आर्सनललाई पछि पार्दै टोटनह्याम पाँचौ स्थानमा


स्वान्सी सिटीलाई हराउँदै टोटनह्याम इंग्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामले रेलिगेसन जोनको स्वान्सी सिटीलाई २ – ० ले पराजित गर्दै आर्सनललाई पछि पारेको हो।

स्वान्सीको घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन फर्नान्डो लोरेन्ट र डेली अलीले समान एक एक गोल गरे । स्वान्सीमाथि जित निकाल्न टोटनह्यामले दुवै हाफमा एक एक गोल गरेको थियो ।

पहिलो हाफको १२ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा  थप एक गोल गर्यो । खेलको ८९ औं मिनेटमा डेली अलीले गोल गर्दै टोटनह्यामलाई २ – ० को सफलता दिलाए ।

यो जितपछि पाँचौ स्थानको टोटनह्यामले २१ खेलबाट ४० अंक जोडेको छ। २२ खेलबाट मात्र १६ अंक जोडेको स्वान्सी लिगको पुछारमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड छन्। तेस्रो स्थानमा चेल्सी र चौथोमा लिभरपुल छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.