१५ ट्रफीसहित रोनाल्डो र गर्भवती श्रीमतीसहित मेसीको न्यू इयर पोज!


विश्वकै सर्वाधिक चर्चित फुटबलर लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोले न्यू इयर २०१८को अवसरमा फरक-फरक तरिकाले तस्बिर सार्वजनिक गरेका छन्। रोलान्डोले मेसीसँग बराबरी गरेको वालेन डि ओर ट्रफीसहित आफूले पाएका १५ वटा ट्रफी अगाडि राखेर नयाँ वर्ष मनाएको फोटो सार्वजनिक गरेका छन्।

तस्बिर हेर्दा लाग्छ उनी आफ्ना ट्रफीहरू बिक्रीका लागि बसेका छन्। यस्तै मेसीले आफ्नी गर्भवती श्रीमती एन्टोनेला रोक्यूजोसँग तस्बिर पोष्ट गर्दै नयाँ वर्ष २०१८ मनाएका छन्। बार्सिलोनाका म्यानेजर  अर्नेष्टो भलभेर्डेले मेसी अझै पनि संसारकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी भएको बताएका छन्।

यो सिजनमा मेसीले क्लबका लागि २९ खेलबाट २२ गोल गरिसकेका छन्।

हालै मात्र ३० वर्षीय मेसीको प्रेरणादायी दुई गोलले रोनाल्डोको टिम रियल मड्रिडलाई बार्सिलोनाले उसको घरेलु मैदानमै ३-०ले हराएको छ।

हालै मात्र लियोनल मेसीले एकैपटक दुई वटा अवार्ड पाएका छन्। स्पेनिस खेल पत्रिका मार्काले हरेक वर्ष प्रदान गर्ने पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड  मेसीले एक साथ जितेका हुन्। बार्सिलोनमा केही दिन अघि भएको एक विशेष कार्यक्रममा मेसीलाई सन् २०१६–१७ को सिजनको उत्कृष्ट घोषणा गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

यता क्रिष्टियानो रोनाल्डोले पनि वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन्। बिहीबार राति युएईमा भएको एक कार्यक्रममा रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ पाएका हुन्।

युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसियसन अफ प्लयेर्स एजेन्टसले वार्षिक प्रदान गर्दै आएको यो अवार्डमा रोनाल्डोले चौथोपटक जितेका हुन्। रोनाल्डोले यसअघि सन् २०११, २०१४ र २०१६ मा यो अवार्ड जितेका थिए। रोनाल्डोले यो बर्ष फिफा बर्ष खेलाडी र बालोन डी ओरको उपाधिसमेत जितेका थिए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.