युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिश क्लब चेल्सी र स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेका छन्। मंगलबार राति भएको पहिलो लेगमा चेल्सी र बार्सिलोनाले १ – १ गोलको बराबरी खेलेको हो ।
चेल्सीको घरेलु मैदानमा बार्सिलोनालाई मेसीले हारबाट जोगाए। सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली चेल्सी बराबरीमा रोकिन पुग्यो। अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोल रहित बरबारीमा सकिएको थियो।
दोस्रो हाफमा दुबै टोली सम्हालिएर आक्रमक खेलेका थिए।
स्टामफोर्ड ब्रिजमा खेलको ६२ औं मिनेटमा विलियनले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। तर, खेलको ७५ औं मिनेटमा मेसीले गोल गर्दै खेललाई १-१को बराबरीमा ल्याए।
त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमै सकियो।
च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध पछिल्लो ९ खेलमा मेस्सीको यो पहिलो गोल हो। चेल्सीका आन्द्रेस क्रिस्टियनसनले आफ्नो डिबक्स भित्र ब्याक पास दिएको बललाई आन्द्रे इनिएष्टाले खोस्दै गोलको लागि मेसीलाई पास उपलब्ध गराएका थिए।
च्याम्पियन्स लिगमा बार्सिलोना र चेल्सीबिच यसअघि भएका ८ खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन्। उनले चेल्सी विरुद्ध नवौँ खेलमा आएर गोल गरेका हुन्। उनले चेल्सी विरुद्ध गोल गर्नका लागि समग्रमा सात सय ३० मिनेट पर्खिनु पर्यो।
पहिलो लेगको बराबरीसँगै चेल्सी र बार्सिलोना दुवैको अर्को चरण पुग्ने सम्भावना रहेको छ । अब क्वाटरफाइनलमा पुग्ने टोलीको तय दोस्रो लेगपछि हुने छ। दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा मार्च १४ मा हुने छ।