ब्राजिलका पूर्व फुटबलर रिभाल्डोले युवा खेलाडी इर्लिङ हाल्यान्ड भविष्यमा ठूला स्टार हुने बताएका छन्।
उनले हाल्यान्ड कीर्तिमानी मूल्यमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अन्य क्लबमा जाने पनि प्रक्षेपण गरेका छन्।
हाल्यान्डलाई अहिले स्पेनिस महारथी रियल म्याड्रिडले आँखा लगाइरहेको छ।
जनावरीमा साल्जवर्गबाट डर्मुन्ड आएका १९ वर्षीय हाल्यान्ड अहिले सबैभन्दा चर्चित युवा खेलाडी बनेका छन्। नर्वेजियन फरवार्ड हाल्यान्डले बुन्डेस लिगामा ९ खेलबाट १० गोल गरेका छन् भने लिगका बाहेका अन्य खेलमा थप ४ गोल गरेका छन्।
बार्सिलोनाका पूर्वस्टार रिभाल्डोले हाल्यान्डले थप उचाइ समाप्तका लागि ला लिगा रोज्नु पर्ने तर्क गरेका छन्। उनले हाल्यान्डसँग उच्च प्रतिभा भएको र एक दिन ब्राजिलियन रोनाल्डोको स्तरमा पुग्ने समेत बताए।
'उनी उत्कृष्ट खेलाडीको रुपमा दर्ज भइसकेका छन्। भविष्यमा उनी विश्वकै उत्कृष्ट फरवार्ड हुनेछन्। उनी निडर छन् भने मैदानमा शान्त छन्,' रिभाल्डोले भने।
यसअघि हाल्यान्डले कोरोना भाइरसपछि फर्किएको बुन्डेस लिगाको पहिलो खेलमै गोल गरेका थिए। उनी साल्केविरुद्ध गोल गर्दै कोरोना भाइरसपछि भएको बुन्डेस लिगामा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
१९ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्ड गत जनावरीमा १७.१ मिलियन पाउन्डमा अस्ट्रियन क्लब साल्जवर्गबाट डर्टमुन्डमा आबद्ध भएका भएका थिए। त्यसयता उनले डर्टमुन्डबाट १२ खेल खेल्दा १३ गोल गरे।
उनले सिजनको सुरुवातमा साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश छन्।गत माघमा डर्टमुन्डबाट डेब्यू खेलमै उनले ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए। त्यो पनि पहिलो रोजाइमा खेलेर होइन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेर।
हाल्यान्डले एफसी अग्सवर्गविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। ५६ मिनेटमा मैदान छिरेका उनले २३ मिनेट भित्र ह्याट्रिक पूरा गरे। उनी मैदान छिर्दा डर्टमुन्ड ३-१ ले पछि परेको स्थिति थियो। तर उनको ह्याट्रिकसँगै डर्टमुन्डले खेल ५–३ ले जित्यो।
सिजनको सुरुमा अस्ट्रियन क्लब साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए।
त्यसपछि हाल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए। किनकी उनले यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो।
युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ।
इंग्ल्यान्डको लिड्समा २००० मा जन्मिएका उनले नर्वेजिन क्लब ब्रेन एफकेबाट युवा उमेरमा फुटबल खेलेका थिए।
उनका बुबा अल्फ इन्गे हाल्यान्ड पनि नर्वेका पूर्व खेलाडी हुन्। उनले नर्वेका क्लबबाट व्यवसायिक खेल खेलेपछि सन् १९९७ देखि २००० सम्म लिड्स युनाइटेडबाट खेलेका थिए। त्यसपछि उनी २००० मा छोरा हल्यान्ड जन्मिएकै वर्ष म्यानचेस्टर सिटीमा आबद्ध भए। त्यहाँ उनले तीन सिजन बिताए। उनले सन् २०१२ सम्म फुटबल खेले। नर्वेबाट उनले १९९४ देखि २००१ सम्म खेल्दा ३४ क्याप जिते।
बुबाले फुटबल खेल्न छाडेको तीन वर्षपछि छोरा हाल्यान्ड सन् २०१५ मा नर्वेको ब्रेन एफकेको एकेडेमीमा भर्ना भए। त्यहाँ दुई सिजन खेलेपछि उनी सन् २०१७ मा नर्वेको पहिलो डिभिजनको क्लब मोल्डेमा आबद्ध भए। उनले मोल्डेमा ३९ खेलमा १४ गोल गरे।
गत वर्ष अस्ट्रियन क्लब साल्जबर्गमा आबद्ध भएपछि हल्यान्ड चर्चित बन्न पुगे। उनले सिजनको सुरुवाती पाँच महिनामा १६ खेलमा १७ गोल गरेका थिए।
हाल्यान्डले नर्वेको यु-१५ देखि यु-२१ सम्मका पाँच वटा उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले गत सेप्टेम्बरमा १८ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। राष्ट्रिय टिममा भने उनले अहिलेसम्म २ खेल मात्र खेल्न पाएका छन्।