दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार अक्सन हुँदैछ। बिहीबार रातिसम्म अनिश्चित बनेको अक्सन शुक्रबार गर्ने नै एनएसएलले इमेलमार्फत जनाएको छ।
विहान ५:५८ मा इमेल पठाउँदै अक्सन तोकिएकै मितिमा गर्न लागिएको एनएसएलले जनाएको छ।
एनएसएल अक्सनका लागि यसअघि तीन श्रेणीका २४२ खेलाडीको नाम सार्वजनिक गरिएको थियो। यी खेलाडीलाई एनएसएलका १० टिमले अक्सनमार्फत आफ्नो टिममा भित्र्याउनेछन्। १० टिमले आफ्नो टिमका मार्की खेलाडी भने यसअघि नै घोषणा गरिसकेका छन्।
तर यो प्रक्रियामा सहिद स्मारक ए डिभिजन लिग खेल्ने आठ क्लब असन्तुष्ट छन्। यो सिजनको ए डिभिजन लिग च्याम्पियन मछिन्द्रसहित, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी, सातदोबाटो, संकटा, जावलाखेल र फ्रेन्ड्सले पाँच दिनअघि आफ्ना खेलाडीलाई अन्य टिमलाई नभित्र्याउन आग्रह गरेका थिए।
खेलाडीसँगको सम्झौता आगामी चैतसम्म रहेकाले त्यसअघि कुनै टिममा आबद्ध गर्दा आफ्नो स्विकृति लिनु पर्ने क्लबले विज्ञप्तिमार्फत बताएका थिए। ए डिभिजन क्लबहरूले चैतसम्ममा मोफलसका विभिन्न प्रतियोगिता खेल्ने कार्यक्रम छ।
असन्तुष्टिपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबसँग बिहीबार छलफल गरेको थियो।
छलफलपछि एनएसएलको अक्सन रोक्न एन्फाले पत्राचार गर्ने सहमति भएको थियो।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले तत्कालका लागि एनएनएलको अक्सन रोक्न सहमति भएको बताएका थिए। तुलाधर संकटा क्लबका अध्यक्ष समेत हुन्।
तर एनएसएलका सिइओ सुदीप शर्माले क्लबहरूसँग छलफल गर्न तयार भए पनि अक्सन नरोक्ने भनाइ सार्वजनिक गरेका थिए। त्यहीँअनुसार शुक्रबार अक्सन हुन लागेको हो।
शर्माले अक्सन गरेर तत्काल खेलाडी क्लबमा आबद्ध हुन नलागेकाले क्लबहरूको अनुमति बिना एनएसएल टिममा खेलाडी आबद्ध नहुने समेत संचारमाध्यमहरूलाई प्रतिक्रिया दिएका छन्।
हाललाई खेलाडी सम्झौताको विषयमा दुई लिगका क्लबबीच विवाद भएको देखिएको छ।
ए डिभिजन क्लबले सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएल टिममा खेलाडी पठाउन नसक्ने स्पष्ट पारिसकेका छन्।
एनएसएलले पनि क्लबहरूको अनुमतिबिन टिममा खेलाडी आबद्ध नगर्ने बताइसकेको छ। यो अवस्थामा एन्फाले ए डिभिजन क्लबलाई खेलाडी रिलिज गर्न सहमत गराउनुका साथै एनएसएललाई खेलाडी टिममा भित्रिने विश्वास दिलाउनु पर्ने देखिन्छ। अन्यथा एनएसएल पनि विवादमा फस्नेछ।
चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो। एन्फाले एनएसएलाई प्रावधिक सहयोग मात्र गर्ने गर्छ। यसको सबै व्यवस्थपान एनएसएलको गर्ने गर्छ।
एनएसएलको दोस्रो संस्करण आगामी चैत २६ देखि जेठ ७ २०७९ सम्म हुने बताइएको छ।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।