय यस्ता छन् :-
१) आगामी २०७९ चैत ६ देखि १७ ( March 20-31, 2023 ) सम्म नेपाल, भुटान, लाओस सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितालाई 'प्रधानमन्त्री थ्रीनेसन कप' नामाकरण गरी प्रतियोगिता समितिको जिम्मेवारीमा दशरण रंगशालामा संचालन गर्ने। यस प्रतियोगिताको लागि टिकट दर साधारण प्यारापिट तर्फ रु ५०० र भिआइपीतर्फ रु १००० तोक्ने निर्णय गरियो। डिजिटल अधिकार र मार्केटिङको लागि महिला ओलम्पिक छनोट खेलसँगै एकमुष्ठमा ३० लाख र ५० लाख रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरी टेण्डर आह्वान गर्ने निर्णय गरियो।
२) पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समूह 'सी' को खेल २०७९ चैत २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरथ रंगशालामा प्रतियोगिता समितिको जिम्मेवारीमा संचालन गर्ने निर्णय गरियो। प्रतियोगिताको लागि टिकट दर साधारण प्यारापिट तर्फ रु ३०० र भिआइपी तर्फ रु १००० निर्धारण गरियो। साथै दुवै प्रतियोगिताको टिकटिङ संघ आफैँले गर्ने निर्णय गरियो।
३) ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सन्चालनको लागि विभिन्न एजेन्सीहरुसँग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई संघको आपतकालिन समितिबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो।
४) बी डिभिजन लिग २०७९ चैत २९ गतेबाट संचालन गर्न नयाँ मिति निर्धारण गरियो। साथै सी डिभिजन लिग जेठ १६ गतेबाट सन्चालन हुने गरी सम्बन्धित क्लबहरुसँग बैठक बसी थप निर्णय गर्ने।
५) जिल्ला लिग २०२३ वैशाख महिनाबाट सन्चालन गर्ने निर्णय गरियो। यसको लागी सबै जिल्लाको सहभागितामा एक कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरियो।
६) कोभिड महामारी लगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अंकको आधारमा पहिलो, दोस्रो, तेस्रो स्थान निर्धारण गरी क्रमश: ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरियो। महिला लिग २०८० को सन्दर्भमा प्रस्ताव नम्बर ३ को निर्णय अनुरुप हुने निर्णय गरियो।
७) २०८० वैशाख देखि सुरु हुने गरी यु-१४ र यु-१७ फुटबल प्रतियोगिता छात्र तथा छात्रा दुवै उमेर समुहमा जिल्ला प्रदेश र केन्द्रमा आयोजना गर्ने सोको लागि आवश्यक खाका प्रतियोगता समितिले तय गर्ने निर्णय गरियो।
८) पदपूर्ति समितिले सिफारिस गरेअनुसार वित्तिय निर्देशकमा संजय गिरी, खरिद प्रमुखमा कृष्ण श्रेष्ठ, इन्जिनियरमा नविन राजभण्डारी, लेखा सहायकमा रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेस नियुक्ति गर्ने निर्णय गरियो।
९) महिला र फुटसलको फ्रेन्चाइज प्रतियोगिताको लागि सार्वजनिक सूचना जारी गर्ने र प्राप्त प्रस्ताव मध्ये उत्कृष्ट र बढी रकम कबोल गर्ने प्रस्ताव स्वीकृत गरी फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने विभिन्न निजि कम्पनीहरुलाई आह्वान गर्ने निर्णय गरियो।
१०) महिला एकेडेमी सन्चालनको लागि रौतहट एकेडेमीको कानुनी समस्या समाधान गरी चाडोभन्दा चाडो महिला यु-१४ उमेर समूहको एकेडेमी सन्चालन गर्ने निर्णय गरियो।
११) सातै प्रदेश संघको अधिवेशन वैशाख मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरियो।
१२) फुटसल समितिले यस बर्षको उपयुक्त समय हेरेर फुटसल लिग सन्चालन गर्ने निर्णय गरियो।
१३) NSEM (नेपाल सुपर लिग आयोजक संस्था) सँग सघका अध्यक्ष ज्युको नेतृत्वमा गठित समितिले गरेको सम्झौतालाई अनुमोदन गरियो। यसको लागि सम्झौता अनुरुपको समय उपलब्ध गराउने निर्णय गरियो।
१४) शेर्पा आउटडोर प्रालि (केटिएम सिटि) सँगको सम्झौताको अवधि समाप्त हुन लागेकाले तत्काल नियमानुसार अर्को ३ वर्षको लागि सूचना प्रकाशीत गरी नया टेण्डर आह्वान गर्ने निर्णय गरियो।
१५) विश्वको विभिन्न देशमा बसोबास गर्ने नेपाली र फुटबल माया गर्ने व्यक्तित्वलाई समेटी सम्बन्धित देशमा संघको समन्वय समिति गठन गर्ने निर्णय गरियो। शिव खड्काको नेतृत्वको जापान समन्वय समितिलाई पूर्णता दिने गरी अनुमोदन गर्ने निर्णय गरियो।
१६) एन्फाको विधान २०७७ धारा ४६ मा व्यवस्था भए बमोजिमका स्थायी समिति संयोजक तपशिल बमोजिम तोक्ने -
क) प्रतियोगिता समिति- वीरबहादुर खड्का ख) प्राविधिक समिति- पुरुषोतम थापा ग) कानुन समिति- अनिल मल्ल घ) युवा फुटबल समिति- विकासनारायण श्रेष्ठ ङ) फुटसल समिति- टिका लामा च) खेलाडी स्तर समिति- महेन्द्र क्षेत्री छ) रेफ्री समिति - बुद्धि गुरुङ ज) महिला फुटबल समिति - सरिला श्रेष्ठ मलेकु झ) सुरक्षा समिति- मणीराज बिष्ट ञ) स्वास्थ्य समिति- भरत बुढ थापा ट) सूचना तथा संचार समिति- सहसंयोजक सुरेस शाह ठ) सदस्य संस्था समन्वय समिति- दावा लामा ड) बिच सकर समिति- भोजराज शाही ढ) राष्ट्रिय टिम तयारी समिति- मनिश जोशी, बाँकी समिति र समितिका सदस्यहरु अध्यक्षले मनोनित गर्ने।
१७) धारा ४५ बमोजिम आपतकालिन समिति तपशिल बमोजिम गठन गर्ने निर्णय गरियो। अध्यक्ष- पंकजबिक्रम नेम्बाङ, सदस्य- वीरबहादुर खड्का, दावा लामा, विकासनारायण श्रेष्ठ र पुरुषोत्तम थापा
१८) सिइओ नियुक्तिको लागि सूचना प्रकाशन गर्ने। संघको सहायक महासचिवमा दामोदर भट्टराई, बसन्त अर्याल र अरुणमान जोशी तथा सह-कोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्ति गर्ने निर्णय गरियो।
१९) ग्रासरुट हेडमा पंकज शाही, युथ हेडमा नविन महर्जन र नविन न्यौपाने, हेड अफ कोच एजुकेशनमा सन्जित सिंह र महिला हेडमा राजुकाजी शाक्यलाई नियुक्त गर्ने निर्णय गरियो।
२०) विभिन्न देशका फुटबल संघसँग नेपालको फुटबल विकासको लागि द्विपक्षीय सम्झौता गर्ने।