रियल मड्रिड राेकियाे बराबरीमा

फोटो: मिरर डटयुके


स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार  राति भएको खेलमा रियल मड्रिड, सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

सेल्टाको घरेलु मैदानमा भएको खेलमा मड्रिडका लागि ग्यारेथ बेलले दुई गोल गरेपनि ऊ बराबरीमा रोकिन बाध्य भयो। सेल्टाका लागि भने  ड्यानियल वास र गोमेज गोन्जालेजले एक–एक गोल गरे।

खेलको ३३ औँ मिनेटमा ड्यानियल वासको गोलबाट सेल्टाले अग्रता बनाएको थियो। खेलको ३६ औं मिनेटमा बेलले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको दुई मिनेट नबित्दै बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल २–१ ले अघि रह्यो।

पहिलो हाफमा २ – १ ले पछि रहेको घरेलु टोली सेल्टाले ७२ औं मिनेटमा बराबरी गर्ने अवसरका लागि पेनाल्टी पाएको थियो। पेनाल्टीमा सेल्टाका इएगो अस्पासले गोल गर्न सकेनन्। तर, खेलको ८२ औं मिनेटमा सेल्टाका गोमेजले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए।

यो बराबरीपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी कम गर्ने मौका गुमाएको छ। बराबरीपछि १७ खेलबाट ३२ अंकसहित रियल लिगको चौथो स्थानमा छ। रियल ४८ अंकसहित  शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.