स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल सोसिडाडलाई ४-२ ले हराएको छ। बार्सिलोनाको कमब्याक जितमा लुइस सुवारेजले २ तथा पाउलिन्हो र मेसीले १-१ गोल गरे।
घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले सुरुवाति अग्रता लिएर भ्रमण टोली बार्सिलोनालाई दबाबमा पारेको थियो । ११ औँ मिनेटमा विलियम जोसे डा सिल्भाको गोलबाट सोसिडाडले सुरुवाति अग्रता लियो ।
जुअनमीले ३४औँ मिनेटमा गोल गरेपछि सोसिडाडले सुरुमै २-० अग्रता बनाएको थियो। तर, दुई गोल खाएर पनि बार्सिलोना खेलमा फर्कियो।
खेलको ३९औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा १-० गोल अन्तरले पछि रह्यो।
पहिलो हाफमा एक गोलले पछि परेपनि बार्सिलोनाले दोस्रो हाफमा ३ गोल फर्काए। बार्साको जितमा नायक बनेका लुइस सुवारेजले ५०औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। ७१औँ मिनेटमा सुवारेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता बनायो।
यतीमै बार्सा रोकिएन। ८५औँ मिनेटमा लियोनल मेसीले फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए।
जितपछि लिगमा अपराजित बार्सिलोना १९ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा आसिन छ। बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको माथि ९ अंकको अग्रता समेत बनाएको छ।
बार्सिलोना साबिक विजेता रियल मड्रिड जो अहिले चौथो स्थानमा छ, ऊ भन्दा १९ अंकले अघि छ ।
https://youtu.be/3R_a-waj0sA