फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले डिजोनमाथि गोल वर्षा गर्दै शानदार जित दर्ता गरेको छ।
नेइमारको चार गोलको मद्दतमा पिएसजीले डिजोनलाई ८–० ले हराएको हो। पिएसजीका लागि एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोल थपे।
घरेलु मैदानमा भएको खेलमा डी मारियाले खेलको चौथो मिनेटमा गोल गर्दै पिएसजीलाई सुरूवाति अग्रता दिलाए। त्यस पछि र १५ औँ मिनेटमा मारियाले नै गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे।
खेलको २१ औँ मिनेटमा काभनीले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुग्यो। काभानीले पिएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन्। उनले पिएसजीका लागि सबै प्रतियोगितामा गरेर अहिलेसम्म १ सय ५६ गोल गरेका छन्। यो सन् २०१२ देखि २०१६ सम्म पिएसजीमा रहेर जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसँगको बराबरी हो।
४२ औं मिनेटमा नेइमारले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो।
नेइमारले दोस्रो हाफमा थप तीन गोल गरे। उनले ५७ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ७७ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीको अग्रता ७–० मा पुग्यो। ह्याट्रिक गरिसकेका नेइमारले ८३ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा पनि गोल गर्दै पिएसजीलाई ८–० को जित दिलाए।
नेइमारले पेनाल्टी प्रहार गरेपछि काभानी भने यहि खेलमा थप एक गोल गरेर क्लबको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसरबाट वञ्चित भए।
गएरातिको खेलपछि पिएसजीको २१ खेलबाट ५६ अंक भएको छ । राति नै भएको खेलमा गुइन्गाम्पलाई २–० ले हराएको लियोन दोस्रो स्थानमा उक्लिएको छ र पिएसजी लियोन भन्दा ११ अंकले अघि रहेको छ।